0
राजनीतिको अर्थ राज्यको नीति हो । राजनीतिक नेतृत्वले नै राज्यको नीति निर्माण गर्दछ । राजनीति शासन प्रणालीको मियो पनि हो । राजनीतिले राज्यको नीतिप्रति दूरदृष्टि राख्न सक्नुपर्दछ । राजनीतिले समाजलाई नेतृत्व प्रदान गर्दछ । राजनीति भनेको समाजमा बसेका मानिसहरुले निर्णय गर्ने पद्धति पनि हो । समाजमा सहमति र समझदारी कायम गर्ने माध्यम पनि राजनीति नै हो । कुनै देशले अवलम्बन गरेको राजनीतिक पद्धति भनेको त्यो देशको दर्पण पनि हो ।
राजनीतिका यी सैद्धान्तिक पक्ष भएपनि व्यवहारतः समाजमा राजनीतिलाई भिन्न तरीकाले बुझिन्छ । कसैले राजनीतिलाई खेल भन्छन् भने राजनीतिप्रति अलि नकारात्मक धारणा राख्नेहरु त राजनीतिलाई फोहोरी खेल नै भन्न रुचाउ‘छन् । राजनीतिलाई पेशा भन्न चाहनेदेखि राजनीतिलाई व्यापार बुझ्नेसम्म छन् । राजनीतिले जनमानसमा जे जस्तो छाप छोडेको छ व्यवहारतः त्यस्तै बुझ्ने गरिन्छ । आजको व्यस्त युगमा राजनीतिलाई सिद्धान्तको कसीमा विश्लेषण गर्ने मानिसको अभाव छ । त्यसकारण आफूले देखे, भोगे र अनुभूति गरेअनुसार राजनीतिलाई बुझ्नु नौलो कुरा पनि होइन ।
राजनीतिक दर्शनको हिसाबले राजनीति एक विशिष्टीकृत र सर्वमान्य शास्त्र हो । सिद्धान्ततः राजनीतिप्रति राजनीतिशास्त्रीहरुको एकै प्रकारका धारणा भए पनि व्यवहारतस् हरेक देशका राजनीतिका भिन्न–भिन्न चरित्रहरु छन् । नेपालको पछिल्लो समयको राजनीतिलाई चिरफार गर्दा नेपालको राजनीतिका यस्ता चरित्रहरु देखिएका छन् । सिद्धान्तविहीन सिद्धान्त ः भनिन्छ राजनीतिको आधार सिद्धान्त हो । कुन देशले कस्तो राजनीतिक व्यवस्था अवलम्बन गर्ने भन्ने कुरा त्यो देशको संविधानमा व्यवस्था हुन्छ । त्यस्तै संविधानसंग नबाझिने गरी राजनीतिक दलहरुले आफ्नो दलले अवलम्बन गरेको सैद्धान्तिक धरातलमा पार्टी संगठनहरु निर्माण गर्छन् । नेपालमा पनि २००७ सालपछि राजनीतिमा सिद्धान्तको लामो बहस भयो । नेपाली कांग्रेसजस्ता पार्टीहरुले समाजवाद लाई अंगाले । कम्युनिष्ट पार्टीहरुले साम्यवादको स्थापनाका लागि भन्दै सशस्त्र संघर्ष समेत गरे । तर पछिल्लो समयमा आइपुग्दा के कम्युनिष्ट के कांग्रेस के अन्य दलहरु सबैको धरातल एउटै बन्न पुग्यो । ती पार्टीहरुको सैद्धाान्तिक दस्तावेज फरक भए पनि व्यवहारतः सबैको शैली उस्तै छ । नेताहरुको चरित्रमा पनि फरकपन देखिएन । सिद्धान्तको कुरा पनि गर्ने तर त्यो सिद्धान्त बमोजिम चल्न पनि नसक्ने सिद्धान्तविहीन सिद्धान्तमा राजनीतिक दलहरु चलिरहेका छन् ।
