0
गोल्डेन न्यूज संवाददाता
सभासद एवं राप्रपा नेपालका केन्द्रीय सदस्य गणेश थापाले राष्ट्रिय स्वाधिनता बचाउनको लागि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र आजको अपरिहार्यता भएको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल कास्कीद्वारा आयोजित बृहत् युवा भेला तथा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सभासद् थापाले आफू पूर्णरुपमा सामाजिक मान्छे बनेर समाजको विकासका लागि कटिबद्ध भई अगाडि बढ्ने र जनताका पीर मर्कासँग पौठेजोरी खेल्दै अगाडि बढ्दै संगठन विस्तार गर्नुपर्नेमा जोड दिए । विकास निर्माणमा आफू सँधै कटिबद्ध लागिरहने बताउँदै रक्तदान कार्यक्रम आयोजनाको कार्यको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे । रक्त संचार केन्द्रको प्राविधिक सहयोग तथा राष्ट्रिय युवा मोर्चा एवं मिडिया नेपालको सहयोगमा संचालित रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।  कार्यक्रम जिल्ला अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य जयलाल पुन, अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराई, केन्द्रीय सदस्य मदन बहादुर कार्की, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, केन्द्रीय सदस्य हिक्मतजंग कार्की, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोला लगायतले राष्ट्र बचाउने सवालमा युवाहरुको ठूलो हात हुने बताउँदै सबै युवाहरु एक भई अगाडि बढ्न आग्रह गरेका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष सन्तोष रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कुशल केसीले गरेका थिए।

Post a Comment

 
Top