0
गोल्डेन न्यूज संवाददाता
पोखराको फेवा विकास बैंकका अध्यक्ष जगन गुरुङले बैंकको संचालक समितिले आफूलाई वाई पास गरी हिंडेको र समयमै साधारणसभा गर्न नसकेको जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको बिषयमा प्रष्ट पार्दैै उनले पौष मसान्त अगावै र सहमति गरे अनुसार भएको भएपनि फागुन मसान्तसम्म साधारणसभा समेत वोर्डले वोलाउन नसकेको कारणले गर्दा आफुले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले भने–‘अध्यक्षको नाताले केहि नैतिक जिम्मेवारी मैले पनि लिन्छु, तर साधारणसभा बोलाउन खोज्दा संचालक समितिका पदाधिकारीहरुले असहयोग गरेको हुनाले मैले चाहेर पनि साधारण सभा बोलाउन सकिन, यसमा बोर्डले नै साधारणसभा बोलाउनु पर्ने हो तर अहिले संचालकको कार्यकाल नै सकिएको छ । वोर्डको औचित्य समाप्त भएको बताउँदै उनले बोर्ड विवाद भएकोले केहि मर्जरका प्रस्तावहरु अघि बढे पनि अव्यवहारिक भएको भन्दै आफूले त्यसलाई नमानेको कारणले गर्दा संचालकहरुले आफू विरोधी क्रियाकलाप गर्न थालेको अध्यक्ष गुरुङले गुनासो गरे ।  आफ्नो राजीनामा सहित उनले बैंकका केहि संचालकहरुले अध्यक्ष पदबाट हटाउने गैरकानूनी प्रयास बिरुद्ध अदालतमा गएको मुद्धाको समेत कुनै औचित्य नहुने भएकोले सो मुद्धा समेत फिर्ता लिने निर्णय गरेको उद्घोष गरे ।  फेवा विकास बैंकको वोर्डमा विवाद भए पनि व्यबस्थापन पक्षमा कुनै असर नपारेको बताएका अध्यक्ष गुरुङले आफूले विगत ८ बर्षदेखि विश्व विकास बैंकको अध्यक्ष सम्हालेको अनुभवको कारणले गर्दा पनि आफू कुनै वित्तिय संस्था हाक्न सक्ने क्षमता भएको दाबी गरे । साधारणसभाबाट नयाँ म्याण्डेड पाएको खण्डमा पुनः अध्यक्ष पदभार सम्हाल्न आफू तयार भएको समेत उनले बताए ।  बैंकका संचालकहरु बीचको विवादले गर्दा कैलाश विकास बैंक र बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकसंग संगै मर्जर गर्ने काम अघि बढेर पनि हुन सकेन । फेवा विकास बैंकका संचालक विन्दुकुमार थापाले जगन गुरुङले दिएको राजीनामाको कुनै औचित्य नभएको बताए । उनले भने–‘मर्जर बिरोधी भएको कारणले गर्दा हामीले केही महिना अघि नै गुरुङलाई अध्यक्षबाट पदच्यूत गरेका हौं, फेवा विकास बैंकका अध्यक्ष हाल रामभक्त रञ्जित हुन।’ फेवा विकास बैंकको हालै सम्पन्न शेयर सदस्यहरुको बृहत भेला र लगत्तै बसेको संचालक तथा शेयर धनीहरुको बैठकले विवाद टुंगाउने गरी साधारण सभा वोलाउने सहमति भएको छ । वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा संयोजक रहेको सो समितिले लगानी कर्ताहरुको सुझावलाई मध्यनजर राख्दै तत्काल मर्जरमा जानुभन्दा पनि फागुन मसान्तभित्र साधारणसभा गर्ने सर्वसम्मत सहमति गरेको थियो । मर्जर प्रक्रियाले गर्दा साधाराणसभा समयमै गर्न नसकेको बताउँदै संचालक थापाले साधारणसभा पनि नयाँ बोर्डले मर्जर प्रक्रिया अघि बढाउने बताए ।


Post a Comment

 
Top