गोल्डेन न्यूज संवाददाता
रामनमवी पर्व अवसरमा भूमि समाधिका लागि सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य पोखरा आएका छन्। पोखरा विमानस्थलमा मंगलबार दिउँसो ओर्लिएका उनलाई विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिले भव्य स्वागत गरे । रामघाटस्थित नरनारायण बाबा आश्रममा चैत २६ देखि बैशाख ३ गतेसम्म उनी बिना अक्सिजन ९ दिनसम्म भूमि समाधिमा रहने बताइन्छ । सो अवसरमा रामार्चन यज्ञ तथा विशेष अनुष्ठान हुनेछ । उनी हरेक वर्ष चैते दशैं तथा बडा दसैंमा विशेष समाधि साधनामा रहने गर्दै आएका छन् । पहिलो पटक उनी २०६५ सालको रामनवमीमा चतरामा भूमि समाधि बसेका थिए । ‘भित्र पसेर हेर, माथि उठेर सोच’ भन्ने दिव्य आह्वानका साथ राष्ट्रको सम्पन्नताका लागि हरित क्रान्तिका प्रणेता एवं अभियन्ता महायोगी सिद्धबाबाले लिएको भूमि समाधिले यसको सिद्ध भइसकेको उनका अनुयायी भोला बराल बताउछन् ।
नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा परिवार, जगतगुरु श्री रानानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवार र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नारायणस्थान पोखराले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम पूर्व चैत २५ मा नारायणस्थान परिसरबाट ध्वजारोहण महोत्सव सुरु हुनेछ ।
जगतगुरु श्री रानानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवारका अध्यक्ष मदन शर्माले कार्यक्रमको तयारी पूरा भएको बताए । बैशाख ३ मा गुरुको समाधि अवस्थाबाट जागतिक हुँदाको क्षणमा दिव्य दृष्टि प्रसाद प्राप्त गरी जीवन सार्थक बनाउने अवसर सदुपयोग गर्न आयोजकले सम्पूर्णलाई आग्रह गरेको छ । गुरुको स्वागतमा काँग्रेस नेता शुक्रराज शर्मा, जगतगुरु श्री रानानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवारका अध्यक्ष मदन शर्मा, नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा परिवारका अध्यक्ष तोयनाथ गौतम, अनुयायी भोला बराल, दीपक भण्डारी लगायत सहभागी छन् ।
Post a Comment