गोल्डेन न्यूज संवाददाता
नेपाल राष्ट्रिय शिक्षक संगठन, कास्की जिल्ला समितिको आयोजनामा ३७ औं शिक्षक दिवस तथा १६औंैं जिल्ला परिषद विविध कार्यक्रमसहित सोमबार सम्पन्न भएको छ । कार्यक्रममा सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठलाई र भारती भवन उच्च मा.वि. पुरुञ्चौरका भूतपूर्व प्रधानध्यापक दीपक पौडेललाई ढाका टोपी र गलबन्दी लगाई प्रमाणपत्रसहित अभिनन्दन गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक विष्णु प्रसाद अधिकारी, कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा र अन्य विशिष्ट शिक्षा प्रेमीहरूको उपस्थिति रहेको थियो ।
सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठलाई २०७२ सालको महाविनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय निर्माणमा युवाहरूको सहभागिता सहित पुननिर्माणमा तदारुकताका साथ उल्लेखनीय भूमिका खेलेबापत अभिनन्दित गरिएको थियो भने कस्केली शिक्षकका अगुवा दीपक पौडेललाई धराशायी भई अभिभावक एवं सरोकारवालाहरूको विश्वास गुमाउँदै गएका कास्कीका सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका मुख्य सूत्रधार भएवापत सम्मान गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष दीपक पौडेलले शिक्षकहरूको आन्दोलन र संघर्षले धेरै उपलब्धिहरू हासिल गरेको र नेपालको सन्दर्भमा सामुदायिक विद्यालयका शिक्षकले धेरै सुविधा प्राप्त गरेको बताए । उनले नेपाली शिक्षकले कर्मचारीसरह सम्पूर्ण कुरा प्राप्त गरेपनि आफूहरू कर्मचारी सरह घुस खाएर पतित नभएको कटाक्ष व्यक्त गरेका थिए । शिक्षाको गुणस्तर खस्किनुमा सामुदायिक विद्यालयका शिक्षक मात्रै दोषी नभएर शिक्षा कार्यालय पनि जिम्मेवार रहेको उनले स्पष्ट पारे । पौडेलले शिक्षा प्रशासनमा बस्ने व्यक्तिहरूको अनुगमन, निरीक्षण र शैक्षिक सुधारमा आवश्यक कदम चाल्न योजना बनाउनुको साटो कार्यालयमा बसेर शिक्षकका अनावश्यक टिका टिप्पणी गरेको आरोप लगाए । आफूले तीन दशक सम्म पठनपाठन गर्दा पनि एक दिन आफ्नो कक्षा अवलोकन नगरेको प्रसंग कोट्याउँदै विशिष्ट उनले यस्तै कमीकमजोरीका कारण नेपालको शिक्षाको साख गिरेको र उठ्नै नसक्ने अवस्थामा पु¥याइएको दावी गरे ।
पश्चिमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले शिक्षामा धेरै सुधार भएको र सबै सुधार शिक्षकहरूकै सकृयता तथा सहभागिताका कारण सम्भव भएको स्वीकार गर्दै शिक्षामा अझै सुधारको आवश्यकता भएको हुँदा शिक्षक वर्ग समर्पित भएर लाग्नुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नुको कारण शिक्षक मात्र नभएर नेपालको आर्थिक सामाजिक परिवेश, जनसंख्याको वितरण र घटेको बृद्धिदर, सहरीकरण र आम नेपालीको सोच भएको उनले बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेका संघर्षहरू र शिक्षकले गरेका बलिदानीको प्रशंसा गर्दै निर्देशक अधिकारीले शिक्षक आफैं समर्पित भएमात्र सम्मानित बन्न सक्ने बताए।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले आफू र आफ्नो कार्यालय कास्कीमा शैक्षिक गुणस्तर कायम गर्न लागिपरेको बताए । सूचना प्रविधि शिक्षा नलिएका शिक्षक अबको परिवेशमा ‘निरक्षर’ सरह हुने भएकाले सम्पूर्ण शिक्षकलाई सूचना प्रविधिको ज्ञान लिएर कक्षाकोठामा प्रवेश गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सम्मानित संचारकर्मी दिपेन्द्र श्रेष्ठ, नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, शिक्षक युनियन कास्कीका पूर्व अध्यक्ष भिम प्रसाद सुवेदी, र शिक्षा प्रेमी रामप्रसाद तिमिल्सिना, शिक्षक युनियन कास्की निवर्तमान अध्यक्ष जगन्नाथ अधिकारी, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य लोचना अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा संगठन सुदृढिकरणमा सहयोग गर्ने, यस वर्ष निवृत्त शिक्षक, यसै वर्ष नियुक्त भएका स्रोतव्यक्ति लगायत गरेर एक सय पच्चीस भन्दा बढी शिक्षकहरूलाई सम्मानित गरिएको अध्यक्ष कोषाध्यक्ष बोधराज पौडेलले जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रोमहर्षण पौडेल, सचिव विष्णुहरि त्रिपाठीले पनि संगठनको गतिविधि बारे प्रकाश पारेका थिए । कार्यक्रमको बन्द सत्रमा सचिव विष्णहरि त्रिपाठी र कोषाध्यक्ष बोधराज पौडेलको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
Post a Comment