0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको अन्तिम सम्झौता गर्न पोखरा उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघका अध्यक्ष विन्दुकुमार थापाले प्रधानमन्त्री ओलीसँगको भेटमा स्मरणपत्र बुझाउँदै विमानस्थल शिलान्यासको आवश्यक व्यवस्था होस् भन्ने आग्रह गरेका हुन् । विमानस्थल निर्माणको लागि चीनको एक्जिम बैंकसँग ऋण सम्झौता भएको र त्यहाँको सिएएमसी नामक निर्माण कम्पनीले विमानस्थल बनाउने टुंगो लागे पनि ऋण सम्झौताको अन्तिम टुंगो लागेको छैन । अध्यक्ष थापाले चीन भ्रमणको एजेण्डामा नै पार्न आग्रह गरेपछि प्रधानमन्त्री ओलीले विमानस्थलको काम टुंग्याउन आफू अग्रसर भएको बताए । पोखराप्रतिको आफ्नो निकटताबारे चर्चा गर्दै उनले आफू छिट्टै विमानस्थल शिलन्यासको लागि आउने प्रतिवद्धता समेत व्यक्त गरेको अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले प्रधानमन्त्रको आसन्न चीन भ्रमणको सफलताको कामना समेत गरे । यसैगरी जनसरोकार मञ्च कास्कीले प्रधानमन्त्री के.पी शर्मा ओलीलाई विभिन्न २२ बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ। पोखरा आएका प्रधानमन्त्रीलाई भेटेर बुधबार जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देल नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो। ४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षा सम्वन्धी सुझावहरु ज्ञापन पत्रमा समावेश गरिएको छ। सुझावहरुले यस क्षेत्रकोे आवश्यकता र अपेक्षा पुरा गर्न सहयोगीको भूमिका खेल्ने विश्वास लिइएको छ। मञ्चले फागुन ३० गते पोखरामा प्राध्यापक, अर्थविद्, स्थानीय नेता, व्यवसायी र पत्रकारहरुवीच ४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षाका विषयमा छलफल गरी सुझाव संकलन गरेको थियो। ज्ञापन पत्रमा पोखरालाई ४ नं. प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पूर्वाधार तयार गर्न आवश्यक बजेट विनियोजन गर्न, नागरिकको क्षमता अबिबृद्धि गर्दै यस प्रदेशको आयस्रोत बढाउन, आर्थिक क्रियाकलाप बृद्धि गर्नका लागि पर्यटन, उद्योग, वाणिज्य र निर्माणका क्षेत्रलाई विस्तृतिकरण, व्यवसायीकरणगर्दै सवैको पहुँच पु¥याउन सुझाव दिइएको छ। त्यसैगरी, ४ नं. प्रदेशमा जलविद्युुतको ठूलो सम्भाव्यता रहेकाले बुढीगण्डकी, आँधीखोला, कालिगण्डकी र तनहुँ सेती हाइड्रोलाई प्राथमिकता दिएर कार्य थालनी गर्न, यस प्रदेशको आर्थिक सवलताका पक्षलाई पहिचान गर्न अनुसन्धान केन्द्र स्थापना गरी गुुरु योजना तयार गर्न, प्रदेशको सम्भावित राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न र लगानी मैत्री वातावरण सिर्जना गरी वैदेशिक लगानीकर्तालाई भित्र्याउनका लागि आवश्यक समन्वय र दिगो विकासको अवधारणा आगाडि बढाउन सुझाव दिइएको छ। यसैगरी नागरिक समाज पोखराले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सन्दर्भमा बुधबार ज्ञापनपत्र बुझाएको छ । नागरिक समाजका संयोजक रामबहादुर पौडेलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै मित्रराष्ट्र चीनको भ्रमण द्विपक्षीय राष्ट्रिय हित र सम्बन्ध विस्तारको लागि फलदायीको कामना गरे । ज्ञापन पत्रमार्फत गतवर्ष चीनका महामहिम राष्ट्रपतिको नेपाल भ्रमणका अवसरमा गरिएको द्विपक्षीय सम्झौतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा स्मरण गराइएको छ । चीन भ्रमणका बेला बाँकी रहेका सम्झौता र समझदारीलाई पूर्णता दिइ यसै वर्षभित्र उक्त परियोजनाको शुभारम्भ गर्ने अवसर प्राप्तिका लागि समेत भ्रमणले ऐतिहासिक महत्व राख्नेमा आशावादी रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

Post a Comment

 
Top