0
गोल्डेन न्यूज संवाददाता
गजलकार कपिल शर्माको पहिलो गजल संग्रह ‘तस्बिरमा दोसल्ला’ शनिबार विमोचन भएको छ । अग्रज गजलकारहरु ज्ञानुवाकर पौडेल, ललिजंग रावल, डा. घनश्याम परिश्रमीसँगै स्रष्टा कपिलका आफ्नै दाजु किशोर शर्माले एकसाथ गजल संग्रहको विमोचन गरेका थिए । गजलकार कपिल शर्माले आफ्ना स्वर्गीय बुवा स्थिर शर्मा लम्साललाई समर्पित गर्दै गजल संग्रह बजारमा ल्याएका हुन् । शनिबार भएको गजल विमोचन कार्यक्रममा आफ्नो स्वर्गीय बुवालाई सम्झिएर उनी केहि भावुक पनि बने । ‘मलाई सानै देखि मेरो बाले केहि लेख्न र त्यसलाई छपाउन प्रेरित गरिरहनुहुन्थ्यो ।’ उनले भने–‘अहिले मेरो कृति आएको छ । मेरो बुवा भएको भए कति खुशि हुनुहुन्थ्योहोला ।’ कपिलले यसो भनिरहँदा अमृत कक्षको प्रेक्ष्यालयमा रहेका सम्पूर्ण उपस्थितहरु पनि संगै भावुक बने । गजल संग्रह ‘तस्बिरमा दोसल्ला’मा जम्मा जम्मी ५४ वटा गजल संग्रहित छन् । गजल विमोचन पछि गजलकार ज्ञानुवाकर पौडेलले कपिल शर्माले निकै वजनदार गजलहरुको संग्रह बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘कपिल शर्माको गजलमा समाजका यावत कुराहरु झल्किन्छन् ।’ उनले भने–‘यीनले लेखेका गजलहरु पढ्दा लाग्छ, कपिलले समाजको नाडी राम्रोसँग छामेका छन् ।’ त्यस्तै अर्का अग्रज गजलकार ललिजंग रावलले कपिलले पहिलो प्रयासमै गतिलो संभावना देखाएको बताए । उनले आगामी दिनमा पनि गजल लेखनलाई निरन्तरता दिन कपिललाई आग्रह गरे । गजलका अध्येयता डा. घनश्याम परिश्रमीले कपिलको कृतिको प्रशंसा गर्दै अझै राम्रा गजल आगामी दिनमा आओस् भन्ने कामना गरे । करिब ३ वर्षको अथक मेहेनतपछि कपिलले गजल संग्रहलाई पुर्ण रुप दिन सकेको बताए । उनले गजल संग्रहका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद समेत दिएका छन् । गजल विमोचन कार्यक्रममा रुपिन्द्र प्रभावि कटुले स्रष्टा परिचय गरेका थिए । त्यस्तै गजलकारद्वय उदिपराज र्ढुंगाना र बाबु त्रिपाठीले गजल संग्रहमाथि समिक्षा गरेका थिए । तस्बिरमा दोसल्ला’मा समावेश ५ वटा गजलहरु कपिल आफैले वाचन गरेर सुनाएका थिए । त्यस्तै संग्रहमा समावेश केहि गजलहरुलाई एमपी केयरलेस, अमृत सुवेदी ‘गुँरास’, त्रुपक, मन क्षेत्री लगाएतले पनि वाचन गरेका थिए । संग्रहमा समावेश गजललाई सोहि अवसरमा गाएर पनि सुनाईएको थियो । त्रुपक, लक्ष्मण डुमे्र, सुशिलकुमार श्रेष्ठ लगायतले गजल संग्रहका एक÷एक वटा गजल गाएका थिए ।







Post a Comment

 
Top