0
गोल्डेन न्यूज संवाददाता
संचारकर्मी एवं साहित्यकार जीवनसागर भण्डारीलाई यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार शनिबार प्रदान गरियो। गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले कास्कीको ढिकुरपोखरी स्थित ठूलाचौरमा आयोजजा गरेको अक्षरयात्रामा उनलाई उत्तः पुरस्कार प्रदान गरिएको हो । गजलकार प्रकट पङ्गेनी शिव संयोजक र दीपक समीप, ईश्वरमणि अधिकारी र गजल सन्ध्या पोखराका अध्यक्ष बिर्सना बस्नेत तथा नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा सदस्य रहेको प्रतिभा छनौट समितिले भण्डारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । भण्डारीलाई पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले उनलाई २ हजार २ सय २२ रुर्पैयाँ नगद, सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए । सम्मानित व्यक्तित्व भण्डारी कास्की भरतपोखरीमा जन्मिएर पोखरामा लामो समयदेखि साहित्य र गीत–सङ्गीत र संचार क्षेत्रमा क्रियाशील भण्डारी लामो समयदेखि पोखरेली साहित्यमा क्रियाशील छन्। पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार समेत रहेका भण्डारी कविता, गजल, मुक्तक, कथा, गीत लगायतका विषयमा कलम चलाउदै आइरहेका छन्। 
साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा स्थापित पुरस्कार गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले सञ्चालन गर्दै आइरहेको छ। उक्त पुरस्कार द्वारा यसअघि प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा र सरला लामिछाने पुरस्कृत भइसकेका छन्। कार्यक्रमको स्थानीय संयोजक ठूलाचौर–पोखरा विकास समाजले गरेको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले कास्की ढिकुरपोखरी स्थित ठूलाचौरको विकासमा पोखरा उप–महानगरपालिकाले सहकार्य गर्ने बताए । उनले सबैको साझा प्रयास भए जुनसुकै ठाउँमा विकास सम्भव रहेको भन्दै ठूलाचौरवासीले अग्रसरता देखाउने हो भने विकास टाढा नरहेको स्पष्ट पारे । उनले भने–‘कास्की ढिकुरपोखरी सहित अन्य २ गाविस छिट्टै कश्यप नगरपालिका बन्ने तयारीमा छ । यदि नगरपालिका भयो भने सरकारले बजेट बढाउँछ र ठूलाचौरको विकास तीव्र गतिमा अघि बढ्छ, विकासमा स्थानीयले अग्रसरता लिनुपर्छ ।’ ढिकुरपोखरीमै जन्मिएका अधिकारीले ठूलाचौर पछाडि परेको आफूले हेर्न नसक्ने बताए । अन्य स्थान भन्दा ठूलाचौर फरक देखिनुपर्नेमा जोड दिंदै उनले आफ्नो पहिचान स्थापित गरि समाज विकासमा अग्रसर हुन ठूलाचौर वासीलाई आग्रह गरे । ढिकुरपोखरी र ठूलाचौरको विकासमा आफू र पोखरा उप–महानगरपालिका कहिल्यै पछि नहट्ने स्पष्ट पार्दै उनले ढिकुरपोखरी पोखरा उप–महानगरपालिकाको क्षेत्रभित्र नपरेपनि सम्बन्धित नियकाय संग आफूले पहल गर्ने प्रतिवद्धता जनाए । 
कार्यक्रममा बोल्दै सम्मानित स्रष्टा जीवन सागर भण्डारीले सम्मानले आफूलाई साहित्यमा लाग्न थप प्रेरणा मिलेको बताए । 
ठूलाचौर–पोखरा विकास समाज का अध्यक्ष तुलसी दाहाल, गजल सन्ध्या पोखराकी अध्यक्ष विर्सना बस्नेत र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा गजल सन्ध्याका सचिव मोहन भण्डारी र ठूलाचौर–पोखरा विकास समाजका सचिव मनोहर प्रसाद दाहालले कार्यक्रम संचालन गरेका थिए । 
कार्यक्रममा वरिष्ठ लोक गायिका एवं प्राज्ञ हरिदेवी कोइराला, अक्षरयात्रा पुरस्कारका संस्थापक एवं गजल सन्ध्याका पूर्व अध्यक्ष कृष्ण देवकोटा, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, गजल सन्ध्याकी अध्यक्ष विर्सना बस्नेत, समाजका अध्यक्ष तुलसी दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला,  ठूलाचौर–पोखरा विकास समाजका उपाध्यक्ष भानुभक्त अधिकारी, कोषाध्यक्ष मनराज दाहाल, संस्थापक कपिलमणि दाहाल, सल्लाहकार डा. गिरिधारी दाहाल, समाजसेवी भानुभक्त दाहाल लोकदोहोरी गायक जीवन दाहाल, गायिका अम्विका भण्डारी, हास्य कलाकार युवराज भण्डारी लगायतले ठूलाचौरको इतिहास र विकासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । 
उक्त अवसरमा करिब ३ दर्जन कवि, कवयत्रि, गजलकार र मुक्तकारहरुले तत्स्थानमा नै रचना गरेका आ–आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन गर्ने स्रष्टाहरुले रचनामा ठूलाचौर र विकास, समसामयिक विषयका कुराहरु उठान गरेका थिए ।  कार्यक्रम ठूलाचौर स्थित सरस्वती प्राविमा आयोजना गरिएको थियो । कार्यक्रमका लागि पोखराबाट करिब ६० साहित्यकार तथा पत्रकारहरु त्यहाँ पुगेका थिए ।




Post a Comment

 
Top