0
गोल्डेन न्यूज संवाददाता
पोखराको बगालेटोलस्थित रहेको लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा डायलसिस गराउने क्रममा एक जनाको ज्यान गएको छ । बिहीवार दिउसो डायलसिस गराउँदै गरेका ५० बर्षीय ध्वजवहादुर थापा मगरको ज्यान गएको हो । काभ्रे जिल्ला स्थायी घर भई पोखरा १७ हिमालीटोल बस्दै आएका थापामगर श्रीमती झुपी मायासँगै डायलसिसका लागि दिउसो हस्पिटल आएका थिए। डायलसिसको क्रममा दिउसो करिब २ बजे उनको ज्यान गएको हो । मृतककी श्रीमती झुपीमायाले चिकित्सक र अस्पतालको लापर्वाहीले आफ्नो श्रीमानको ज्यान गएको बताइन् । डायलसिसको क्रममा रगत दिंदै गर्दा बत्ती गएको र मेसिनले काम नगर्दा ज्यान गएको उनले बताइन् । आफूले हेर्दा–हेर्दै श्रीमानको ज्यान गएको उनले जानकारी दिईन् । तर डायलसिसमा संलग्न चिकित्सक अभिषेक मास्केले विद्युत आपूर्ति अभावले नभई तत्काल मुटुमा समस्या आएकाले उनको मृत्यु भएको बताए । ‘डायलसिस गराउने बिरामीको अवस्था पहिल्यै क्रिटिकल हुन्छ,’ उनले भने–‘मेजर हट अट्याकको कारण मुटुमै केहि भएर मृत्यु भएको हो ।’ तत्काल विद्युत आपूर्ति बन्द भएपनि मेसिनको ब्याकअपले काम गर्ने र केहि प्रभाव नपर्ने उनको दावी छ । थापा मगरसँगै अर्का एक जनाले सफल डायलसिस गराएर गएको चिकित्सकले बताए । ‘मैले हेरेर बाहिर निस्किएको पाँच मिनेटमै श्रीमती चिच्याएपछि भित्र जाँदा मुत्यु भैसकेको थियो’–डा. मास्केको भने । डायलसिसको क्रममा सडेन डेथको सम्भाबना बढी हुने उनले बताए । मृतक थापामगरका तीन छोरी र श्रीमति छन् । पोखराको लिगेसी होटलमा कुक काम गर्ने उनले तीन महिनादेखि नियमित डायलसिस गराउँदै आएका थिए । सुरुमा मनिपाल शिक्षण अस्पतालमा डायलसिस गरेपनि बिरामीको भिड अत्याधिक भएकाले लेकसिटीमा आउन थालेका थिए । पाँचौ पटकसम्म सफल डायलसिस गराएका उनको छैटांै पटक मृत्यु भएको हो । अस्पताल प्रशासनका अनुसार लेकसिटी हस्पिटलमा उनी सहित २० जनाले नियमित डायलसिस गराउँदै आएका थिए । उपचारका क्रममा थापा मगरको मृत्यु भएपनि सम्भावित घटना हुन नदिन अस्पताल परिसर र वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सुरक्षाका लागि बाक्लो सुरक्षाकर्मी खटाइएको थियो ।













Post a Comment

 
Top