0
गोल्डेन न्यूज संवाददाता
आगामी वैशाख १ गतेदेखि पोखरालाई प्लाष्टिक मुक्त सहर बनाउने अभियान अघि बढिरहँदा लेखनाथमा पनि यो अभियानले प्राथमिकता पाउने भएको छ । उक्त अभियानका लागि आइतवार लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा प्लाष्टिक झोला मुक्त लेखनाथ बनाउने सम्वन्धमा प्रारम्भिक छलफल  भयो । 
वर्तमान युग प्लाष्टिकको युग भएको तर यसका विभिन्न नकरात्मक पक्ष धेरै भएकाले यसको विकल्पको खोजी गरिनु पर्नेमा उक्त छलफलमा जोड दिइएको थियो । लेखनाथ शहर प्लाष्टिक झोला मुक्त बनाउन पहल गर्नुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा लेखनाथका नगरस्तरीय राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहभागी भइ आ–आफ्नो धारणा राखेका थिए । साथै सहभागीहरुले लेखनाथ नगरपालिकामा लेनफिट साइटको अभाव र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनका लागि लेखनाथ नगरपालिकालाई आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एंव लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले निजी सरोकारवाला र स्थानीय सरकारको संयुक्त प्रयासबाट मात्र लेखनाथ शहरलाई प्लाष्टिक झोला मुक्त बनाउन सकिने भन्दै यस  कार्यक्रमा सबै नगरबासीहरुले यो कार्यको शुरुवात आफ्नो घर–घरबाट गर्न आग्रह गरे । 
कार्यक्रममा लेखनाथ नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अव लेखनाथबासी सचेत भई प्लाष्टिक झोलाको विकल्पका रुपमा कपडा र अन्य चिजका झोलाको खोजी गरि यस अभियानलाई मूर्तरुप दिन र कार्यालयबाट पनि आगामी दिनमा यस सम्वन्धी अझ धेरै अभियान गर्दै जानुपर्ने बताए।
लेखनाथ नगरपालिकाको सहयोगमा लेखनाथ उद्योग वाणिज्य संघद्वारा तयार बनाएको “लेखनाथको रहर प्लाष्टिक मुक्त शहर” नारा सहितको कपडाको झोला पहिलो चरणमा सहभागीहरु लाई निःशुल्क वितरण गरिएको थियो । २ हजार ५०० वटा बनाईएको वातावरण मैत्री झोला मध्ये आधा झोला निःशुल्क वितरण गरिने र आधा झोला ५० रुपैयाँमा विक्री गरि उक्त आम्दानी वातावरणमैत्री कार्यक्रममा खर्च गरिने योजना रहेको बताइन्छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेय र द्वितीय उपाध्यक्ष बलराम ढकालले पनि बोलेका थिए । 
यसैबीच  पोखराको भलाम र काहूँ पनि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित भएका छन् । पोखराको २० र २१ नं. वडालाई आईतवार प्लाष्टिक झोला तथा गिलास निषेधित अभियानका संयोजक बसन्त चालिसेले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेका हुन् । सरोकारवाला विभिन्न निकायहरु संगको लामो छलफल पश्चात उप–महानगरपालिकाले नगरका सम्पूर्ण वडाहरुलाई पहिलो चरणमा प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित गर्दैछ । सवै वडाहरुको घोषणा समाप्तिसंगै उप–महानगरपालिकाले बैशाखमा सिङ्गो नगरलाइ नै प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्ने जनाएको छ । पोखराको २० र २१ को प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा सभामा प्लाष्टिक प्रयोगका कारण मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावका वारेमा चर्चा गरिएको थियो । प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियानलाई सफल पार्न वडा स्थित राजनैतिक दलका प्रतिनिधी, वडा नागरिक मञ्च, टोल विकास संस्था, आमा समूह लगायतले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि सहयोग गर्ने बताए । उनीहरुले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो संघसंस्थाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा स्तरीय राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष, वडा महिला समन्वय समिति, आमा समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यक्रमका फोकल पर्सन महेन्द्र गोदार, वातावरण महाशाखा प्रमुख चन्द्रप्रसाद काफ्ले लगायतले बोलेका थिए । स्थानीय आमा समूहका अध्यक्षको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चन्द्रावती वाग्लेले गरेकी थिइन् ।





Post a Comment

 
Top