0
नेपालका राजनीतिक दलहरुमा गुटबन्दी रोगका रुपमा मौलाउँदै गएको छ । प्रमुख तीन राजनीतिक दल र यसबाहेकका अन्य स–साना दलहरु पनि आन्तरिक गुटबन्दीमा फसेर गणतन्त्रको उपहास गरिरहेका छन् । प्रायः सबै दलका नेताहरुले गुटबन्दी अन्त्य गरी पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता गरे पनि व्यवहारतः कार्यान्वयन भने गर्न सकेको पाइँदैन । गुटबन्दीले दललाई कमजोर बनाउनेमात्र होइन, व्यक्तिगत मनोमानीसमेत बढाउने गरेको छ । बिहीबार एमाले केन्द्रीय समिति बैठकमा ओली सरकारको कार्यशैली र मनोमानीप्रति एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकै आक्रामक रुपमा प्रस्तुत भए । पूर्वप्रधानमन्त्रीसमेत भइसकेका नेपालले एमालेमा संस्थागत निर्णय हुन नसकेको, संस्थागत पक्षबाटै चरम गुटबन्दी भएको आरोप लगाएका थिए । पार्टीभित्र छलफल नगरी चीन भ्रमणमा टोली छनोट गरेको, राजनीतिक नियुक्ति गरेको, विभिन्न मुलुकमा राजदूत नियुक्ति गरेको विषयमा अध्यक्ष ओलीसँग वरिष्ठ नेता झलनाथ खनालले पनि आपत्ति प्रकट जनाए । पार्टीभित्र आन्तरिक गुट तथा उपगुट सक्रिय हुने गरे पनि प्रक्रियागत ढंगले पार्टीभित्र संस्थागत निर्णय नगर्ने रोग झनै बढेर गएको छ । यसले लोकतन्त्रलाई नै कमजोर बनाउने काम गरेको छ । नेतृत्वको होडबाजीका कारण सबै पार्टीमा गुटबन्दीले नराम्ररी गाँजेको अवस्था छ । गुटबन्दी मौलाउनुको मुख्य कारण नेतृत्वमा पुग्नु नै हो । यसको प्रत्यक्ष प्रमाणका रुपमा केही समयअघि सम्पन्न कांग्रेस महाधिवेशनलाई लिन सकिन्छ । कांग्रेसमा संस्थापन अर्थात् कोइराला र देउवा पक्षको गुट सुशील कोइरालाको निधनसँगै बढेर तीनवटा बन्यो । महाधिवेशनमा संस्थापन गुटको नेतृत्व रामचन्द्र पौडेलले गरे भने नयाँ गुटबन्दी कृष्णप्रसाद सिटौला प्यानलले ग¥यो । महाधिवेशनमा विजयी शेरबहादुर देउवाले गुटबन्दी अन्त्य गरी पार्टीलाई सुदृढ बनाउँछु भन्ने गरे पनि आ–आफ्ना स्वार्थअनुकूल गुटबन्दी चलिरहेको छ । यद्यपि, कांग्रेसमा गुटको रोग तत्कालका लागि हटेको जस्तो ठानिए पनि गुटबन्दीको खेल भने रोकिएको छैन । नेपालमा नेतृत्वको होडबाजी र मौलाउँदै गएको गुटबन्दीले बहुदलीय प्रजातन्त्रको बदनाम गरिरहेको अनुभूति गरिएको छ । गुटबन्दी गरिरहेका नेताहरुले आन्तरिक प्रजातन्त्रको अभ्यास गर्न नसकेको देखिएको छ । दलभित्र देखिएका आन्तरिक गुटबन्दी अन्ततः सत्ता–संघर्षसँग जोडिने गरेका छन् । गुटबन्दीले कुनै एक नेता वा व्यक्तिका हकमा फाइदाजनक नै होला तर राजनीतिक मूल्यमान्यता, विधिको शासन, पारदर्शिता र संस्थागत निर्णयका आधारमा नेतृत्व गर्नेका हकमा गुटबन्दी प्रत्युत्पादक बन्न सक्छ । गुटबन्दीले राजनीतिक दललाई चिराचिरा बनाएको दृष्टान्त हेर्न एक दशक लामो जनयुद्ध गरेर आएको पार्टीलाई हेरे पुग्छ । माओवादी पहिलो संविधानसभाबाट पहिलो दल बन्न सफल भएको थियो । तर, सो पार्टीमा नेतृत्वको होडबाजी यति बढेर गयो कि गुटबन्दीले माओवादीलाई पाँच÷छ टुक्रा बनाइदियो । पछिल्लो उदाहरण एमाओवादीबाट बाहिरिएका डा. बाबुराम भट्टराई हुन् । उनले एमाओवादीमा रहँदा छुट्टै गुटको प्रतिनिधित्व गरेकै हुन् । अन्ततोगत्वा नेतृत्वको होडबाजीकै कारण उनले माउ पार्टी छाडे, र नयाँ शक्ति नेपालको नेतृत्व गर्न पुगे । दलभित्रको समूह, गुट तथा उपगुट सबै पार्टीमा हुने गर्दछ । नेतृत्वलाई थप जिम्मेवार बनाउन वा मनोमानी रोक्नका लागि यस्ता समूहको दबाबले कुनै बेला निर्णायक भूमिका खेल्न पनि सक्छ । तर, यो सत्ता–संघर्ष वा नेतृत्वका लागि उपयोग भइरहेको छ । यस्तो प्रवृत्ति हट्नु जरूरी छ ।

Post a Comment

 
Top