0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल विकास क्षेत्रमा पहिलो दिनको एसएलसी परीक्षामा १ हजा ८ सय ८५ विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको अनिवार्य अंग्रेजी विषयको परीक्षामा एसएलसीमा सहभागिता का लागि फाराम भरेका मध्य १ हजार ८ सय ८५ विद्यार्थी अनुपस्थित भएका हुन् । क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका अनुसार पश्चिमाञ्चलका १६ जिल्ला मध्य मुस्ताङमा सवै परीक्षार्थी समेल भएका छन् । मुस्ताङको एउटा केन्द्रबाट एक सय ४२ परीक्षार्थीले परीक्षा दिंदैछन् । पहिलो दिनको परीक्षामा पश्चिमाञ्चलको स्याङ्जामा सवैभन्दा धेरै दुई सय ३८ परीक्षार्थी अनुपस्थित भएका छन् । कुल ८ हजार ८ सय ५२ ले परीक्षा फारम भरेकोमा पहिलो दिन ८ हजार ६ सय १४ परीक्षार्थी सहभागी भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ ।
एसएलसी परीक्षाको पहिलो दिन कास्कीमा १९१ विद्यार्थी अनुस्थित भए । जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख गोविन्द पोखरेलले दिएको जानकारी अनुसार नियमिततर्फ ४६ र ४८ छात्रा गरी ९४ विद्यार्थी अनुपस्थित भए । त्यस्तै आंशिक तर्फ ३१ छात्र र ६६ छात्रा गरी ९७ जना उपस्थित भएनन् । पहिलो दिनको परीक्षामा नियमित तर्फ पाँच हजार तीन सय २९ छात्र र पाँच हजार एक सय ३२ छात्रा गरी १० हजार चार सय ६१ परीक्षार्थी सहभागी भए । त्यस्तै आंशिक तर्फ तीन सय ९७ छात्र र सात सय ३३ छात्रा गरी एक हजार एक सय ३० परीक्षार्थीले सहभागिता जनाए । 
कास्कीका ३० परीक्षा केन्द्र तथा कारागार र वाल सुधार गृह गरी दुई उपकेन्द्रबाट पहिलो दिन ११ हजार पाँच सय ९१ परीक्षार्थीले परीक्षा दिएका छन् । पहिलो दिन गोरखामा एक सय, तनहुँमा एक सय ७४, लम्जुङमा एक सय २६, नवलपरासीमा एक सय ८६, पाल्पामा ९०, गुल्मीमा एक सय १३ विद्यार्थी अनुपस्थित भए । त्यस्तै अर्घाखाचीमा १०१, रुपन्देहीमा १६४, कपिलवस्तुमा १०६, म्याग्दीमा १८, बाग्लुङमा १९६ र पर्वतमा ८२ विद्यार्थी सहभागि भएनन् । १६ जिल्ला मध्य मनाङको रिपोर्ट प्राप्त हुन नसकेको निर्देशनालयका शाखा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए । पहिलो दिन पश्चिमाञ्चलका सवै जिल्लामा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको निर्देशनालयले जनाएको छ । दोस्रो दिन आज शुक्रबार अनिवार्य गणित विषयको परीक्षा हुनेछ ।





Post a Comment

 
Top