0
गोल्डेन न्यूज संवाददाता
कांग्रेस सभापति शेरवहादुर देउवालाई केन्द्रीय कार्यसमितिमा सुविधाजनक बहुमत पुगेको छ । ८५ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये सोमबार सम्पन्न मत परिणामले पदाधिकारी सहित निर्वाचित ६४ सदस्यमा सभापतिसहित ३६ देउवा पक्षका निर्वाचित भएका छन् । महामन्त्री, कोषाध्यक्ष सहित २८ सदस्य पौडेल प्यानलबाट निर्वाचित भएका छन् ।  निर्वाचित संख्यामा नै बहुमत पुगेपछि सभापति देउवालाई पार्टी संचालनमा सहज हुने देखिएको छ । पार्टीको विधानअनुसार देउवाले २१ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने छन् । देउवाले पहिलो चरणमा आफूसँगै प्रतिस्पर्धा गरेका तत्कालिन पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रतिस्पर्धी अर्जुननरसिंह केसी, गगन थापा, कोषाध्यक्षका प्रतिस्पर्धीद्वय चित्रालेखा यादव र उमाकान्त चौधरीलाई मनोनयन गर्ने तयारी थालेका छन् । त्यसपछि मात्रै पदाधिकारी र अन्य सदस्यहरुको मनोनयन प्रकृया अघि बढाउने देउवा निकट स्रोतले बतायो । फागुन २० देखि राजधानीमा सुरु भएको केन्द्रीय महाधिवेशनले केन्द्रीय कार्यसमितिमा अधिकांश पुरानै अनुहारलाई निर्वाचित गरेको छ । महाधिवेशन फागुन २० देखि २४ मा सकिएपनि झंझटिलो मत गणनाका कारण परिणाम आउन एक साता लागेको हो । कांग्रेसको स्थानीय तहको अधिवेशन भने माघ १५ देखिनै सुरु भएको थियो । ४ लाख ७० हजार कांग्रेसका क्रियाशील सदस्यमाझबाट केन्द्रीय नेतृत्व चुनिएको हो ।  खुला २५ मा केन्द्रीय कार्यसमितिमा नभएका रमेश लेखक र विश्वप्रकाश शर्मामात्रै निवाबर्अचित भएका छन् । शर्मा नेविसंघको पूर्व अध्यक्ष हुन । तत्कालिन सभापति सुशील कोइरालाले नेविसंघका  पूर्व अध्यक्षहरुलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्दा शर्मा परेका थिएनन् । लेखक पूर्व मन्त्री र सांसद भएपनि केन्द्रीय कार्यसमितिमा यो उनको पहिलो प्रवेश हो । उनी १२ औं महाधिवेशनमा अंचलबाट पराजित भएका थिए । यसपटक खुला २५ मा लेखकले नवौ स्थानमा आफूलाई उभ्याएका छन् । विद्यार्थी नेताको रुपमा चर्चीत शर्मा १४ औं स्थानमा विजयी भएका छन् । यी बाहेक खुला २४ मा आउने सवै केन्द्रीय सदस्यहरु नै छन् । १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित प्रदिप पौडेल यसपटक भने छैटौं स्थानमा निर्वाचित भएका छन् । पौडेललाई तत्कालिन सभापति कोइरालाले नेविसंघका पूर्व अध्यक्षको हैशियतमा मनोनयन गरेका थिए । यसअघि केन्द्रीय सदस्य नरहेका प्रदेशबाट वीरवहादुर बलायर, देवेन्द्रराज कंडेल, महिला आरक्षण ६ पदमा डिला संग्रौला, सरिता प्रसाई, मधेसी कोटाबाट रामकृष्ण यादव, मधेसी महिला आरक्षणबाट किरणदेवी यादव, दलित महिला आरक्षणबाट लक्ष्मी परियार नयाँ अनुहार हुन् । कँडेल पूर्वगृह राज्यमन्त्री हुन । बलायर, यादव द्धोय सांसद हुन । संग्रौला महिला संघकी अध्यक्ष हुन् । १२ औं महाधिवेशनमा पराजित संग्रौला यसपटक पहिलो स्थान ल्याएर विजयी भईन । प्रसाई सांसद तथा विद्यार्थी नेतृ हुन् । परियार पहिलो संविधानसभाबाट समानुपातिक सांसद थिइन् । युवाहरुमध्ये यसपटक अधिकांश निर्वाचनबाट आएका छन् । मनोनयनमा केन्द्रीय सदस्य भएका प्रदिप पौडेल, गुरु घिमिरे, गोविन्द भट्टराई, कल्याण गुरुङ यसपटक निर्वाचित भएर आए ।  १२ औं महाधिवेशनमा ११ औं स्थानमा निर्वाचित शेखर कोइराला यसपटक एक नम्वरमा आएका  छन् । अघिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित गगन थापा एक नम्वरमा थिए । यसपटक कोइरालाले १८४८ मत ल्याएर सवैलाई पछि पारेका हुन् । त्यस्तै अघिल्लोपटक तेस्रो स्थानमा रहेका खुमवहादुर खडा दोस्रो स्थानमा उक्लिएका छन् । महामन्त्री निर्वाचित प्रकाशकमान सिंह यसपटक केन्द्रीय सदस्यमा तेस्रो नम्वरमा विजयी भए । पार्टी्भित्र छुट्टै समूह निर्माण गरेका कुलवहादुर गुरुङ यसपटक चौथो स्थानमा आउन सफल भए । देउवा प्यानलमा रहेका गुरुङ कांग्रेसका पुराना नेता हुन । गुरुङले कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार समेत भएका थिए । डा. शेखर कोइराला बाहेक खुला २५ मा  निर्वाचन लडेका ‘डाक्टर’ हरु भने यसपटक पछि धकेलिएका छन् । विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा पुरस्कृत रामशरण महत यसपटक १६ औं नम्वरमा पुगेका छन । अन्तिम २५ मा तत्कालिन सरकारका सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल छन् । २३ र २४ औं नम्वरमा पूर्व उर्जा मन्त्री डा. प्रकाशशरण महत र पूर्व सहरी विकास मन्त्री डा.नारायण खडा छन । पराजिति हुने सूचीमा तीन ‘डाक्टर’ छन्(प्रा डा. गोविन्दराज पोखरेल, डा. भगवानप्रसाद यादव र डा. सुरेशचन्द्र चालिसे । पोखरेल ३३ औं स्थानमा आएका छन् । उनी पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत हुन । चालिसे पूर्व राजदूत र प्रधानमन्त्रीका सल्लाहकारका अनुभव लिईसकेका व्यक्ति हुन् । १२ औं महाधिवेशनमा निर्वाचित मध्ये सूर्यमान गुरुङ, मनोमोहन भट्टराई, महालक्ष्मी उपाध्याय‘डिना’ र मिनाक्षी झा यसपटक पराजित बन्न पुगे । मनोनित केन्द्रीय सदस्य रामकृष्ण ताम्रकारपनि पराजित भए । आदिबासी जनजाति कोटामा निर्वाचित भएका गुरुङ र महिला कोटामा निर्वाचित डिना यसपटक खुला २५ मा प्रतिस्पर्धा गरेका थिए । डिना १२ सय ४९ मतका साथ २८ औं नम्वरमा रहिन भने गुरुङ ६ सय ८५ मतका साथ ४२ औं स्थानमा पुगेका छन् । १२ औं महाधिवेशनमा आदिबासी जनजातिको खुला आरक्षणबाट निर्वाचित धनराज गुरुङ यसपटक खुला २५ बाटै निर्वाचित भएका छन् । खुला २५ मा ९ औं स्थानमा मत ल्याए गुरुङ विजयी भएका छन् । अघिल्लो महाधिवेशनमा निर्वाचित मनोमोहन भट्टराई भने यसपटक ३० औं स्थानमा पुगी पराजित बन्न पुगे । ताम्राकार ३७ औं नम्वरमा पुगेका छन् । पराजित मध्येकी केन्द्रीय सदस्य मिनाक्षी झा अघिल्लो महाधिवेशनमा मधेसी महिला कोटाबाट निर्वाचित भएकी थिइन् । यसपटक उनको ठाउँमा नयाँ अनुहार किरणदेवी यादवको प्रवेश भएको छ । उनी सवैभन्दा बढी मत ल्याई निर्वाचित भएकी हुन् ।
संघीय संरचनामा जाने पहिलो दल
नयाँ संविधान जारीपछि संघीय संरचना अनुसार पार्टीको केन्द्रीय कार्यसमिति संरचना बनाउने कांग्रेस पहिलो दल भएको छ । उसले संघीय ७ प्रदेशबाट दुईरदुई जनाको प्रतिनिधित्व हुने गरी १४ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरुको मुख्य भूमिका आफ्नो प्रदेशको संगठनको गतिविधिमा केन्द्रित हुने छ । कांग्रेस भित्र संघीय कार्यसमितिनै बनाउन दबाव परेको छ । संघीय कार्यसमिति बनाउने बिषयमा छलफल गर्न सभापति देउवाले ६ महिना भित्र महासमितिको बैठक बोलाउने तयारी समेत गरेका छन् । 
विश्वप्रकाशले घाईते भेटेर मनाएँ खुसी
युवा नेता विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमितिको सदस्यमा निर्वाचन भएलगतै  माओवादी जनयुद्धका बेला घाईते भएका पार्टीका कार्यकर्ता दीपेन्द्र गिरीलाई कौशलटारस्थित निवासमा भेटेर खुशी मनाए । उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभेच्छुक र कार्यकर्ताहरुले लगाइदिएको खाँदा गिरीलाई लगाईदिएका थिए । माओवादी आक्रमणमा परी घाइते भएका गिरी हिडडुल गर्न सक्दैनन । ‘खुशी बाड्ने सभापति शेरवहादुर र रामचन्द्र दाईको निवास धाउन भन्दा घाईते गिरीको घरमा आएर खुशी मनाउँदा आफूलाई बेग्लै आनन्द भएको महशुस भएको छ’ शर्माले भने ।
शेखर अस्पताल भर्ना ः अचानक स्वास्थ्यमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अस्पताल भर्ना भएका छन् । आइतबार रातिदेखि डाइरियाले सताएपछि कोइरालालाई बिहान ६ बजे राजधानीको नर्भिक अस्पताल भर्ना गरिएको निजी सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । ‘दौडधूप बढी भएकाले दाइको स्वास्थ्यमा समस्या भइरहेको थियो, चुनावका बेला ४र५ रात सुत्नै पाउनुभएन,’ थपलियाले भने, स्लाइन दिएर क्याविनमा राखिएको छ, अवस्थामा केही सुधार देखिएको छ ।’ अस्पताल भर्ना भएका शेखरलाई भेट्न नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेतृ सुजाता कोइराला लगायतका नेताहरु अस्पताल पुगेको थपलियाले जानकारी दिए । कांग्रेसको १३ महाधिवेसनमा खुल्लातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर जितेका कोइराला अचानक बिरामी परेका हुन् ।










Post a Comment

 
Top