0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांँग्रेसका भातृ संस्थाको चुनाव समयमा गर्न नसक्दा पार्टीभित्र अराजकता बढ्दै गएको भन्दै चिन्ता प्रकट गरेका छन् । नेपाली कांग्रेस पोखरा उप–महानगरपालिका वडा नं. ३ कार्यसमितिले नयाँवर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेलामा बोल्दै नेता कोइरालाले पार्टीलाई चुस्त बनाउन भातृसंस्थाको निर्वाचन अनिवार्य भएको स्पष्ट पारे । पार्टीभित्र अराजकता मौलाउँदै गएको भन्दै नेता कोइरालाले पार्टीको १२औं महाधिवेशन पश्चात् भातृ संस्था नेविसंघ, नेपाल महिला संघ, तरुणदल लगायतको महाधिवेशन हुन नसक्दा संगठनभित्र गुट–उपगुट मौलाएको र त्यसले पार्टीलाई ठूलो नोक्सानी पु¥याएको बताए । पार्टी भित्रको गुट–उपगुट बढ्न नदिन पहल गर्दा समेत सफलता पाउन नसकेको चर्चा गर्दै उनले एमाले र माओवादीसँग साठगाँठ गर्ने नेताहरु पार्टीमा रहेकाले पनि पार्टी कमजोर बन्दै गएको  भनि टिप्पणी गरे । नेता कोइरालाले पार्टीको ११औं महाधिवेशन पश्चात् वीपी कोइरालाको आदर्श, नीति र सिद्धान्तलाई आत्मसात गर्नुभन्दा सिद्धान्तविहीन राजनीति बढ्दै गएको भन्दै कांग्रेसमा अनुहार हेरेर पदाधिकारी छनौट गर्ने प्रवृत्तिले पार्टीको साख गिर्दै गएको स्पष्ट पारे । पार्टीले वीपीले अवलम्वन गरेको वर्गीय राजनीति छोडेर जातीय राजनीतिमा प्रवेश गर्दा पार्टीभित्र आन्तरिक विचलन आएको नेता कोइरालाको भनाइ थियो । “पार्टीलाई हाँक्ने वर्गीय राजनीतिले हो, तर हामी वर्गलाई बिर्सेर जातिवादमा लाग्यौं जसको कारण हाम्रो पार्टीमा अहिले अस्थिरता वढेको छ”–उनले भने । अर्को प्रसङ्गमा नेता कोइरालाले वर्तमान सरकार कालोबजारीया र भ्रष्टहरुको स्वरुप भएको वताए ।  उनले जनताको मन छुने काम गर्न नसक्ने सरकारको औचित्य समाप्त भएकोले केपीओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सामेल भएमो कांँग्रेस पनि भ्रष्टहरुको मतियारको रुपमा चिनिने बताए ।  उनले देशमा संसद बैठक बोलाउ भन्दा वर्तमान सरकार नमानेर अध्यादेशमार्फत देश चलाउन खोजेर आरोप लगाए।  उनले भने–‘केपी ओलीले संविधानमा भएको व्यवस्थालाई कुल्चेर ४१ सदस्यीय मन्त्रीमण्डल बनाएको र राज्यको व्ययभार बढाएको छ ।  संविधानले २५ जनाभन्दा बढीको मन्त्री मण्डल बनाउन नहुने भने पनि वर्तमान प्रधानमन्त्रीले दिनदिनै मन्त्री थपर संविधानको खिल्ली उँडाएका छन् ।’ यसै सन्दर्भमा उनले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै देश र जनताका लागि रचनात्मक काम गर्ने स्पष्ट पारे ।  उनले स्थानीय निकायको निर्वाचन तत्काल गराउनतर्फ पार्टीको ध्यान केन्द्रित हुनुपर्नै खाचों औंल्याए। नेपाली कांग्रेस वडा नं ३ वडा कार्यसमितिका सभापति दीलिप गिरीको अध्यक्षतामा भएको  कार्यक्रममा वडा समितिका सल्लाहकारद्वय तेजनाथ घिमिरे, केशवराज पराजुली, जिल्ला सदस्य उमेशराज पराजुली, पूर्व अध्यक्ष रविन्सन प्रजु, वडा सचिव सरिता पगेनी लगायतले आ–आफ्ना भनाइ राखेका थिए । सो अवसरमा नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष वासु गौचनलाई सम्मान गरिएको थियो भने काँग्रेसमा प्रवेश गरेका क्षेत्रबहादुर गुरुङलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो ।

‘संविधानमा धर्म निरपेक्ष लेख्न करोडौं डलरको चलखेल’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भारतको चाहनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्या भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले धर्म्निरपेक्षता हटाउने सहमति गरेको खुलासा गरेका छन् । कोईरालाले भने–करोडौं डलरको चलखेल भएका कारण अब जनताले चाहेर पनि यो संसदले धर्मनिरपेक्षता हटाउन नसक्ने र अब हिन्दु सनातनदेखि चलिआएको धर्मको संरक्षण भन्ने शब्दलाई टेकेर कडा कानून बनाउनुपर्ने बताए । कोइरालाले करोडौं डलर बितरण भएका कारण मुलुकमा धर्मनिरपेक्षता स्थापना भएको बताए। ८५ प्रतिशत जनताले हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदा दलका नेताले करोडौं डलर लिएर धार्मिक स्वतन्त्रतामा जान नसकेको टिप्पणी गरे । मुलुकको आफ्नो धर्म हुँदैन तर जनताको अभिमतलाई बुझेर धार्मिक स्वतन्त्रता बनाउनुपर्ने नै थियो, उनले भने, भारतको असन्तुष्टि नै त्यसैमा छ। आफ्नो भेटमा भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले नेपालका केही शीर्ष नेताले गरेको सहमति पालना नगरेकोमा असन्तुष्टि जनाएको कोइरालाले खुलासा गरे। भारतीय बिदेशमन्त्रीले नेपालका शीर्ष नेताले कमिटमेन्ट गरेर पालना गरेनन् भनेर भनिन्,उनले भने–को–को रहेछन त त्यो समझदारी गर्ने भनेर खोज्दा तल्लो तहमा सहमति भएको हो भनेर उत्तर पाएँ ।
‘बाँचुञ्जेल सत्तामा रहने ओलीको योजना’
नेपाल प्रेस युनियन पर्वतले सोमबार पर्वतमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली न्यायपालिकालाई मुठ्ठीमा लिएर सत्ताकब्जा गर्ने दाउमा रहेको आरोप पनि लगाएका छन् । ओलीले केही दिनअघि खुल्ला रुपमा संसद विघटन गर्दिन्छु भनेर धम्की दिएको स्मरण गराउँदै न्यायपालिकालाई पार्टीको भर्ती केन्द्र बनाउन खोजेको टिप्पणी गरे । कोईरालाले भने–न्यायपालिका मुठ्ठीमा आएपछि संसद बिघटन गरेर बाचुञ्जेल सत्तामा बस्छु भनेर ओलीले योजना बनाएका छन् र राष्ट्रपति आफ्नै पार्टीबाट निर्वाचित छन, अब न्यायपालिका पनि आफ्नो पक्षमा पार्न पाए सबै काम फत्ते हुन्छ भन्ने प्रधानमन्त्रीले सोचेका छन, उनले भने । नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढ्दै गएको भन्दै कोइरालाले उग्रराष्ट्रवादले राष्ट्रियता र लोकतन्त्र कमजोर बनेको दाबी गरे। देशमा मंहगी, कालोबजारी बढ्दै गएपनि सरकार कानमा तेल हालेर बसेको आरोप उनले लगाए।







Post a Comment

 
Top