0
गोल्डेन न्यूज संवाददाता
युवा तथा खेलकुदमन्त्री सत्यनारायण  नेपालमा आयोजना हुने १३ आंै सागको तयारीका लागि आवश्यक गुरु योजना निर्माण गरिरहेको बताएका छन् । युवा संघ कास्कीले आयोजना गरेको दोस्रो युवा संघ कास्की जिल्ला कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विहीबार लेखनाथमा उद्घाटन गर्दै उनले दुई वर्ष पछि नेपालले साग खेल आयोजना गर्ने जिम्मेवारी लिइसकेकाले त्यसको तयारी मन्त्रालयले सुरु गरेको बताए । उनले पोखरालाई खेलकुद केन्द्रका रुपमा विकास गर्न १३औं सागका केही खेलहरु पोखरामा गर्ने पक्षमा खेलकुद मन्त्रालयले रहेको बताए । ‘पोखरामा खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण भएको र त्यसलाई ब्यवस्थित गरेर सागका केही इभेन्टहरु संचालन गर्ने सोचमा छांै’–उनले भने । उनले काठमाडौंमा बस्नेहरुले मोफसल देख्न नचाहने प्रबृत्तिले धेरै कार्यक्रमहरु त्यही हुने गरेको भन्दै १३ औ सागका केही इभेन्ट पोखरामा ल्याउन सके खेलकुद केन्द्र बन्ने आधार तय हुने स्पष्ट पारे । उनले १२ औं सागमा खेलाडीले पिडामा रहेका नेपालीलाई खुशी दिएको बताउँदै खेलकुदको विकासमा सवैको सहयोग र साथ रहनुपर्ने बताए । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले खेलकुदले अनुशासन, लगनशील र स्वस्थ बनाउने बताए । उनले नेपाली खेलकुद क्षेत्रले पछिल्लो समय पाएको सफलता खेलाडीहरु वीचको एकता र टिमवर्कनै भएको स्पष्ट पारे । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले खेलकुद अपरिहार्य रहेको बताउदै सरकारले बढि चासो दिनुपर्ने बताए । युवा सघ कास्कीका अध्यक्ष विष्णु पुनले नयाँ खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास गदै आगामी दिनमा पनि खेललाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । उद्घाटन कार्यक्रम युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको थियो भने संचालन सचिव डिल्लिराम सुवेदी र सहसचिव पानबहादुर जिसीले स्वागत गरेका थिए । यसैवीच प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युवा संघ कास्की ‘रातो’ले परिर्वतन युवा क्लबलाई ९–० गोलको फराकिलो जित निकाल्दै विजयी सुरुवात गर्यो । युवा संघको जितमा शिव सुवेदीले ब्यक्तिगत ९ गोल गरे भने रवी गुरुङले एक गोल गरे । यस्तै दोस्रो खेलमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसले युवा संघ लेखनाथलाई ३–० ले पाखा लगायो । अनेरास्ववियूको जीतमा महेश गुरुङले २  र अमृत गवुर्जाले १ गोल गरे । बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।





Post a Comment

 
Top