गोल्डेन न्यूज संवाददाता
बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी आज मंगलबार पोखरा आउँदै छन् । नेपालको औपचारिक पाँचदिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुगेका ह्यारी मंगलबार पोखरा आउने भएका हुन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी भई ह्यारी मंगलबार नै काठमाडौंँ फर्कने कार्यक्रम छ । बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा आउन लागेका हुन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् । पोखरा रहँदा उनी वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित पनि भलाकुसारी गर्नेलगायतका कार्यक्रममा सहभागी हुनेछन् ।
Post a Comment