गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका क्रियाशिल सदस्य भोजराज तिमिल्सिनाको निधन भएको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शुक्रबार उनकै निवास कालिका–४, झाँझरमारेमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम नेपाली कांग्रेस कालिका गाउँ कार्यसमितिले आयोजना गरेको हो । इकाइ सभापति भानुभक्त ढकालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कांग्रेस कास्कीका निवर्तमान सभापति एवं सांसद यज्ञबहादुर थापाले कालिका गाविसको विकासमा आफू लागिपर्ने बताएका छन् । स्व.भोजराजको सम्झना गर्दै सांसद थापाले भोजराजको निधनले नेपाली कांग्रेस पार्टीलाई ठूलो क्षति पु¥याएको बताए । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीमा भोजराजको योगदान र भूमिका महत्वपूर्ण रहेको भन्दै उनले उनको योगदानलाई कहिल्यै भुल्न नसकिने बताए ।
कार्यक्रममा कांग्रेस कास्कीका जिल्ला सचिव सुदिपमोहन भट्टराई, जिल्ला सदस्य देवेन्द्र रानाभाट, ओम बस्नेत, क्षेत्रीय सचिव प्रेमकुमार श्रेष्ठ, नेपाल शिक्षक संघ कालिका इकाइका सभापति चिरञ्जीवी पौडेल, कालिका कांग्रेसका पूर्व सचिव रामकृष्ण त्रिपाठी र सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार रामकृष्ण तिमिल्सिना, इकाइ सचिव राजेश अधिकारी, परिवारका तर्फबाट दीपक तिमिल्सिना लगायतले स्व. भोजराजले राजनीति र समाजमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । नेपाली कांग्रेस कालिकाका सभापति भानुभक्त ढकालले स्व. भोजराज आफ्नो अभिभावक समेत भएकाले कहिल्यै भुल्न नसक्ने र उहाँको परिवारलाई सदैव जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
२०१६ साल कार्तिक २ गते कास्की कालिकामा जन्मिएका भोजराजको यहि फागुन ३० गते निधन भएको थियो । उच्च रक्तचापका पीडित उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको थियो । उनी नेपाल शिक्षक संघ कालिकाका सचिव थिए भने नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत थिए । यसका साथै उनी जनज्योति प्रावि कालिकाका प्रधानाध्यापक समेत थिए । उनका श्रीमती, ३ छोरा र ३ छोरी छन् । उनका माइला छोरा श्रीकृष्ण तिमिल्सिना नेविसंघ कालिकाका सभापति हुन् ।
Post a Comment