0
नेपाली साहित्यमा कविता विधा बढी लेखिने र कम पढिने विधा हो भनेर विज्ञ समालोचकहरु नै यदाकदा टिप्पणी गर्ने गर्दछन् । समृद्ध इतिहास भएको र हजारौँ हातहरुले खेती र गोडमेलसमेत गरिरहेको यो विधाले संख्यात्मक उत्पादनको तुलनामा गुणात्मक विकास गर्न नसकेको अनुभव गरिएको छ । उदाहरणै दिएर भन्नुपर्दा ६०÷७० वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएका कृतिहरुलाई जित्ने गुणवत्ता कृति कुन होला ? भनेर वर्तमान नेपाली साहित्यको बजारमा मेहनत लगाएर खोज्नुपर्ने स्थिति विद्यमान छ । उहाँका सर्वा्धिक लोकप्रिय र २५ पटकजति संस्करण प्रकाशित भएको ‘मुनामदन’ खण्डकाव्यलाई उछिन्ने गरिबी, प्रेम र वियोगमा आधारित र लोकलयमा लिखित अर्को कृति यौटा लामो कालखण्ड बितिसक्दा पनि किन लेखिएन ? भन्ने प्रश्नले जवाफको प्रतीक्षा गरिएको छ । 
भनिन्छ, कविताले मानवमनलाई झङ्कृत गराउन सक्नुपर्दछ । फोस्रा शब्दाडम्बर र दर्शनको गन्थन पढेर अहिलेका सचेत पाठकहरु आपनो समय र मस्तिष्कको दुरूपयोग गराउन चाहँदैनन् । प्रेम सबैले गर्छन्, कविहरु पनि प्रेमी हुन्छन् स्वभावैले । तर, त्यो आत्मीय प्रेमलाई अभिव्यक्त गर्ने कुशल शिल्पी हातहरुको नेपाली कविता बजारमा नितान्त अभाव महसुस गरिएको छ । किनकि, प्रेमालापभन्दा बढी आत्मालापले भरिपूर्ण कृतिहरु स्पर्शयोग्य हुनै सक्तैनन् । जसरी शारीरिक रुपमा भोक लाग्दा हामीलाई भोजन चाहिन्छ, ठीक त्यसैगरी सचेत पाठकलाई ओजपूर्ण, भावपूर्ण, मर्मस्पर्शी कविताका पंक्तिहरु चाहिन्छ । आफ्नो मनको अन्तरकुनामा खेलिरहेका अनेक प्रकारका प्यास र तरंगहरुलाई यौटा कविताले तह लगाउन सक्यो भनेमात्र पाठक सन्तुष्ट हुन सक्छ । समग्रमा भन्नुपर्दा मानवमनका अन्तरकुन्तर छामेर त्यहाँ लुकेर रहेका घाउहरु र दमित इच्छा तथा आकांक्षाहरुमा मलम लगाउन सक्यो भनेमात्र त्यो कवि र कविता देवकोटाजस्तै सफल र सर्वव्यापी हुन सक्छ । राष्ट्रकवि माधव घिमिरेका दर्जनौँ कृतिहरु प्रकाशित छन् । तर, तीमध्ये ‘गौरी’ शोककाव्यजति चर्चित र लोकप्रिय कृति अरु हुन सकेन भन्दा मलाई संकोच लागेको छ । 
आजको मान्छे डिस्को संस्कृतिमा हुर्किंदै गरेको भए पनि प्रेम, पीडा र शोकलाई कवितात्मक भाव र मर्मबाट अभिव्यक्त गर्न सकियो भने त्यो कृति अवश्य पनि कालजयी हुन्छ । भूपी शेरचनले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह लेखेर आफू बाँचेको समयको मान्छेका पीडा र दिग्भ्रम मानसिकताको चित्रण गरे । त्यतिमात्र नभएर उनले सत्ता अन्धो हुन्छ र उसले जनतालाई देख्दैन भन्ने कुरा आफ्ना कवितामा कुशल लेखन शिल्पमार्फत अभिव्यक्त गरे । व्यंग्यलाई पनि कविताको माध्यमबाट अभिव्यक्त गरेर मेरो चोकमा ‘के छैन, सब थोक छ, यहाँ रोग छ, भोक छ, तर त्यसमाथि रोक छ’ भनेर सटिक अभिव्यक्ति दिएकै कारण उनका कविताहरु दमदार भएका हुन् । संख्यात्मक हिसाबले थोरै कविता लेखेर पनि चर्चित बनेका सौभाग्यशाली कविमध्ये एक हुन्, वैरागी काइँला । उनको असाध्यै चर्चित कविताको नाम हो, ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित ।’ 
