0
प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित चीन भ्रमण आजबाट सुरू भएकोछ । साताव्यापी यो भ्रमणको रोचक र आलोचना गर्नैपर्ने विषय बन्न पुगेको छ, करिब १०० सदस्यीय जम्बो प्रतिनिधिमण्डल । यो एकदम अनुत्पादक, व्यर्थ र प्रयोजनहीन बन्न पुग्यो संख्याको हिसाबले । परिणाम के ल्याउँछ भन्ने कुरा भने यो सद्भावना भ्रमणको समापनपछि मात्र थाहा हुनेछ । ऋण र अनुदान माग्न जाने नेपालजस्तो गरिब मुलुकबाट करिब १०० जना प्रधानमन्त्रीसँग जानुको औचित्य अहिले कूटनीतिक र बौद्धिक जगतबाट खोजी भइरहेको छ । अर्को प्रसंग हो, प्रधानमन्त्री राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सको विमान नचढेर व्यावसायिक उडान नै नगरेको निजी एयरलायन्स हिमालय एयरलायन्सको नयाँ विमान चार्टर गरेर भ्रमणको कार्यक्रम तय गर्नु । यी दुवै कुरा ‘पहिलो गाँसमै ढुंगा’ भन्ने गरिएको नेपाली उखानलाई चरितार्थ गर्न सफल भएको छ । भ्रमणको आन्तरिक तयारी पनि फितलो र खर्चिलो हुँदाहुँदै पनि यो भ्रमणले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ र सुमधुर बनाउने कुरामा नेपाली जनता आशावादी रहेका छन् । दुई ठूला छिमेकी मुलुकहरु भारत र चीनबीच अवस्थित नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् भने चीन भ्रमणलाई पनि त्यत्तिकै महत्व दिइएको छ । चीनले विगतमा नेपालको विकास प्रक्रियामा सघाउन आर्थिक, भौतिक र प्राविधिक सहयोग गरिसकेको छ भने अब पनि २१औँ शताब्दीका नेपाली जनताको आवश्यकता र चाहनालाई सुहाउँदो युगानुकूलको सहयोगको प्याकेज तयार गरेको हुनुपर्छ । त्यसमा पाँच महिना लामो भारतीय नाकाबन्दीले थलिएका नेपाली जनताको आवश्यकताको पहिचान भएको हामी गर्न सक्तछौँ । इन्धनको सहज आपूर्ति, द्विपक्षीय व्यापार, सौर्य ऊर्जा र सडक यातायातले द्विपक्षीय वार्तामा प्राथमिकता पाउन सक्नेछन् । हामी नेपाली जनता लामो समयदेखि अशिक्षा, गरिबी, कुपोषण र कमजोर स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका छौँ । यी समस्याहरुको दीर्घकालीन समाधान गर्न हाम्रा आन्तरिक स्रोत, साधन र दक्ष जनशक्तिको ठूलो अभाव छ । प्रधानमन्त्री ओलीको यो भ्रमणमा यस्ता ज्वलन्त विषयहरुमा पनि चीन सरकारबाट सहयोगका लागि अनुरोध गर्नु वाञ्छनीय हुनेछ । माग्न लाज नमान्ने र जति मागे पनि नपुग्ने भनेर विश्व जनमतले चिनेका हामी नेपालीले छिमेकी राष्ट्र चीनसँग सहयोगको लामो सूची प्रस्तुत ग¥यौँ भने पनि त्यो आश्चर्यको विषय हुनेछैन । भौगोलिक र जनसंख्याको हिसाबले समेत धेरै गुण ठूलो चीनसँग नेपालको विकास प्रक्रियामा सघाउने धेरै साधनहरु छन् । समकक्षी नेपाललाई उन्नति र प्रगतिको चुचुरोमा पु¥याउन प्रधानमन्त्रीको यो भ्रमण सार्थक र फलदायी हुने विश्वास गरिएको छ । यी सबै सकारात्मक पक्ष हुँदाहुँदै पनि प्रधानमन्त्रीले आफ्नो भ्रमण टोली करिब १०० सदस्यीय र खर्चिलो बनाएर गम्भीर गल्ती गरेको कुरालाई भने स्वीकार्न कर लाग्छ ।



Post a Comment

 
Top