0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सकिएको छ । महामन्त्रीले पेश गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र नीति तथा कार्यक्रम गरी तीनवटा दस्तावेज परीमार्जन सहित पारित गर्दै बन्द सत्र सकिएको हो । ‘तीनवटै दस्तावेजमा एकीकृत रुपमा ४२ जना जिल्ला सभापति, विदेशका जनसम्पर्क समिति र केही समूहगत र व्यक्तिगत रुपमा गरी धारणा राख्नुभएको छ’ महाधिवेशन प्रचार समितिका संयोजक मिनेन्द्र रिजालले भने–‘सबै चिजहरुलाई हामीले टिपोट लिएका छौँ, परीमार्जनसहित पारित भएको दस्तावेज बनाउँछौँ ।’ काँग्रेसले शुक्रबार बाधा अड्काउ फुकाउने बाटोबाट अञ्चलको साटो प्रदेशबाट १४ जना प्रतिनिधि बनाएकोमा त्यो प्रस्तावमा धेरै छलफल भएको उनले बताए । पार्टीको सबैभन्दा तल्लो तहका कार्यकर्ताको राय केन्द्रसम्म आउने प्रकृयाबाट नीति र कार्यक्रम पारित गरेकाले अव त्यो प्रतिवेदन कार्यान्वयनका लागि नयाँ कार्यसमिति जनताकहाँ जाने उनले बताए । उनका कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान हुनेछ । विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । लगतै मतगणना सुरु हुनेछ । सुरुमा सभापतिको मतगणना हुनेछ । पहिला सभापतिको सभापतिको मतगणना गरिनेछ र दोस्रो चरणमा जानु पर्ने अवस्थामा आएमा अन्य पदको मतगणना स्थगित गरेर दोस्रो चरणको चुनाव गरिनेछ । सभापतिका लागि ५१ प्रतिशत मत ल्याउनुपर्छ । सभापतिका लागि चुनावी मैदानमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलामा छन् । आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस महाधिवेशन प्रचार–प्रसार समिति संयोगक मिनेन्द्र रिजालले सबेैलाई धन्यवाद दिए ।
यसैगरी काँग्रेस १३औं महाधिवेशनका विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । अन्तिम नामवली अनुसार महाधिवेशन तीन सय १२ जना विभिन्न पदका लागि उम्मेदवार भएका छन् । ६३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।
कांग्रेसको केन्द्रीय सदस्यका लागि जनजाति पुरुषमा सबैभन्दा बढी उत्साहजनक प्रतिस्पर्धा हुने भएको छ । आरक्षण सीटअन्तरगत जनजातिका ३ जना केन्द्रीय सदस्यका लागि ४० जना आदिवासी जनजाति नेताहरु चुनावी मैदानमा छन् । जनजातिको सीटमा ५० जनाको उम्मेदवारी परेको थियो, जसमध्ये १० जनाले फिर्ता लिएका छन् । ३ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्ने जनजातिहरुमा प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सांसदहरु नागेन्द्र कुमाल, बहादुरसिंह लामा, भीमसेनदास प्रधानदेखि मीनकृष्ण महर्जनसमेत छन् । जनजाति नेता कुलबहादुर गुरुङ, पूर्णकुमार शेर्मा लिम्बू लगायत चाँहि खुल्लातर्फ क्षेत्री बाहुनसँगै प्रतिस्पर्धामा भिडेका छन् ।
खुल्ला २५ सीटमा महिलासमेत
केन्द्रीय कार्यसमितिका लागि २५ केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् । जसमा ९० जना उम्मेदवार छन् । चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा निरु पोखरेल, रामचन्द्र पोखरेल, सूर्यमान गुरुङ र वासुदेव तिमल्सिना छन् । खुल्ला केन्द्रीय सदस्यको कोटामा महिला नेतृहरु सुजाता कोइराला र डिना संग्रौला उपाध्याय पनि उत्रिएका छन् । उनीहरु महिला कोटामा उम्मेदवारी नदिई पुरुषहरुसँगै प्रतिस्पर्धामा उत्रिएका हुन् । खुल्लातर्फको २५ जनाको कोटामा नेताहरु उम्मेद्वार बनेका छन्, जसमा खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेदेखि लिएर चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, नारायण खड्का, प्रकाशमान सिंह, प्रदीप गिरी, बलबहादुर केसी लगायत छन् । महेश आचार्य, मिनेन्द्र रिजाललगातका नेता पनि यही २५ जनाको कोटामा जितेर नेतृत्वमा आउने तयारीमा छन् । कांग्रेसका पूर्व सचेतक शोभाकर पराजुली पनि खुल्लातर्फ प्रतिस्पर्धामा उत्रेका छन् ।
महिला र दलितमा पनि उस्तै उत्साह
महिलाका कुल ६ सीटका लागि ३८ जनाले प्रतिस्पर्धा गर्दैर्छन् । ४० जनाको उम्मेदवारी परेकोमा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा विष्णुदेवी पुडासैनी र सावित्री बोगटी पाठक छन् । आरक्षणकै दलितको पुरुष कोटाका पनि कडा प्रतिस्पर्धा हुने भएको छ । तीन केन्द्रीय सदस्यका लागि २० जना उम्मेदवार छन्, जसमा मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मा, जीवन परियारदेखि शम्भु हजारा दुसादसम्म छन् । सबैभन्दा कम उम्मेदवार भने प्रदेश नम्बर २ र दलित महिलातर्फ रहेका छन् । प्रदेश नम्बर २ का दुईवटा केन्द्रीय सदस्यको कोटामा ५ जनामात्रै उम्मेदवार छन् । दलित महिलातर्फ दुई केन्द्रीय सदस्यका लागि ५ जना चुनावी मैदानमा उत्रिएका छन् ।
यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो प्रतिस्पर्धा शेरबहादुर देउवासँगै भएको बताएका छन् । भृकुटीमण्डपमा बन्दसत्र सकिएपछि महामन्त्री प्रकाशमान सिंहलाई साथमा राखेर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले आफ्नो प्रतिस्पर्धा देउवासँग भएको बताए । पौडेलले महाधिवेशन प्रतिनिधिहरुलाई भेट्दा आफूलाई जित्छु जस्तो लागेको दाबी गरे । उनले लोकतान्त्रिक र स्वच्छ प्रतिस्पर्धा हुुनु पर्ने भन्दै पार्टीलाई नेतृत्व दिन सक्ने र पुरानो छवि कायम राख्न सक्ने नेतृत्व छान्न आग्रह गरे । कांग्रेस महाधिवेशन पछि सरकार परिर्वतन हुने चर्चाबारे सोधिएको प्रश्नमा कार्यबाहक सभापति समेत रहेका पौडेलले यसबारे केही नसोचेको बताए ।
यता, काँग्रेसमा महामन्त्रीका उम्मेदवार गगन थापाले आफूले जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको बताएका छन् ।आफ्ना ससुरासंग महामन्त्री पदमा प्रतिस्पर्धा गरका थापाले महाधिवेशनको बन्दसत्र चलिरहेको बेला हलबाहिर पत्रकार सम्मेलन गरेर उनले यस्तो प्रतिक्रिया दिएका हुन् । आफूले कस्को छोरा वा कस्को बुबा उठेको छ भनेर उम्मेदवारी दिएको नभई आफूले काँग्रेसलाई रुपान्तरण गर्न उम्मेदवारी दिएको बताए । ‘कस्को छोरा र कस्को बुबा लड्नुभएको छ भन्ने कुरालाई हेरेर मेले उम्मेदवारी दिने कुरा निधो गरको हैन’ उनले भने ‘म महामन्त्री भएर नेपाली काँग्रेसलाई नै रुपान्तरण गर्न चाहन्छु । ’ ससुराको सिट सुरक्षित गरिदिनका लागि चुनाव लडेको चर्चा चलिरहेको भन्ने आरोप लागिरहेको बेला उनले आफू अरुका लागि प्रयोग भईदिने मूर्ख राजनीतिकर्मी नभएको प्रतिकृया दिए । ‘मेरो बुबा लड्नुभएको छ निर्वाचनमा म संग र विपीको छोरा लड्नुभएको छ’ उनले भने ‘म आफू महामन्त्री बन्नका लागि जिवनको सबैभन्दा ठूलो राजनीतिक जोखिम उठाएर बनेको बेलामा यतीबेला यस्तो कन्जरभेटिभ पार्टी्भित्र मैले अरु कसैका लागि प्रयोग गरीदिनुपर्ने म कुनै मुर्ख राजनीतिकर्मी होइन ।’




Post a Comment

 
Top