त्यसमा उनले मानवमनमा अन्तर्निहीत विद्रोहलाई स्पष्टसँग ओकलेका छन् । कवि गोपालप्रसाद रिमाल पनि थोरै कविता लेखेर चर्चित भएका कवि हुन् । उनको ‘आमा’ शीर्षकको कविता अद्यावधि युगीन र समयसापेक्ष छ । समग्रमा भन्नुपर्दा पुरानो पुस्ताले कवितामा जति योगदान दिएर गए, नयाँ पुस्ताले त्यो दिन नसकेको आभास हुन्छ । शाब्दिक क्लिष्टता, दुरूहता, कमजोर बिम्ब स्रयोजन र बढी प्रचारमुखी प्रवृत्तिकै कारण आजको कविताले लामो जीवन बाँच्न नसकेको हुनुपर्छ । सामाजिक मूल्य र मान्यता, आफू बाँचेको युग, मानवोचित अपेक्षा र आकांक्षाहरुलाई समायोजन यदि गर्न सकेको भए हाम्रा कविताहरु बलवान् हुन सक्ने थिए । वर्तमान कविताले युग र मान्छेलाई सँगसँगै लिएर जान नसकेकै कारण स्थापित हुन कठिन भएको हो भन्ने आरोप आफैँमा त्यति गलत छैन । कविता लेखन कार्य आफैँमा एक कठिन राजमार्ग हो । सडक खन्ने काममा मजदुरले जति दुःख, कष्ट र पीडाको अनुभव गर्छ, अति प्रसव वेदनामा रहेकी आमाले सन्तान जन्माउन जति कष्टको अनुभव गर्नुपर्छ, यौटा सुन्दर कविता लेख्न कविले पनि त्यत्तिकै कष्ट र पीडाको अनुभव गर्न सक्नुपर्छ । 
अनिमात्र, यौटा राम्रो कविता जन्मिन सक्छ र त्यसले लोकप्रियता पनि प्राप्त गर्न सक्छ । अहिले कविता रहरमा लेख्ने गरिएको छ । उसले लेख्यो अनि मैले किन नलेख्ने ? भन्ने खालको मनोविज्ञानले युवापुस्तालाई धेरै हदसम्म प्रभाव पारेको छ । कविता जन्मजात गुण, व्यक्तिगत स्वभाव, अध्ययन र निरन्तरको लगनशीलताजस्ता कारणहरुबाट उत्पन्न हुने गर्दछ । भावलाई समेटेर शब्दहरुमार्फत कुशल संयोजन र प्रक्षेपण गर्न सकियो भने त्यो यौटा असल कविता बन्न सक्दछ । मैले अघि नै चर्चा गरेको राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ शोककाव्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्यको प्रसंग एकपटक फेरि चर्चा गर्न चाहन्छु । यी दुवै कृतिहरु पढ्दा मेरो विवाह भएको थिएन र प्रेमपथमा यात्रामात्र गर्दै थिएँ । तर, यी दुई कृतिले मलाई धेरैपटक रूवाएको छ । मेरी आमाको मृत्युमा पनि म त्यति रोइनँ, जति म यी दुई कृतिहरु पढ्दा रोएको थिएँ । कविताको प्रभाव कसरी सार्थक हुन्छ भन्ने कुराका लागि यो उदाहरण नै पर्याप्त छ भन्ने मेरो मान्यता हो । 
