गोल्डेन न्यूज संवाददाता
वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र, कास्कीले गाविस सचिवहरुका लागि सुरक्षित वैदेशिक रोजगार बारे अभिमुखीकरण कार्यक्रम गरेको छ । जिल्ला विकास समिति, कास्की अन्र्तगत संचालित यस परियोजनाले सोमबार जिल्लाका सबै गाविस सचिवहरुलाई भेला गराएर अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा परियोजना संयोजक सुर्यप्रसाद भण्डारीले सामी परियोजनाका बारेमा जानकारी गराउँदै सुरक्षित आप्रवासनमा गाविस सचिवहरुको भूमिकाका बारेमा प्रष्ट पारेका थिए भने सामीरहेल्भेटासका जिल्ला परियोजना संयोजक उमाकला शर्माले सुरक्षित आप्रवासन बारे नवलपरासी र कास्कीका विविध पक्षहरुका बारेमा जानकारी गराएकी थिईन् । यस्तै अधिवक्ता सरिता थापा मगरले नागरिकता, विवाह दर्ता आदिबारे प्रस्तुति गरेकी थिईन् । कार्यक्रममा कास्कीका ३० जना गाविस सचिवहरुको सहभागिता रहेको थियो । सामी परियोजना अहिले कास्कीका ११ गाविस तथा पोखरा उप–महानगरपालिको ४ र लेखनाथ नगरपालिकाको ३ वडामा संचालन भैरहेको छ । कार्यक्रममा सहभागी गाविस सचिवहरुले जनप्रतिनिधि बिहिन हुदाँ आफूहरुका कामको बोझ रहेको भएपनि सुरक्षित आप्रवासनका बारेमा आफू कार्यरत गाविसका बासिन्दाहरुलाई आफुले जानेका कुराहरु साटेर सचेतना फैलाउने बताएका छन् । साथै कास्कीका सबै गाविस सचिवहरुले आगामी आर्थिक वर्ष ०७३।७४ मा आफ्नो गाविसको तर्फबाट सुरक्षित आप्रवासनको कार्यक्रमका बारेमा निश्चित बजेट छुट्याउन पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । यसअघि कास्कीका निमित्त स्थानीय विकास अधिकारी नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा अभिमुखीकरणको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेलले अहिले देशको परिस्थिति कारण बैदेशिक रोजगारमा जानेहरुलाई रोक्न नसकिने भन्दै बरु उनिहरु सुरक्षित तरिकाले सिप सिकेर कसरी विदेश जाने भन्ने बारेमा जनचेतना फैलाउनु जरुरी रहेको बताएका थिए । उनले अहिले सर्वसाधारण नागरिकसम्म पुग्ने सरकारको प्रतिनिधि भनेकै गाविस सचिवहरु भएकाले उनिहरुले नै सही सूचना दिएमा बैदेशिक रोजगारका नाममा हुने ठगी तथा उनिहरुले पाउने दुःखकष्ट घटाउन सकिनेमा जोड दिए । कार्यक्रममा जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सूचना तथा परामर्श केन्द्र, कास्कीका परामर्शकर्ता जुना के.सी.ले गरेकी थिईन् ।
Post a Comment