0
गोल्डेन न्यूज संवाददाता
नाटक ‘पुलिस र प्यास’ मञ्चनको सम्पूर्ण तयारी पुरा भएको छ । पञ्चामृत नाट्य समूह पोखराले निर्माण गरेको नाटकको मञ्चन यहि बैशाख १७ र १८ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुँदैछ । संयोजक परिवर्तनले दिएको जानकारी अनुसार दुवै दिन दिउँसो ४ बजेबाट मञ्चन गरिनेछ । पञ्चामृत नाट्य समूहमा परिवर्तन, प्राञ्जल, दिपक पराजुली, रामचन्द्र आरसी र रविन शर्मा रहेका छन् । कृष्ण उदासीको लेखन निर्देशन रहेको नाटकमा परिवर्तन, दिल प्रसाद गुरुङ, सवु पाठक, आशिष अधिकारी, विवश बाबु, मुना गुरुङ, शितल अधिकारी लगायतको अभिनय रहेको छ । नाटकमा चोर, जड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्रमार्फत समाजमा भइरहेको विकृति र यसको निराकरण कसरी गर्ने भन्ने सन्देश दिन खोजिएको नाटककार कृष्ण उदासीले बताए। ‘यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ’–उदासीले भने । उदासीको यो १०३ औँ नाटक हो । यस अगाडि उनले १ सय २ वटा नाटकमा उनले विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन्। नाटकमा परिवर्तन इन्स्पेक्टर कालुरामको पात्रमा देखिने छन् । हवल्दार फूलमतीको भूमिका मुना गुरुङ, आस्था नामको पागलको भूमिका शितला अधिकारी, दुक्किलाल जुवाडेको भूमिका दिलप्रसाद गुरुङले निभाउँदै छन् । यसैगरी अनुमति मैया यौन व्यवसायीको भूमिका सवु पाठक, नत्थुराम जड्याको भूमिकामा आशिष अधिकारी र टोलप्रसाद चोरको भूमिका विवश बाबु देखिने छन् । मनिषा गौतमको अभिनय सँगै सहनिर्देशन समेत रहेको छ । परिवर्तनको संयोजन र व्यस्थापन रहेको यस नाटकमा सुत्राधार अश्रुलता बाँस्तोला, मञ्च संयोजन तथा व्यस्थापन प्राञ्जल, साउन्ड तथा प्रकाश व्यवस्थापन एस. के साउन्ड, कोरियोग्राफी मुना गुरुङ, संगीत संयोजन रविभूषण पराजुलीको रहेको छ ।
विषयवस्तुका दृष्टिकोणले आफ्ना अन्य नाटकमा भन्दा फरकपन यसमा पाइने नाटककार उदासी बताउँछन् । नयाँ कलाकार भएपनि उनीहरु मार्फत नाटकपारखीहरुले नाटकको तृष्णा सहजै मेटाउन सक्ने दावी उनको छ । 
पोखरामा नाटक हेर्ने दर्शक रहेकोले नाटक मार्फत अगाडि बढ्न खोज्नेलाई पोखरा उत्तम रहेको उदासीले बताए । राम्रो व्यस्थापनमा नाटक प्रर्दशन हुने हो भने सजिलै लगानी उठाउन सकिने उनको अनुभव छ । नाटकको मञ्चनको लागि केहि दिनको वर्कसप पश्चात तयारी पुरा भएको हो ।
पोखरामा नाटकको सम्भावना राम्रो भएकोले नाट्य क्षेत्रमा अगाडि बढ्ने उर्जा मिलेको उनी बताउँछन् । ‘पोखरामा युवाहरुको आर्कषण नाटकमा छ, नाटक हेर्ने दर्शक पनि छन्’–उनले भने । सुस्ताएको पोखरेली नाट्य क्षेत्रलाई अन्तर्राष्ट्रिय रक्सी भट्टी मञ्चन प्रश्चात व्युताँइदिएको दावी उनी गर्छन् ।  पोखरामा नाटकघर हुने हो भने नाट्य क्षेत्रमा काम गर्न सहजता हुने उनले बताए । ‘नाट्य एकेडेमी भए रिर्यसल गर्न सहज मात्र होइन कलाकारलाई व्यवसायिक बनाउन सकिन्छ,पहिला निर्वाह गरियो यसमा ध्यान दिइएन अहिले मुख्य आवश्यकता यहि बनेको छ’– उनले भने । अग्रजहरुको इच्छाशक्ति नहुँदा संगीत नाट्य प्रतिष्ठान पोखरामा स्थापना हुन नसकेको उनको भनाइ छ । ‘पूर्वका कलाकार सित पश्चिमका कलाकारले लड्न सक्दैनन् यतिमात्र होइन नयाँ कलाकारको जन्मले आफू पछाडि पर्ने डर स्थापित नाट्यकर्मीमा छ’–उनी दावी गर्छन् । विगतमा डाँफे कला मन्दिर, पोखरा उद्योग वाणिज्य संघको सभाहल, पोखरा सभागृहमा नाटक देखाउने गर्दा छुट्टै नाटकघर बनाउनतर्फ पुहँच भएका नाट्यकर्मीको ध्यान समेत पुग्न नसकेको उनी बताउँछन् ।
नाटकमा सबै रगंमञ्चका लागि नयाँ कलाकार भएपनि उनीहरुको अभिनय यतिसम्म खारिएको छ कि नाटक हेर्दा दर्शकले उनीहरु नयाँ कलाकार हुन् भन्ने पत्ता लगाउनै नपाउने उदासीको दावी छ ।






Post a Comment

 
Top