टुट फुट र गुटबन्दी ः टुट, फुट र गुटबिनाको राजनीति यतिबेला नेपालको राजनीतिमा कल्पना बाहिरको कुरा भएको छ । एक अर्को पार्टीबीच दूरी त छ‘दैछ त्यो भन्दा पनि खतरनाक र डरलाग्दो दूरी आफ्नै दलको गुट उपगुटबीच छ । कुनै पनि दलको प्रमुख प्रतिद्वन्द्वी खोज्नुपर्यो भने अर्को दलतिर दृष्टि सोझ्याउनुपर्दैन, बरु आफ्नै दलभित्रको गुट खोज्नुपर्छ । 
पार्टी टुक्रिने, जोडिने र नया‘ पार्टी खोल्नेको संख्या नेपालको राजनीतिक इतिहासमा कति पुग्यो एकीन हिसाब आउन असम्भव छ । गुटबन्दीको असर नपरेको दल खोज्न कठिनप्रायः छ । गुटबन्दीको असर यतिसम्म छ कि जतिसुकै राम्रो नेता भए पनि उसले कुनै न कुनै गुट नसमाती न चुनावमा उम्मेदवार बन्न पाउ‘छ, न पार्टीभित्र कुनै स्थान पाउ‘छ । गुटबिना उम्मेदवार बनिहाले पनि उसले चुनाव जित्दैन ।
चुनावमुखी राजनीति ः देशको राजनीति शतप्रतिशत चुनाव केन्द्रित छ । जब चुनाव आउँछ तब चुनावी लहर लिएर राजनीति गाउँ–गाउँसम्म मात्र होइन, घर–घरमा पनि पुग्छ । चुनाव बाहेक अरु बेला देशमा के भइरहेको छ गाउँमा त परै जाओस् जिल्ला तहमा समेत थाहा हु‘दैन । चुनावमा दल र नेताहरुले गाउँ ढाक्छन् । अरु बेला काठमाडौं ढाक्छन् । खासगरी ठूला नेताका वरिपरि नै मझौला र साना नेताको दिनचर्या बित्छ । जनतालाई चुनावी भोट बैंकबाहेक अन्य समय पूर्णत बिर्सने गरिन्छ ।
सामाजिकीकरणको अभाव स् चुनावमुखी राजनीति भएकै कारण नेपालको राजनीतिको सामाजिकीकरण हुन सकेन । सर्वसाधारणले राजनीतिलाई आफ्नो सम्पत्ति भन्ने ठानेनन् । जनताले राजनीतिलाई विशुद्ध दल र नेताको पेवा विषय ठाने । नेताले पनि राजनीतिलाई आफ्नो पेवा बनाए । नेता र जनताबीचको खाडलले गर्दा जनता राजनीतिप्रति उदासिन भए । राजनीतिक शिक्षा गाउँ–गाउँ तहसम्म नपुग्दा राजनीति र जनताबीच ठूलो दूरी रह्यो ।
अराजनीतिक गतिविधि ः राजनीति भनेको देश र समाजको दर्पण हो । समाजले राजनीतिस‘ग कुनै न कुनै सामाजिक गतिविधिको अपेक्षा राख्दछ । हाम्रो समाजमा पनि दिनहुँ राजनीतिक गतिविधि भई नै रहन्छ । समाजलाई सबैभन्दा बढी प्रभाव राजनीतिले पारिरहेको छ । दैनिक पत्रपत्रिका र अन्य समाचार माध्यम हेर्यो भने पनि राजनीतिक गतिविधिका समाचार नै बढी प्रचार–प्रसार हुन्छन् । तर त्यो राजनीतिक गतिविधि सबै अराजनीतिक देखिन्छ । राजनीतिको नाममा बन्द, हड्ताल चक्काजाम, बिरोध, असहयोगजस्ता अराजनीतिक गतिविधि हुन्छ । बन्द, हड्ताल त नेपाली राजनीतिको पर्याय नै बनिसकेको छ । त्यसैले पछिल्लो समय हामी यस्ता अराजनीतिक गतिविधिलाई राजनीतिक नै मान्न थालिसकेका छौं । अराजनीतिक गतिविधि नै राजनीति हो भनेर दाबी गर्न थालेपछि जनताको राजनीतिप्रति वितृष्णा बढ्न थालेको छ ।
