मानवीय तथा भौतिक संरचनाको व्यापक क्षतिले नेपाली मन तथा मस्तिष्कमा अमिट छाप त छोड्यो नै भोलिका दिनमा यस्ता प्रकृतिक विपत्तिबाट सजग र सचेत रहनका लागि ठूलै पाठ पनि सिकायो । यो त्यही दिन र घटना थियो जसले नेपालीहरूमा पुनः एकता, धैर्यता तथा साहसको ऊर्जा पनि थप्यो । गत वर्षको वैशाख १२ गते मध्याह्नको त्यो अकल्पनीय घटना र दिनले नेपालको आमसञ्चार जगतमा मात्र होइन विश्वका प्रमुख सञ्चार माध्यमहरूमा महत्वपूर्ण समाचारको रूपमा छायो विनाशकारी महाभूकम्पका रूपमा । मध्याह्नको करिब १२ बजेको समयमा गोरखाको उत्तरी क्षेत्रमा रहेको बारपाक गाउँलाई केन्द्रबिन्दु बनाएर गएको यस आम विनाशकारी महाभूकम्पको भयावह तरंगले सिंगो राष्ट्र एक पटक फेरि यसरी झस्कियो कि यसको विनाशकारी क्षतिले समग्र देशवासीमा दुःख तथा पीडाको अमिट छाप लामो समयका लागि छाडेको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प स्मृति दिवसमा वैशाख १२ र १३ गते विविध कार्यक्रमअन्तर्गत ऐतिहासिक धरहरास्तम्भ परिसरमा महाभूकम्पमा दिवंगतहरूको स्मृतिमा श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण तथा माइतीघर मण्डलामा बेलुकीपख दीप प्रज्वलन कार्यक्रम गर्ने निर्णय भएअनुसार यस्ता कार्यक्रमको आयोजनाले गत वैशाखको विनाशकारी भूकम्प र यसको असरको फेरि सम्झना गरिने अवसर जुर्नेछ । यसका साथै जिल्लाहरूमा पनि यस किसिमका स्मृतिका कार्यक्रमहरू आयोजना गरिने नै छन् । यसै अवसर पारेर पुरातत्त्व विभागको सक्रियतामा काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेका धार्मिक मठमन्दिर र देवालयहरूको पुनर्निर्माणको कार्य पनि भूकम्प स्मृति दिवसका अवसरमा शुभारम्भ गरिने छ । विनाशकारी महाभूकम्पलाई हामीले गोरखा भूकम्पको नामले पनि चिनिँदै आएका छौं । यस गोरखा भूकम्पले नेपालका मध्ये पहाडी तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाहरूमा व्यापक जनधनको क्षति प¥यो भने भौतिक संरचनाहरूको समेत अपूरणीय क्षति भएको छ । खास गरेर नेपालका मध्यक्षेत्र तथा पश्चिमी क्षेत्रका विभिन्न एघार जिल्लामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पु¥यायो भने समग्रमा ३१ जिल्लामा क्षति पु¥यायो । गत वर्षको अकल्पनीय भूकम्पका कारण ८ हजार ८ सय ५७ आमनागरिकको असामयिक निधन भयो, साथै २१ हजारभन्दा बढी घाइते भए भने करिब ६ लाख घरहरू पूर्ण र आंशिक रूपमा क्षति भए । यसका साथै विदेशी नागरिकहरू ८९ जनाको निधन भयो । आर्थिक रूपमा भएको क्षतिको मूल्यांकन गर्ने हो भने करिब १० बिलियन डलर बराबरको क्षति भएको अनुमान गरिएको छ, जुन क्षति नेपालको कुल गार्हस्थ उत्पादनको ५० प्रतिशतको हाराहारीमा हुन आउँछ । लाखौं जनताहरू भूकम्पपछि अस्थायी घरबासमा जेनतेन गुजारा गरी आएका छन् । यसबाट पनि अनुमान लगाउन सकिन्छ कि यो महाभूकम्पको विनाशलीला कत्तिको भयावह थियो भन्ने कुरा ।
अबको प्राथमिक आवश्यकता भनेको महाभूकम्प पछिको घरवारविहीन भएका लाखौं जनतालाई भूकम्पीय दृष्टिकोणबाट सुरक्षित तथा भरपर्दो र आर्थिक रूपमा समेत मितव्ययी घर निर्माण र पुनःस्थापन नै हो । यसका लागि पुनर्निर्माण राष्ट्रिय प्राधिकरणले योजनाबद्ध रूपमा विभिन्न निकाय तथा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैसस लगायतको सहकार्य र सामन्जस्यमा पुनर्निर्माण र पुनःस्थापनका कार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाउनु हो । आशा गरौं आगामी वर्षायामभन्दा पहिले पीडित जनताले केही भए पनि राहतको अनुभूति गर्ने खालका कार्यक्रमहरू सरकारी निकायले कार्यान्वयन तहमा ल्याउनु नितान्त आवश्यक भइसकेको छ । आमनागरिकको गुनासोलाई सम्बोधन गर्ने दिशामा अनुभूती हुने कुरामा काम अघि बढाइनु पर्दछ ।
