गोल्डेन न्यूज संवाददाता
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको विधान परिमार्जन गर्ने निर्णयलार्ई केन्द्रीय समितिले स्वीकृत गरेको छ । नयाँ राजनीतिक परिवेशअनुसार संसदीय दलको नयाँ निर्वाचन गर्न संसदीय दलले आज बिहान गरेको विधान संशोधनलाई सोमबार बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको हो । दलको विधानमा गरिएको मुख्य संशोधनमा अन्तरिम संविधान, २०६३ को सट्टा नेपालको संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गर्ने संसदीय दलको निर्णयलाई केन्द्रीय समितिले स्वीकृति दिएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी÷ जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरिएको उनले बताए ।
यसैबीच नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ। कांग्रेस निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचनका लागि सोमबार कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार सोमबार अपरान्ह मतदाता नामावली प्रकाशित गरिएको छ। संसदीय दलको नेताका लागि मंगलबार बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। साढे १२ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ। उम्मेदवारमा कसैको दाबी विरोध भए साढे १ बजेसम्म दर्ता गर्न सकिने छ भने साढे १ बजेपछि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन्। अन्तिम नामावली २ बजे प्रकाशित गरिने छ।
भोटिङ मेसिनको प्रयोग गरी २४ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदान हुने र सोही दिन नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए। संसदीय कार्यसमितिका लागि २६ गते बिहान ९ बजेदेखि १२ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। पूर्व सभापति सुशील कोइरालाको निधनपछि कांग्रेस संसदीय दलको नेता पद रिक्त भएको थियो। नेपाली कांग्रेसको तेस्रो समूह बन्ने प्रयासमा रहेको कृष्ण सिटौला समूहले आफूसँग सांसद भएको दाबी गरेको छ । साथै गगन थापासहितको यो सिटौला समूहले संसदीय दलको नेता सहमतिबाट चयन गर्न प्रस्ताव गरेको छ । र, दलको नेतामा उम्मेदवारी नदिने संकेत गरेको छ । सिटौला (गगन समूहको बैठक सोमबार अपराह्न बसेको थियो । बैठकमा २५ जना सांसद उपस्थित रहेको यो समूहले दाबी गरेको छ । भेलाले संसदीय दलको नेता सहमतिमै चयन गर्नु पर्नेमा जोड दिएको छ ।
हालै सम्पन्न १३औं महाधिवेशनमा सभापति पदमा पहिलो चरणमा कसैको पनि बहुमत नआएपछि सहमतिबाट सभापति चयन गर्न प्रस्ताव गरेको स्मरण गर्दै यो समूहले भनेको छ, फेरि एकपटक संसदीय दलको निर्वाचनमा त्यो अवसर आएको छ । पार्टीको आवश्यकता र समग्र कांग्रेसजनको चाहनालाई समेत मध्यनजर गर्दै सवैको भावना समेटिने र महाधिवेशनमा व्यक्त मतको सम्मान हुने गरी सहमतिमा नै संसदीय दलको नेतृत्व चयन गर्नु ठिक हुन्छ ।’ एकताबद्ध कांग्रेसले मात्रै अहिलेको चुनौतिको सामना गर्न र राष्ट्रिय राजनीतिमा समेत सकारात्मक सन्देश प्रवाह हुन सक्ने भन्दै यो समूहले सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते निर्वाचन हुँदैछ भने भोलि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल भिड्ने देखिएको छ ।
यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता रामचन्द्र पौडेललाई केन्द्रीय समितिमा मनोनित गर्दा आफूले अन्जानबश त्रुटि भएको भन्दै पौडेलसँग माफी मागेका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले आफू सभापतिमा निर्वाचित भएलगत्तै पौडेल एक जनालाई मात्रै पहिलो चरणमा केन्द्रीय समितिमा मनोनित गरी बाँकीलाई अर्को चरणमा गर्नुपर्ने कुरामा ध्यान नपुग्दा आफूबाट गल्ती भएको बताएका हुन्। ‘पौडेलजीलाई मनोनित गर्दा अरु छ जनासँगै मनोनित गरेर मैले पौडेलजीको मन दुखाउन पुगेंछु, त्यो मैले जानजान गरेको होइन र यसका लागि म क्षमा चाहन्छु,’ देउवाको भनाई उदृत गर्दै एक सदस्यले भने।
नेता पौडेललाई सधैँ सम्मान गर्ने बताउँदै देउवाले आगामी दिनमा पनि पार्टीको हितका लागि पौडेलसँग राय सुझाव र परामर्श गरी अगाडि बढ्ने बचन समेत उनले दिएका थिए। पार्टीको १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएलगत्तै देउवाले नेता पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, नरहरि आचार्य र उमाकान्त चौधरीलाई एकैलटमा केन्द्रीय सदस्यमा मनोनित गरेपछि पौडेल र उनी निकट नेता कार्यकर्ता सभापति देउवासँग रुष्ट बनेका थिए।
Post a Comment