गोल्डेन न्यूज संवाददाता
कास्की लेखनाथ नगरपालिका वडा नं. १२ की खिम माया पुन मृत्यु प्रकरणमा आफन्तले आरोपी छुटाउने खेल भैरहेको भन्दै मुद्धा फितलो नबनाउन चेतावनी दिएका छन् । फेवा विकास बैंक गगनगौंडा शाखामा कार्यरत २९ वर्षीय पुनको शव माघ २६ गते वेगनासतालमा भेटिएको थियो । खिममायाको मृत्यु नभइ हत्या भएको र बैंकका शाखा प्रमुख अरुण सापकोटा दोषी रहेको ठहर गर्दै उनका परिवारले फागुन ९ गते किटानी जाहेरी दिएपछि प्रहरीले फागुन २१ गते सापकोटालाई पक्राउ गरेको थियो । आरोपी अहिले जिल्ला प्रहरीको हिरासतमा छन् । कानूनी प्रावधान अनुसार आरोपीलाई हिरासतमा लिएको २५ दिन भित्र अदालतमा बुझाउनुपर्छ । खिममायाका आफन्तले आरोपी प्रहरी हिरासतमा भएपनि उनी माथिको अनुसन्धान फितलो भएको र उम्काउने खेल भैरहेको आशंका गरेका छन् । सापकोटालाई पक्राउ गरेपनि सार्वजनिक नगर्नुको कारण माग गरेका छन् । मृतकका पिता प्रेम बहादुर पुनले आफ्नी छोरीको हत्या भएको र सापकोटानै संलग्न रहेको जिकिर गरेका छन् । पीडितको तर्फबाट गठित संघर्ष समितिले आईतवार पत्रकार सम्मेलन गरी आरोपी छुटाउने खेल भैरहेको भन्दै उनीमाथि अनुसन्धान गरी वलियो प्रमाण पेश गर्न आग्रह गरेको छ । प्रहरी हिरासतमा रहेका आरोपीमाथि गरिएको अनुसन्धान फितलो भएको र बुधवार अदालतमा बुझाएपछि पनि छुट्ने गरी मिसिल तयार पर्ने काम भैरहेको उनीहरुको आशंका छ ।
प्रहरीले सरकारी वकिललको कार्यालय मार्फत अभियोजन तयार गरी मिसिल सहित अदालतमा पेश गर्ने प्रावधान छ । पत्रकार सम्मेलनमा सरकारी वकिललको कार्यालयले अहिलेसम्मको अनुसन्धानमा आरोपीलाई अदालत पेश गरेपछि पुनः थुनामा पठाउने ठोस प्रमाण तयार गर्न नसकेको जानकारी आफूहरुलाई प्राप्त भएको खुलाएका थिए ।
संघर्ष समितिका संयोजक संगीता पुनले खिममायाले आत्महत्या गरेको प्रमाण पनि नभेटिनु र हत्या भएको हो भन्ने एकिन पनि गर्न नसक्नु प्रशासनको कमजोरी भएको बताईन् । आरोपी सापकोटाले सफाइ पाए अन्य दोषी पत्ता लगाइ कानूनी दायरामा ल्याउनुपर्ने उनले बताईन् । खिममायाका पिता प्रेम बहादुरले बैंकका म्यानेजर सापकोटाले आफूले गालिगलौज गरेर अफिसबाट निकालेको स्वीकार गर्नु, आफै खोज्दै घर पुग्नु, सुरुमा किटानी जाहेरी दिंदा पनि प्रहरीले अस्वीकार गर्नु र दवावपछि मात्र जाहेरी दर्ता गर्नु तथा किटानी जाहेरी दर्ता भएको १३ दिनपछि मात्रै पक्राउ गर्नुलाई आरोपी र प्रहरीको मिलेमतोको आरोप लगाएका छन् । हिरासतमा लिएपछि पनि प्रहरीको अनुसन्धान फितलो भएको उनको आशंका छ । सापकोटा प्रहरी हिरासतमा आएको बुधवार २५ दिन पुग्दैछ । खिममायाको शब अहिले पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शब गृहमै छ । अस्पतालले वारम्वार फोन गरी शव बुझ्न आग्रह गरेको भएपनि आरोपी थुनामा नगएसम्म शब नवुझ्ने आफन्तको अडान छ । घटनाको ५९ दिन सम्मपनि हत्या वा आत्माहत्या भन्ने कुनै निश्कर्ष निकाल्न नसक्नु प्रहरीको कमजोरीको रुपमा उनीहरुले टिप्पणी गरेका छ ।
यसैबीच जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले आरोपी हिरासतमा रहेको र उनी उपर प्रमाण जम्मा गरी सरकारी वकिलको कार्यालय मार्फत बुधवार अदालतमा पेश गर्ने तयारी भैरहेको बताए । उनले आफन्तको आक्रोश स्वभाविक भएको भन्दै प्रहरीले घटनामा संलग्नताको प्रमाण भेटिए कुनैपनि अभियुक्तलाई उन्मुक्ति नदिने स्पष्ट पारे ।
Post a Comment