0
गोल्डेन न्यूज संवाददाता
व्यवस्थापिका संसदको नियमावलीमा लामो समयसम्म सहमति जुट्न नसकेपछि बिहीबार मतदान गरी त्यसलाई टुंग्याइने भएको छ । नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकमा उपसमितिको परिमार्जित प्रतिवेदनमा एकमत नभएपछि बिहीबार मतदानबाट भए पनि टुंगो लगाउने तयारी भएको हो । संसदीय सुनुवाइ समितिको संख्याबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच मुख्य विवाद भए पनि मतदानमा लैजाँदा अन्य विषयसमेत थपिने सम्भावना छ । ‘परिमार्जित मस्यौदामा रहेका फरक मतलाई प्रश्नावलीका रूपमा तयार गर्नुपर्नेछ,’ मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले भने, ‘सहमति नभएका सबै विषयलाई निर्णयार्थ पेस गर्न एकै प्रारूपका प्रश्न आवश्यक पर्छन् ।’ उनले सहमति नभएका विषयमा ध्वनिमतबाट निर्णय गराउने गृहकार्य गरेका छन् । संसदीय अभ्यासमा ध्वनिमतबाट आएको परिणाम चित्त नबुझाउने पक्षले मत विभाजन माग्न सक्छन् । ‘कुनै महत्त्वपूर्ण विषयमा मत विभाजन माग भयो भने त्यहीं हात उठाएर गणना गर्न सकिन्छ,’ उनले भने– ‘तर सबै विषयमा मत विभाजनकै अवस्था आउँदैन । संसदीय दलको बैठकमा व्यस्त रहनुपरेको उल्लेख गर्दै सोमबार समितिको बैठकमा कांग्रेसका सदस्यहरू भने उपस्थित थिएनन् । सभापति अधिकारीले प्रमुख प्रतिपक्षीका तर्फबाट नयाँ प्रस्ताव दर्ता नभए पनि उसले यसअघि समितिमा राखेको अवधारणाकै आधारमा प्रश्नावली तयार गर्न सचिवालयलाई निर्देशन दिएका छन् । सचिवालयले मंगलबार मध्याहनसम्म प्राप्त अन्य प्रस्तावलाई समेत आधार मानेर सम्भावित मतदानका लागि प्रश्नावली तयार गर्ने छ । ‘मतदान प्रक्रियामै जाने भएपछि यसअघि ठूलो विवादका रूपमा नलिइएका विषयलाई समेत निर्णयार्थ पेस गर्ने प्रस्तावका रूपमा तयार गर्नुपर्छ,’ सचिवालय स्रोतले भन्यो, ‘यसो गर्दा करिब ३० वटा विषयमा मतदान हुन सक्ने अनुमान छ ।’











Post a Comment

 
Top