0
गोल्डेन न्यूज संवाददाता
बढी कमिशनका लागि बिक्रेताहरुले निजी प्रकाशनको पुस्तक प्रयोग गर्दा जनक शिक्षाको पुस्तक गोदाममै थन्किएको छ । निजी प्रकाशनलाई पुस्तक छपाई बन्द गरेको तीन शैक्षिक शत्र कटेपनि अझै उनीहरुकै पुस्तकको प्रयोग बढी भैरहेको हो । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय पोखरा अन्तर्गत गोरखा जिल्लामा यो शैक्षिक सत्रमा कक्षा ६ र ७ को एक थान पनि पुस्तक माग आएको छैन । क्षेत्रीय प्रमुख जयराम अर्यालका अनुसार गोरखामा निजी प्रकाशनको पुस्तक बिक्री भएकाले जनक शिक्षामा पुस्तकको माग नआएको हो । पश्चिमाञ्चलको गण्डकी र धौलागिरीका ८ जिल्लामा पुस्तक वितरणको जिम्मा पाएको पोखरा क्षेत्रीय कार्यालयमा कक्षा ६ र ७ को पुस्तकको माग अत्याधिक न्यून छ । कार्यालयका अनुसार ६ र ७ को एक थान पनि माग नभएको गोरखामा मंगलवारसम्म कक्षा ८, ९ र १० गरी कुल एक लाख एक सय थान पुस्तक पुगेको छ । त्यस्तै तनहुँको लागि कक्षा ६ देखि १० सम्मका एक लाख ४० हजार ६०७ थान, लमजुङमा ५६ हजार एक सय २०, स्याङजामा एक लाख एक हजार ७ सय ५९ थान पुस्तक बितरण गरिसकिएको छ । पवर्तमा ७५ हजार ९ सय ७, बाग्लुङमा एक लाख २२ हजार २९ तथा म्याग्दीमा ६१ हजार ६ सय ४६ थान पुस्तक पुगिसकेको जनक शिक्षा क्षेत्रीय कार्यालय पोखराले जनाएको छ । कास्कीमा जनक शिक्षा अन्तर्गत एक लाख ६९ हजार एक सय १० थान पुस्तक मंगलवार सम्ममा बिक्री गरिएको छ । मंगलवारसम्म गण्डकी र धौलागिरीका ८ जिल्लामा ८ लाख २७ हजार दुई सय ७८ थान पुस्तक बितरण गरिसकिएको छ । गण्डकी र धौलागिरीमा जनक शिक्षाको एक सय १८ बिक्रेता छन् । बिक्रेताले जनक शिक्षाबाट भन्दा निजी प्रकाशनबाट बढि कमिसन पाउने भएकाले कक्षा ६ र ७ को पुस्तक कम प्रयोग गरेका हुन् । निजी प्रकाशनको पुस्तक खरिद विक्रीमा २० देखि २५ प्रतिशत कमिशन पाइने तर जनक शिक्षाको पुस्तकमा ९ प्रतिशत मात्रै कमिसन पाईने भएकाले पनि निजीको प्रयोग बढेको अनुमान गरिएको छ । सरकारले निजी प्रकाशनको हकमा शैक्षिक सत्र २०७१ देखि पुस्तक प्रकाशन बन्द गरेको थियो । २०७० को शैक्षिक सत्रका लागि निजी प्रकाशनले छापेका पुस्तक अहिलेसम्म विक्री भैरहेकाले जनक शिक्षाको पुस्तक बिक्रीमा प्रभाव परेको क्षेत्रीय प्रमुख अर्यालले बताए । क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका जिल्लामा अघिल्लो शैक्षिक सत्रमा ९ लाख ६७ हजार ८ सय ३६ थान पुस्तक बिक्री भएको थियो । जसबाट जनक शिक्षा सामाग्री केन्द्र पोखराले मात्रै चार करोड ९५ लाख ६५ हजार दुई सय ९४ रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो शैक्षिक सत्रको लागि केन्द्रबाट ११ लाख २२ हजार १३ थान पुस्तक आएपनि दुई लाख ५ हजार तीन सय ६९ थान पुस्तक स्टक रहेको प्रमुख अर्यालले बताए । ‘अघिल्लो वर्षपनि निजी प्रकाशनको पुस्तकको प्रयोग बढी भयो त्यसैले पाँच ट्रक पुस्तक धनगढी र नेपालगञ्ज पठाए,’ उनले भने–‘अहिले माग अनुसार मात्रै पुस्तक मगाउने गरेको छु ।’ उनका अनुसार यस क्षेत्रका अधिकांश जिल्लामा पाठ्यपुस्तक पुगिसकेका छन् । अघिल्लो बर्षजस्तो सेटमा पाठ्यपुस्तक नपाउने समस्या यो वर्ष नरहेको उनले बताए ।











Post a Comment

 
Top