0
घर घडेरी र प्लटिङका कारण पर्वत सदरमुकाम कुश्माबजार वासीलाई मन बहलाउने स्थानको अभाव देखिएको छ ।  खेलकुदका गतिविधि सञ्चालन गर्न, मेला महोत्सव गर्नसमेत अहिले समस्या सिर्जना भएको छ । केही वर्ष अघिसम्म बजारका विभिन्न ठाउँमा खाली रहेको बारी तथा प्लटिङ गरेकै घडेरीमा मेला महोत्सव गरिन्थ्यो भने अहिले सबै ठाउँ घरले भरिसकेका छन् । यस्तो अवस्थामा सदरमुकामस्थित बान्द्रेबिडी चौरलाई फनपार्क (रमाइलो बाटिकाको) रूपमा विकास गरिने भएको छ । बालबालिका तथा सर्वसाधारणलाई मनोरञ्जन लिन, सबैसँग भेटघाट गर्न र दैनिकजसो परिश्रम गरेर थकित मनलाई बहलाउन मिल्ने गरी फनपार्क निर्माण गर्न लागिएको हो । शिवालय चोकभन्दा केही तलको डिलमा रहेको बान्द्रेबिडी चौरलाई विगत लामो समयदेखि सभा समारोह गर्ने काममा उपयोग गरिँदै आइएको छ । बजारको छेउ र मोदीखोलाको किनारमा रहेको उक्त चौरलाई फनपार्कका रूपमा अहिले विकास गर्न लागिएको हो । स्थानीय जनकल्याण सामाजिक महिला समूहको पहलमा बान्द्रेबिडी चौरलाई फनपार्कका रूपमा विकास गर्ने उद्देश्यले छलफल सुरु गरिएको छ । सदरमुकामको एकमात्र फराकिलो चौरलाई फनपार्क र व्यवस्थित कार्यक्रमस्थल बनाउन सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सानो ठाउँमा कम पूर्वाधार निर्माण गरी पोखरा तथा काठमाडौँमा रहेका फनपार्कको जस्तै रूप दिन योजना अघि सारिएको हो । अहिले विभिन्न चाडपर्वमा आयोजित मेला महोत्सव, राजनीतिक दलका सभा समारोहलगायतका कार्यक्रम सोही स्थानमा गरिँदै आइएको छ । पोखरा–बागलुङ सडक नजिकै रहेकाले पनि उक्त स्थानलाई फनपार्कको रूपमा विकास गर्नसकिने प्रशस्त सम्भावना छ । उनले भने–“सदरमुकाममा एउटा पनि व्यवस्थित बाटिका नहुँदा बालबालिका स्वतन्त्रपूर्वक रमाउन पाएका छैनन् भने सर्वधारण पनि एकान्त र शान्त ठाउँ नपाउँदा समस्यामा देखिन्छन् ।” यस्तो अवस्थामा उक्त चौरलाई रमाइलो बाटिकाको रूपमा विकास गर्न लागिएको गिरीले बताए । जनकल्याण सामाजिक समूहद्वारा बुधबार आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद अर्जुनप्रसाद जोशीले पर्वत सदरमुकाममा व्यवस्थित फनपार्कको खाँचो रहेको बताउँदै बजारको आकर्षण र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नसमेत यसलाई विकास गर्नुपर्ने धारणा व्यक्त गरे। अर्का सांसद कल्पना चापागाईंले महिला समूहकै सक्रियतामा थालिएको फनपार्क निर्माण कार्यलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । आफू सांसद हँुदा पनि र नहुँदा पनि उक्त क्षेत्रको विकासमा २०५१ सालदेखिनै लागेको बताउँदै आवश्यक रकम र अन्य व्यवस्थापनका लागि आफू सक्रियरूपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललेसबै पक्ष एकजुट हुने हो भने यो योजनाका लागि राज्यकै मुख ताक्नु नपर्ने पनि बताए । धौलागिरि अञ्चलमै सबैभन्दा ठूलो मैदान कुश्माबजारस्थित बडागाउँचौरमा द्वन्द्वकालको बेला सशस्त्र प्रहरी बलको चण्डिका गण स्थापना गरिएपछि अहिले पर्वतमा मेला, महोत्सव, खेलकुदलगायतका गतिविधि सञ्चालन गर्न स्थानको अभाव हुँदै आएको छ । रासस

Post a Comment

 
Top