गोल्डेन न्यूज संवाददाता
बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास बैशाख १ गते प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । उक्त दिन नेपालीको नयाँवर्ष हो । विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि निर्माण कार्य सुरु गर्न लागिएको हो । लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले शिलन्यासको मिति तोकेको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा बिहीबार पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी दिए ।
बैठकले सांसद रवीन्द्र अधिकारीको संयोजकत्वमा शिलान्यास मूल समारोह समिति बनाउने निर्माण गरेको छ । समितिमा ४ नम्बर प्रदेशका सबै जिल्ला र क्षेत्रका सांसद, राजनीतिक दलका प्रमुख, सरकारी निकायका प्रमुख, क्षेत्रीय कार्यालयका प्रमुख, निजी क्षेत्रका संघ–संस्थाका प्रमुखलाई सदस्य तोकिएको छ । बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राख्ने प्रस्ताव सरकारसँग गर्ने निर्माण गरेको अधिकारीले जानकारी दिए । बैठकले विमानस्थल निर्माणमा पहल गर्ने सबैलाई धन्यवाद समेत दिएको छ । विमानस्थल शिलान्यास कार्यक्रमलाई भव्य बनाउन प्रमुख राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री लगायतका उच्च अधिकारीलाई बोलाउने तयारी भएको समितिका संयोजक अधिकारीले जानकारी दिए ।
पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले विमानस्थल निर्माण गर्दा स्थानीयवासीलाई पर्ने समस्यालाई सम्बोधन गरिने बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रदेश नम्बर ४ एकजुट भएर लागेकोले सम्भव भएको हो’ मन्त्री पोखरेलले भने–‘विमानस्थल निर्माणको प्रक्रियामा पनि सबैको साथ र सहयोग आवश्यक छ, यो विमानस्थल प्रदेश नम्बर ४ को आर्थिक विकासको इञ्जिन पनि हो ।’ शिलान्याससँगै धावन मार्गको निर्माण प्रक्रिया अघि बढ्ने उनले बताए। “विमानस्थल निर्माणका लागि आवश्यक रकम, प्रविधि, जनशक्ति सबैको व्यवस्था गरिन्छ,” उनले भने–“निर्माण कार्यलाई प्रभावकारीरुपमा सम्पन्न गर्न स्थानीय सक्रियता एवम् अनुगमन अपरिहार्य हुन्छ ।” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले विमानस्थल बनाउनु मात्र ठूलो कुरा नभएको बताउँदै यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु महत्वपूर्ण हुने बताए । उनले विमानस्थल निर्माणसँगै प्रदेश चारको विकासको लागि प्याकेजमै योजना बनाइएको बताए । शिलान्यासपछिको निर्माण कार्यको लागि विना अवरोध निर्माण समाग्री दिने र काम गर्न दिने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । “विमानस्थल निर्माण भएर मात्र हुँदैन पोखरामा पर्यटक ल्याउन सक्नुपर्छ,” उनले भने–“धेरै पर्यटक पोखरा भित्र्याउन सकिए मात्र विमानस्थल निर्माणको सार्थकता पुष्टि हुन्छ ।”
नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक महेन्द्रसिंह रावलले विमानस्थल निर्माणपछि यसलाई सञ्चालन गर्ने जनशक्ति तयार गर्न अहिलेबाट नै गृहकार्य आवश्यक भएको बताए । उनले विमानस्थललाई कुन मोडालिटीमा सञ्चालन गर्ने त्यसबारे पनि तयारी गर्नुपर्ने आवश्यता औंल्याए ।
बैंठकमा बोल्ने कास्कीका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाहरु काम सुरु हुने र बीचमै रोकिने गरेका उदाहरण दिंदै पोखरा विमानस्थलको निर्माण कार्य कुनैपनि हालतमा रोक्ने नहुनेमा जोड दिए । उनीहरुले ताकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्ने बताएका थिए । सांसद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीय रुपमा गरिएका निरन्तरका प्रयत्नबाट वर्तमानसम्म आइपुगिएको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिए ।
सांसद शारदा पौडेलले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको माग समेतलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताइन । सांसद सीता गिरीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताइन।
सांसद चूडामणि जङ्गलीले विमानस्थल को माग गर्दै पोखरेली जनताले पोखरा विमानस्थल अगाडि १ सय ५१ दिन रिले अनशन बसेको स्मरण गर्दै लामो संघर्ष पछि विमानस्थल निर्माण प्रक्रिया अघि बढ्न लागेको बताए । सांसद तेजकुमारी पौडेलले विमानस्थल निर्माणसँगै यस क्षेत्रका विकासको सम्भावना बढेर जाने विश्वास व्यक्त गरिन् । सांसद डिबी नेपालीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पहुँच अन्तर्राष्ट्रिय स्तरमा सिधै पुग्ने बताए ।
स्थानीयवासी तथा पोखरा उपमहानगरपालिकाका पूर्व मेयर भिमसेन थापाले विमानस्थल निर्माणसँगै स्थानीय जनताको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताए । थापाले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको भावनाको उच्च कदर गर्न मन्त्री तथा सरकारको ध्यानाकर्षण गराए । प्रभावित क्षेत्रका वासिन्दाले भने विमानस्थलको लागि अधिग्रहण गरिएको घर जग्गाको मुआव्जा वितरण सन्तोसजनक नभएको उनले गुनासो गरेका थिए । बैंठकमा नयाँ विमानस्थल वनेपछि हालको विमानस्थलको सहित व्यवस्थापन हुनुपर्ने पनि आवाज उठेको थियो ।
प्रधानमन्त्री केपी ओलीको भर्खरै सम्पन्न चीन भ्रमणका क्रममा विमानस्थलका लागि चीन सरकारसँग ऋण सम्झौता भएको थियो । उक्त सम्झौतासँगै विमानस्थल निर्माणको ढोका खुलेपछि निर्माण प्रक्रिया अघि बढ्न लागेको हो । विमानस्थलका लागि चीनको एक्जिम बैंकबाट साढे २१ अर्ब रुपैयाँ ऋण उपलब्ध हुनेछ ।
यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । अनुदान बाहेकको रकमको नेपालले वाषिर्क २ प्रतिशत ब्याज तिर्नुपर्छ । तर यो ब्याज आगामी सात वर्षपछि सुरु हुनेछ ।
आगामी चार वर्षमा निर्माण सक्ने र पाँच वर्षभित्र विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइसक्ने योजना छ । विमानस्थल सञ्चालनमा आइसकेपछि मात्रै नेपालले ब्याज तिर्नुपर्छ । विमानस्थल बनाउन २ वर्षअघि नै चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको थियो । चारदशक अघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो ।
अधिग्रहण गरिएको जग्गाले नपुगेपछि थप ६ सय २९ रोपनी जग्गा चाहिने भन्दै रोक्का गरिएको थियो । तर, रोक्का गरिएकोमध्ये करिब ५० रोपनी जग्गा आवश्यक नपर्ने र केही जग्गा बाटोमा पर्ने भएकोले रोक्का भएजति जग्गाको मुआब्जा दिनुनपर्ने विमानस्थल निर्माण आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले बताए । उनका अनुसार मुआब्जा वितरणको काम ९० प्रतिशत सकिएको छ ।
Post a Comment