विनाशकारी महाभूकम्पका कारण देशका विभिन्न स्थानमा रहेका निकै ऐतिहासिक, पुरातात्विक महत्वका सयौं धरोहरहरूमा अपुरणीय क्षति पु¥यायो । विशेष गरेर काठमाडौं उपत्यकाका तीन महत्वपूर्ण प्रचीन सहरहरूका युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्वका कयौं धरोहरहरू क्षणभरमा नै विनाश भए भने कत्ति यस्ता धरोहरहरूमा अपूरणीय क्षति पु¥यायो पनि । जुन क्षतिको कुनै पनि मूल्यमा चुकाउन सकिँदैन । जसको परिणामस्वरूप आजका दिन सम्ममा पनि नेपालको पर्यटन क्षेत्रमा निकै नराम्रोसँग क्षति पु¥याएको छ । नेपालको आर्थिक विकासको प्रमुख क्षेत्रको रूपमा रहेको पर्यटन क्षेत्रमा यस महाभूकम्पले जुन भयावहको स्थिति निम्त्यायो यसको क्षतिपूर्तिका लागि हामीले अझ केही समय कुर्नु पर्ने नै छ । यस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्वको धरोहरहरूको पुनर्निर्माण तथा संरक्षणका क्षेत्रमा जुन गतिमा कार्य भइरहेको छ, यसले आम नागरिकहरूमा आशाको किरण छर्न सकेको छैन । समय केही घर्किसकेको छ तर पनि विलम्ब नगरी स्पष्ट कार्ययोजना सहित पुनर्निर्माणको महाअभियान अघि बढेमा यस्ता धरोहरहरूको मौलिकता र संरक्षणले सार्थकता पाउने थियो । यसका साथै निकट भविष्यमा महाभूकम्पपछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रमा नयाँ सञ्चार प्रसारित हुने थियो । आशा गरौं सबैको सामूहिक प्रयास र प्रतिबद्धता भएमा आशाका किरण उजागर हुने थिए ।
यसै सन्दर्भमा नेपालका सांस्कृतिक तथा धार्मिक महत्व बोकेका ऐतिहासिक सम्पदाको पुनर्निर्माणका कार्यमा युनेस्कोले सहयोग गर्ने दिशामा हालै मात्र एक महत्वपूर्ण समझदारी भएको छ । युनेस्कोले आगामी तीन वर्षका लागि काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत भएका सम्पदाहरूको पुनर्निर्माणका लागि मित्रराष्ट्र चीनको हाइनान प्रान्तीय चिहाङग फाउन्डेसन सँगको सहकार्यमा कार्य गर्ने भएको छ । पछिल्लो जानकारीअनुसार गत वैशाख १२ र त्यसपछिको २९ गते गएको भूकम्पका कारण काठमाडौं उपत्यकाभित्र र नेपालको उत्तर–पश्चिमी भागमा रहेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका २ हजार ९ सय संरचनाहरूको क्षति भएको छ भने क्षति पु¥याएका ६ सय ९१ सम्पदास्थलहरूमा १ सय ३१ सम्पदास्थलहरू निकै नराम्रोसँग क्षति पु¥याएको छ ।
आमविनाशकारी भूकम्पको चपेटामा निर्दोष तथा निमुखा बालबालिका, तिनका अभिभावक तथा कयौं गाउँ बस्तीहरू सखाप भए । हेर्दा हेर्दै केही दिन अघिका रमणीय गाउँ बस्तीहरू, मनोरम तथा हरियालीले छाएका पहाड तथा तिनै पहाडका सेरोफेरोबाट कलकल बग्ने नदी छेउका बस्तीहरू उजाड भए । प्रकृतिको विनाशलीला यति क्रुर र आततायी होला भन्ने कल्पनासम्म नगरिएका घटना तथा परिघटनाहरू विनाशकारी भूकम्प गएको करिब १ वर्षपछि पनि हाम्रो मन मस्तिष्कमा अझै ताजै छ कहिल्यै निको नहुने घाउसरी । यस्तो भयावह प्रकृतिक विपत्तिका समयमा पनि नेपालीहरूको साहस, धैर्यता तथा पीडाको समयमा पनि विचलित नभई विपत्तिलाई व्यवस्थापन गर्ने दृढ इच्छा शक्ति आफैंमा निकै प्रशंसाको अतुलनीय उदाहरण हुन सक्छ नै । हामीले विपत्तिलाई संयम तथा धर्यताक ासाथ जुन रूपमा व्यवस्थापन गर्ने उत्सर्गता देखायौं अवश्य पनि भोलिको पुस्ताका लागि उदाहरण हुनेछ । विनाश पछिको पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सबैको अग्रसरता तथा लगनशील हातहरूको हामीलाई साथ रहेमा अवश्य पनि केही समयपछि नै हामीले नयाँ नेपालको पुनर्निर्माण महाअभियानलाई सार्थकता दिन सक्ने छौं ।
Post a Comment