गोल्डेन न्यूज संवाददाता
पोखरा–२८ अर्मलामा लक्ष्मी नारायण परियार सेवा समाजले जग्गा दान गर्ने चारजनालाई शनिबार सम्मान गरेको छ । अर्मलाको जोगीमणिमा समाज भवन निर्माणका लागि जग्गा दान गर्ने रुद्रबहादुर बस्नेत, जीतबहादुर बस्नेत, रामबहादुर बस्नेत र मुक्तिराम भट्टराईलाई सम्मान गरिएको हो । प्रमुख अतिथि परियार सेवा समाज कास्कीका अध्यक्ष किसान परियारले सम्मानपत्र, दोसल्ला र मायाको चिनोले उनीहरुलाई सम्मान गरे । उक्त अवसरमा समाजलाई उल्लेखनीय सहयोग गरेवापत् बयोबृद्ध बिर्खसिंह परियार र उनकी धर्मपत्नी आइतमाया परियारलाई पनि दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि परियारले जग्गा दान गर्ने लक्ष्मी नारायण गुठी संरक्षण समितिलाई आभार प्रकट गरे । उनले उक्त जग्गामा बनेको समाज घर कोही घरबारविहीन भए आश्रयस्थल बन्ने बताए । अध्यक्ष परियारले सिपमूलक प्रयोजनमा भवनको उपयोग गर्न सुझाव दिए । कार्यक्रममा लक्ष्मी नारायण गुठी संरक्षण समितिका अध्यक्ष एवं सम्मानित व्यक्तित्व रुद्रबहादुर बस्नेतले समाज परिवर्तनको लागि दलित र गैरदलितबीच समन्वयको आवश्यक रहेको बताए । उनले परियार समुदाय संगठित होउन् भन्न उद्देश्यले जग्गा दान गरेको उल्लेख गरे । क्रान्तिकारी पत्रकार संघका कास्की संयोजक दीपक परियारले दलित समुदायको सशक्तीकरणको लागि शिक्षामा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरु जीतबहादुर बस्नेत, रामबहादुर बस्नेत, परियार सेवा समाज कास्कीका उपाध्यक्ष बुद्धिराम परियार, सचिव दुर्गा परियार, कोषाध्यक्ष भक्तिमाया परियार, जिल्ला सदस्य गोमा परियार, बैदा परियार सेवा समाजका अध्यक्ष तोपबहादुर परियार, नेपाली काँग्रेसका वडा सभापति दीनानाथ आचार्य लगायतले बोलेका थिए । उक्त कार्यक्रममा परियार सेवा समाज कास्कीका सचिव दुर्गा परियारले लक्ष्मी नारायण परियार सेवा समाजलाई पाँच हजार रुपैयाँ सहयोगको घोषणा गरेका थिए । लक्ष्मी नारायण परियार सेवा समाजका अध्यक्ष गोपाल परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मोती परियारले स्वागत र सदस्य पदम परियारले सञ्चालन गरेका थिए ।
Post a Comment