देशमा राजनीतिक परिवर्तन संगै महिलामा चेतना स्तर क्रमशः वृद्वि हुँदै गएको छ । चुल्होचौकोमा सीमित हुनुपर्ने हिजोका महिलाहरुले राजनीतिमा मात्रै होइन सामाजिक काममा पनि अब्बल बन्दै आएका छन् । गाउँ हुने भेला र बैठकमा लाज मानेर पछ्यौराले मुख छोप्ने महिलाहरु आज महिला अधिकार र गाउँ विकासको विषयमा खुलेर बहस गर्न थालेका छन् । समाजमा विद्यमान चालचलनहरु परिवर्तन हुन समय लागेपनि महिलाहरुले जर्बजस्त रुपमा आफूहरुलाई राज्यको मूलधारमा स्थापित गर्न पछिल्लो समय कम्मर कसेर लाग्न थालेका छन् । पुरुष प्रधान नेपाली समाजको संरचना विस्तारै महिलामैत्री बन्दै गएको छ । हिजो गृहस्थी जीवनयापन गर्ने महिलाहरु अहिले राजनीतिक सभा सम्मेलनदेखि गाउँमा हुने विकास निर्माणका बहसमा खुलेर बहस मात्रै गर्दै लैगिंक समावेशीताका कुरा पनि उठाउन थालेका छन् । विकास निर्माणको काममा नेतृत्व लिने पुरुषहरुलाई विस्थापित गर्दै महिलाहरुले नेतृत्व लिन थालेका छन् । महिलाहरुले नेतृत्व गरेका धेरै विकास निर्माणका कामहरु पनि समयमै सम्पन्न भएका थप्रै उदाहरण छन् । गाउँमा हुने विकास निर्माणमा संगठित भई सक्रिय हुन थालेका महिलाहरुको रचनात्मक कामले समाजलाई समृद्वितिर दिशाबोध गरेको छ । विकास निर्माणसंगै महिलाहरुले समाजमा बढ्दै गएको अपराधिकरणलाई समेत निरुत्साहित गर्न थुप्रै कामहरु गर्दै आएका छन् । आमा समूहले गाउँमा घरेलु मदिराले अपराध बढाउन थालेपछि त्यसको नियन्त्रण मात्रै होइन घरेलु हिंसा रोक्न समेत प्रभावकारी भूमिका खेलेका छन् । राजनीतिमा महिलाको कुरा गर्ने हो भने नेपालको राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीका साथै संसद प्रमुख सभामुख ओनसरी घर्तीका साथै नेपालकै शक्तिशाली निकाय सर्वोच्च अदालत प्रमुखमा पनि महिला नै पुग्ने निश्चित छ । महिलाहरुमा बढ्दै गएको जागरणले समाज साँच्दै सभ्य बन्दै गएको कुरा उनीहरुको काम पुष्टि गर्छ । हरेक ठाउँमा समावेशीका कुरा उठेपनि शतप्रतिशत लागू हुन नसकेको अवस्थामा महिलाहरुले आफूलाई जर्बजस्त सक्षमताको नमूना प्रस्तुत गर्दै जाँदा राजनीतिक दलहरुलाई समेत दबाब परेको छ । यस्तै सामाजिक काममा आफूलाई सक्रिय बनाएर लेखानीका आमा समूहले महिला सक्षमताको नमुना देखाएका छन् । पोखरामामात्रै कुरा गर्ने हो भनेपनि राजनीति, सामाजिक गतिविधिका साथै विभिन्न तह र तप्कामा महिला अब्बल छन् । साथै नेपालभरका महिलाहरु विकास निर्माणका साथै सामाजिक एवं अर्थिक सम्वृद्धिको अभियानमा पनि निकै सक्रिय छन् । पुरुषले गर्नै नसक्ने कामहरु पनि महिलाहरुद्वारा फत्ते भएका धेरै उदाहरण छन् । गाउँमा भौतिक संरचना निर्माण मात्रै होइन महिलाहरुले समय–समयमा महिला अधिकारका विषयमा समेत बहस चलाउन थालेका छन् । ग्रामिण क्षेत्रहरुमा अझैपनि शिक्षाको पहुँच र विकास निर्माण पुग्न सकेको छैन । यस्तो अवस्था महिलाहरुले गाउँमा विकास भित्र्याउनका लागि सरकारी अड्डा धाउन थालेका छन् । गाउँका महिलाहरु समूह बनाएर सामाजिक काम सक्रिय भईरहँदा सभ्य शहरका महिलाहरु भने केवल भाषणबाजी मात्रै सीमित हुन पुगेका छन् । भाषण गरेर काम हुँदैन । त्यसैले ग्रामिण महिलाहरुले समाजलाई समृद्व बनाउन खेलेको भूमिकालाई अनुशरण गर्दै अन्य समुदायले पनि पाठ सिक्न जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment