0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठक सम्पन्न गरेको पर्यटकीय नगरी पोखरा यतिखेर बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को स्वागतको पर्खाइमा लागेको छ । नेपालको इतिहासमा नै पहिलो पटक राजधानीबाहिर सम्पन्न सार्क बैठकले उत्साहित बनाएको पोखरालाई ह्यारीको आगमनको खबरले पुनः एक पटक चर्चाको शिखरमा पु¥याएको छ । ह्यारी नेपालको औपचारिक पाँचदिने भ्रमणमा यही चैत ६ गते नेपाल आइपुगेका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपालको भ्रमण भएको हो । ह्यारीको नेपाल भ्रमणको कार्यक्रम अन्तर्गत पोखरा भ्रमणसमेत पर्नुलाई पोखरेलीले महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । ह्यारीको भ्रमणलाई अत्यन्त प्रभावकारी बनाउन पोखरा यतिखेर क्रियाशील रहेको बताउँदै उनले सार्क बैठक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय चर्चा पाएको पोखरालाई ह्यारी भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । आफ्नो पोखरा बसाइको अत्यन्त व्यस्त कार्यक्रमबीच छोटो समयमा सामान्य रुपमा पोखरा नियालेका सार्क विदेशमन्त्री सहितका अतिथिले पोखराको उच्च प्रशंसा गरेका कारण अत्यन्त हर्षित बनेका यहाँका स्थानीयवासीले यसलगत्तै ह्यारीको पोखरा भ्रमण हुनु पोखरेलीका लागि ठूलो गौरवको विषय भएको टिप्पणी गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा पोखराका सम्पूर्ण उद्योगी–व्यवसायीले सार्कको भव्य सफलता सँगै हुन लागेको ह्यारीको भ्रमणलाई यस क्षेत्रको अन्तर्राष्ट्रियकरणका लागि ठूलो अवसर भएको बताउँछन्। ‘ह्यारीको पोखरा भ्रमणलाई अत्यन्त प्रभावकारी बनाउनका लागि प्रशासन लगायत यहाँका सबै सरोकारवालाबीच छलफल भइरहेको छ,’ उनले भने, ‘प्रभावकारी सुरक्षा व्यवस्थाका साथै उच्चस्तरीय सेवा प्रवाह, स्वागत तथा सम्मानमा कुनै कमी आउन दिनुहुँदैन ।’ सार्क मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘भगवान्ले फुर्सदमा बनाएको सहर’ पोखराजस्तो स्थानमा नकारात्मक कुरा उठ्नै नसक्ने र महत्वपूर्ण निर्णय लिन पनि उपयुक्त सहर भएको टिप्पणी गरेकी थिइन् । पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजिजले पनि पोखराको सुन्दरता आफ्नो मानसपटलमा चिरस्थायी बन्ने प्रतिक्रिया व्यक्त गरेका थिए ।
सार्क मन्त्रिपरिषद्को बैठकमा सहभागी सदस्य राष्ट्रका मन्त्री एवम् स्थायी समिति र कार्यक्रम समितिमा सहभागी हुन आएका सबै विशिष्ट अतिथिले पोखराको सौन्दर्यलाई उच्च प्रशंसा गरेको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा भूकम्प र नाकाबन्दीले प्रभावित यहाँको पर्यटन व्यवसायलाई थप उचाइमा पु¥याउन ह्यारीको भ्रमण अर्को महत्वपूर्ण अवसर भएको बताउँछन् । हिमाल, ताल, पहाड र संस्कृतिको मिश्रण रहेको सहरका रूपमा आफूहरुले पोखरालाई लिएको प्रतिक्रिया व्यक्त गरेका सार्क राष्ट्रका पाहुनामध्ये केहीले त कल्पना गरेको भन्दा पनि फरक सहरका रूपमा यसलाई आफ्नो सम्झनामा राखेको कुराले पोखरेलीको मनमा उत्साह थपेकामा ह्यारी भ्रमणको खबरले थप उत्साहित बनाएको छ । परिषद्का अध्यक्ष थापाले भने,–सार्क बैठकको सफलतासँगै अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण बैठक हुन सक्ने सन्देश दिएको पोखरामा ह्यारीको भ्रमणको सफलतासँगै अन्तर्राष्ट्रियस्तरका अति विशिष्ट व्यक्तिको भ्रमणको केन्द्र पनि यो बन्न सक्छ भन्ने अर्को सन्देश प्रवाह हुनेछ ।’

मंगलबार पोखरा आउँदै राजकुमार ह्यारी

राजकुमार ह्यारी बर्दिया, लमजुङ हुँदै मंगलबार हेलिकप्टर मार्फत् पोखरा आउने तय भएको छ । यहाँ रहँदा उनले वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसँत भलाकुसारी गर्नेछन् । युद्धमा घाइते र अपांग भएका योद्धासँग भेट्नेछन् । पोखरास्थित ब्रिटिस क्याम्पसँगै रहेको गोर्खा म्युजियमको पनि उनले अवलोकन गर्नेछन् । साथै गोर्खा सैनिक कल्याणकारी कोषले भूकम्पले क्षति पु¥याएका संरचना निर्माणसम्बन्धी जानकारी समेत लिने बेलायती दूतावासले जनाएको छ । सन् १८१५ देखि बेलायतको हरेक युद्धमा गोर्खाले साथ दिए । ती युद्धमा बहादुरी र इमान्दारितापूर्वक गोर्खा फौजले लडे । पहिलो र दोस्रो विश्वयुद्धमा ४० हजारभन्दा धेरै गोर्खा सैनिकले बेलायतको लागि ज्यान गुमाएका छन् । हजारौं घाइते र अपांग भए । बहादुरीको कदर स्वरुप १३ जना गोर्खा सैनिक बेलायतको भिक्टोरिया क्रमबाट सम्मानित भएका छन् । बेलायतकी महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुई पटक नेपालको भ्रमण भयो भने युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन् । ह्यारीका बाबु युवराज चाल्र्सले पदयात्रा गरेको कालिका, हंसपुर, रुपाकोट गाविसलाई जोडेर ‘रोयल ट्रेक’ नै नामकरण गरिएको छ । बेलायतबाट हालसम्म भएका ३९ वटा यस्ता उच्चस्तरीय भ्रमणले आपसी समझदारी, साझेदारी र सहकार्यलाई सघन तुल्याउन मद्दत पुगेको छ । लमजुङको गौंडामा ह्यारीको रात ः राजकुमार ह्यारीले लमजुङको गौंडा गाविसमा पदयात्रा गर्ने तय भएको छ । बेशीसहरबाट ३० किलोमिटर उत्तरपूर्व पर्ने गौंडामा ह्यारीले ८ गते १ घण्टा पदयात्रा गर्नेछन् । उनी बर्दियाबाट सिधैं हेलिकप्टरमा २ः४५ बजे गौंडा पुग्नेछन् । उक्त गाविसमा रहेका ब्रिटिस गोर्खा आर्मीका परिवारलाई भेट्ने र स्थानीय रहनसहन बुझ्ने छन् । भूकम्पले घर भत्काएको दुई भूतपूर्व सैनिकका परिवारलाई पनि उनले भेट्नेछन् । सोमबार उनले गौंडाबाट मनमोहक हिमशृंखलासँगै सूर्यास्त अवलोकन गर्नेछन् । त्यस दिन गौंडाकै ओखरी गाउँमा देवबहादुर तामाङको घरमा ह्यारी बास बस्ने टुंगो लागेको छ । तामाङ भूपू ब्रिटिस आर्मीका छोरा हुन् । उक्त दिन साँझ स्थानीय तामाङ समुदायले प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रममा राजकुमार ह्यारी समावेश हुनेछन् । मंगलबार बिहान उनले सूर्योदयको अवलोकन गर्नेछन् । भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनःनिर्माण भइरहेको स्थानीय गौंडा माविको भवनको अवस्थाबारे बुझ्ने स्रोतले बतायो । त्यसपछि उनी हेलिकप्टरबाट सोझै पोखरास्थित ब्रिटिस क्याम्प आउने कार्यक्रम छ ।






Post a Comment

 
Top