सुखभन्दा पनि दुःखको कविता बढी मार्मिक हुन्छ भन्ने कुराका लागि मैले माथिको उदाहरण प्रस्तुत गरेको हुँ । मानवजीवन प्रायः दुःखमय छ । म सुखी र खुशी छु भन्ने मान्छे हामी विरलैमात्र भेट्छौँ । यसको अर्थ हुन्छ, दुःख नै जीवनको स्थायी साथी हो । तसर्थ हिमाल, पहाड र लालीगुराँस फूलका मात्र कुरा गर्नुभन्दा मानवमनका केस्रा–केस्रा केलाएर तिनमाथि निर्विध्न विचरण गर्न सक्नु नै एक सफल कविको परिचय हो । कविहरुले वाद, राजनीति र भूगोलभन्दा माथि उठेर विश्व मानवताका लागि कविता लेख्नुपर्दछ । अनिमात्र, उसले सफलताको शिखर चुम्न सक्छ भन्ने मेरो मान्यता हो । कविता के हो ? भन्ने प्रश्नको जिज्ञासामा युवापुस्ताका चर्चित कवि तथा संघीयताका पक्षधर भूपाल राई भन्नुहुन्छ– ‘कला, सिद्धान्त र विचारको सम्यक संयोजन नै कविता हो ।’ 
कविताको सर्वमान्य परिभाषा अहिलेसम्म बनिसकेको छैन । विश्वका चर्चित कविहरुको कविताका परिभाषाहरु पनि एकअर्कासँग मेल खाँदैनन् र तिनले एकअर्काप्रति मतान्तर राख्छन् । कविताको परिभाषा प्रजातन्त्रको परिभाषाजस्तो सर्वमान्य हुन सकेन । भावनाबाट निर्माण हुने विषय भएका कारण पनि कविता यौटै सूत्रमा आबद्ध हुन सक्तैन । कवितालाई जनताको जिब्रोमा टाँसिने गरी लेख्न सकियो भने त्यो सफल कविता हो भन्ने म ठान्दछु । दर्शन पढ्न चाहनेहरुको संख्या एकदम कम छ । बौद्धिक पाठकहरु औँलामा गन्न सकिने मात्र छन् । यसको अर्थ हो, कविता जनताका लागि हुनुपर्दछ । अनिमात्र, गोकुल जोशी र धर्मराज थापाजस्तो जनताको कवि हुँ भन्ने अधिकार हुन्छ । कवितामाथि अन्याय हुनेगरी केही कविले कागजमा मसी रंगाएका छन् । यसैकारण, उनीहरु अल्पायुमै बिलाउने गरेका छन् । 
मरेर पनि बाँचेका कवि हरिभक्त कटुवालको नाम नलिने हो भने ठूलो अन्याय हुनेछ । उनी प्रवासी नेपालीको पीडासहित नेपाली कविता साहित्यमा प्रवेश गरेका हुन् । कविताभन्दा पनि गीतमा बढी सफल कवि कटुवालको गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु बिथोल्न नआऊ’ भन्ने गीत असाध्यै चर्चित गीतमध्येमा पर्दछ । यो पंक्तिकारले पनि साढे तीन दशक लामो जीवनयात्रामा केही कुराको अनुभव गरेको छ । मेरा पाँचवटा कवितासंग्रहहरु प्रकाशित छन् । तर, म ती कृतिहरुबाट सन्तुष्ट हुन सकेको छैन । मैले अझ बढी केही राम्रा कविताहरु लेख्नुपर्ने थियो भन्ने भावनाले मलाई हरदम चिमोटिरह्यो । २०३५ सालमा गोरखापत्रमा पहिलोपटक कविता प्रकाशित गरेर प्रारम्भ भएको यो साहित्ययात्राको सहज अवतरण हुने छाँट मैले देखेको छैन । मैले अझै पनि कवितालाई राम्रोसँग छुन, सुमसुम्याउन र प्रेम गर्न सकेको छैन कि जस्तो आभास भैरहेको छ । 
स्रोत ः चितवन पोष्ट







Post a Comment

 
Top