गोल्डेन न्यूज संवाददाता
विभिन्न समयमा पोखराका विभिन्न स्थानबाट यौन धन्दामा संलग्नहरु पक्राउ परिरहेका बेला पछिल्लो समय यौनकर्मीको जाहेरीको आधारमा यौन ब्यवसायी पक्राउ परेका छन् । पोखरामा यौनकर्मी युवतीहरुको जाहेरीको आधारमा यौन व्यवसायी पक्राउ परेको यो पहिलो पटक हो । बाध्यताको फाईदा उठाउँदै विभिन्न प्रलोभन र धम्कीको भरमा यौन कार्यमा संलग्न गराएको भन्दै ६ जना युवतीको दिएको सामुहिक जाहेरीको आधारमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा १ हरिचोक स्थित अमृता रेष्टुरेण्ट र पोखरा १० रामबजार स्थित पर्वत मुना होटलका संचालकहरु छन् । युवतीको जाहेरीको आधारमा मुस्ताङ लेते ४ घर भई हरिचोक स्थित अमृता रेष्टुरेण्टका संचालक ४० बर्षीय विष्णु गौचन, उनका श्रीमान लक्ष्मण गौचन र मुना होटलकी संचालक ४६ बर्षीय गौमती गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । ‘पीडित ६ जना युवतीहरुको जाहेरीको आधारमा संचालकहरुलाई कास्की प्रहरीले पक्राउ गरी कास्की जिल्ला अदालतबाट मानव वेच विखन तथा ओसार–पसार मुद्वामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । पीडित युवतीहरुले सुरुमा घर तथा होटलका सामान्य कामहरु खाना बनाउने, भाडा माझ्ने, सरसफाई जस्ता काममा लगाउने र विस्तारै होटलमा आएका ग्राहकसंग जवर्जस्ती यौन कार्यमा लगाउने गरेको गुनासो प्रहरी समक्ष गरेका छन् । नेपाली समाजमा व्याप्त वेरोजगारी र आर्थिक विपन्नताका कारण रोजगारीको खोजीमा शहर पस्ने युवतीहरुलाई छिट्टै पैसा कमाईने राम्रो कामको प्रलोभन दिई जवर्जस्ती यौन कार्यमा लगाउने, श्रम तथा यौन शोषण गर्ने पोखराका विभिन्न होटल संचालकहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ’–विज्ञप्तिमा भनिएको छ । पोखरामा विकृति फैल्याई शहरका विभिन्न ईलाकामा अवैधरुपमा यौन व्यवसायमा संलग्नहरुलाई कास्की प्रहरीले कार्वाही गर्न थालेपछि जवर्जस्ती यौन व्यवसायमा लगाईएका युवतीहरुमा आफूलाई परेको शोषणका विरुद्व प्रहरीमा जाहेरी दिने कार्यमा समेत वृद्वि भएको डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए । यसअघि चैत्र २६ गतेमात्रै पोखराका विभिन्न स्थानबाट महिला र पुरुष गरी २६ जना यौनकर्मी पक्राउ परेका थिए । जिल्ला प्रहरी प्रमुखमा एसपी घनश्याम अर्याल आएपछि अबैध यौन कार्यमा संलग्नहरु बिरुद्धको कार्वाही तीब्र पारिएको छ । उनले यौन व्यवसायमा संलग्न गराउन मानव बेचविखनको जघन्य अपराध भएकाले यस्ता कार्यमा संलग्नहरु लाई कुनैपनि हालतमा नछोड्ने दावी गरेका छन् । यौनकर्मी भन्दापनि त्यस्ता व्यवसाय सञ्चालन गर्ने बिरुद्ध कार्वाही तीब्र पारिने उनले बताउँदै आएका छन् ।
Post a Comment