व्यक्ति हाबी ः राजनीति सिद्धान्त, विचार र पद्धतिले चल्नुपर्छ तर नेपालको राजनीति सिद्धान्त, विचार र पद्धतिले चल्दैन । व्यक्ति हाबी छ । कुनै कार्यकर्ता कुन नेताको, कुन पक्षको भन्ने बहस हुन्छ । पितालाई महान् मानेर गणेशले शिवको परिक्रमा गरे झैं बिहान बेलुकै कनिष्ठ नेताबाट वरिष्ठ नेताको परिक्रमा हुन्छ । बिहान–बिहान नेताको घरमा कार्यकर्ताको भीड देख्दा राणाकालीन स्वस्ति संस्कृतिको याद दिलाउ‘छ । एकातिर झोला बोक्ने अर्को्तिर झोला बोकाउनेहरु छन् । झोले राजनीतिले सिद्धान्त छायामा परेको छ र व्यक्ति हाबी हु‘दै गएको छ ।
बाह्य प्रभाव ः नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभाव चर्को छ । देशमा हुने हरेक राजनीतिक गतिविधिमा छिमेकी राष्ट्रको चासो रहन्छ । त्यसमा पनि भारतीय प्रभावको विशेषरुपमा चर्चा हुने गर्छ । राष्ट्रिय राजनीतिमा मात्र होइन पार्टीभित्रका राजनीतिदेखि कर्मचारी संयन्त्रसम्ममा भारतीय प्रभाव पर्ने गरेको छ । राष्ट्रियता र स्वतन्त्रताका जति कुरा गरे पनि भारतीय प्रभावबाट नेपाली राजनीति मुक्त छैन ।
आन्तरिक प्रजातन्त्रको अभाव स् हाम्रो देशले अवलम्बन गरेको पद्धति प्रजातान्त्रिक प्रतिस्पर्धात्मक पद्धति हो । तर हाम्रो राजनीति आन्तरिक प्रजातन्त्रविमुख छ । जनताले चुनावमार्फत प्रतिनिधि छान्ने गरे पनि दलभित्र प्रतिनिधि छान्ने कुरामा नेताको निर्णय हुन्छ । केही पार्टीले प्रतिस्पर्धात्मक पद्धतिबाट नेतृत्व चयन गर्दा पनि व्यवहार त त्यसमा व्यक्ति र गुट हाबी हुने गरेको छ । पार्टीभित्रका आन्तरिक चुनावमा अनुशासनका नाममा कार्यकर्ताको विवेकलाई नै बन्धक बनाउने काम हुन्छ ।
सत्तामुखी ः नेपाली राजनीतिमा एउटा भनाइ नै प्रचलित छ–‘राजनीति जोगी हुनका लागि गर्ने होइन ।’ यसको मतलब राजनीतिको लक्ष सत्ता हो । जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मनोदशाबाट नेता र पार्टी ग्रसित छन् । राजनीति सत्ताको मियो वरिपरि घुमेको छ । सत्तालाई जनताको नासो भन्दा पनि दैवी शक्तिको उपहार झैं ठानिएको छ । सत्तामा पुगेपछि जनताप्रति जवाफदेहीता पनि देखिन्न । यस्तो चरित्र बोकेको नेपाली राजनीति पछिल्लो समय त दिशाहीन अगाडि बढेको छ । खासगरी नकारात्मक बाटोमा अगाडि बढेको छ । अधिकांश चरित्र नकारात्मक छन् । 
नेताको मुडको भरमा राजनीति चलेको छ । पद्धति र प्रक्रिया पूर्णतः छायामा परेको छ, भनौं औपचारिकतामा सीमित छ । खासगरी भारतीय पार्टीहरुको प्रभाव र शैली नेपाली राजनीतिमा भित्रिएको छ । यी चरित्रहरुमा आमरुपमा परिवर्तनको खाँचो छ ।













Post a Comment

 
Top