रामचन्द्र पौडेललाई नेपाली कांग्रेस संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरूले सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्। पौडेललाई नेता बनाएर पार्टीभित्र एकताको सन्देश प्रवाह गर्न पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता रामशरण महतले बिहीबार देउवा निवास गएर भेटेका थिए। दलको नेताका लागि पार्टीको निर्वाचन समितिले निर्वाचन कार्यक्रम तय नगरेपनि दलको नेतामा पौडेलले आफूलाई बनाउन देउवालाई आग्रह गरेका थिए। बिहान करिब ४५ मिनेट चलेको भेटवार्ताका क्रममा सिंह र महतले सभापति देउवासमक्ष पौडेललाई पार्टी सभापतिको निर्वाचन पूर्व गरेको प्रतिबद्धता पुरा गर्न आग्रह गरेका थिए। उनीहरूले पार्टीमा भावनात्मक एकताको सन्देश प्रवाह गर्न सहमतिकै आधारमा नेता पौडेललाई दलको नेता बनाउन देउवासमक्ष प्रस्ताव समेत गरेका थिए।
‘तपाईँका लागि सभापति निर्वा्चितपछि पार्टीलाई एकताबद्ध बनाउँदै मिलाएर लैजाने बचनको व्यवहारमा कार्यान्वयन गर्ने यो नै पहिलो अवसर हो,’ नेताद्वयले देउवासँग राखेको भनाई उद्धृत गर्दै देउवा निकट एक नेताले भने,–‘सभापति तपाईँ भएपछि दलको नेता पौडेललाई बनाउँदा बाहिर कार्यकर्तामाझ सकरात्मक सन्देश जान्छ।’ अहिलेको अवस्थामा मुलुकमा विद्यमान राजनीतिक चुनौतिको सामना गर्न पनि पार्टीभित्र एकताको आवश्यकता रहेको उनीहरूले औल्याएका थिए।
जवाफमा देउवाले आफूले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने आश्वासन दिँदै दलको नेता चयनको विषयमा पार्टीभित्र सबै पक्षसँग छलफल र सल्लाह गरी उपयुक्त समयमा निर्णय गर्ने बताए। सभापति देउवालाई भेट्न जानु पूर्व पौडेलले महामन्त्री शशांक कोइराला लगायत सिंह र महतसँग छलफल गरी सहमतिका लागि देउवासँग प्रस्ताव अगाडि बढाउन आग्रह गरेका थिए। पूर्वसभापति सुशील कोइरालाको माघ २५ गते निधन भएपछि कांग्रेस संसदीय दलको नेता बिहिन छ। फागुन २४ गते सम्पन्न पार्टीको १३औं महाधिवेशनमा पौडेललाई पराजित गर्दै सभापतिमा देउवा निर्वाचित भएका थिए। त्यसपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे सहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।
‘समिति गठन लगत्तै होली मनाउन सांसदहरू जिल्लामा रहेकोले दलको निर्वाचनको कार्यतालिका शनिवार वा आइतबारसम्ममा तय गरी चैत २३ वा २४ मा दलको नेता र संसदीय समितिको चयन यही महिना भित्र गरिसक्छांै,’ निर्वाचन समिति संयोजक रिजालले भने। अधिवेशनको परिणामबाट उत्साहित देउवा पक्षले दलको नेतामा विगतकै परम्परा अनुसार गरेर पार्टीलाई संसदभित्र र बाहिर सशक्त बनाउनुपर्ने आफ्नो तयारी अगाडि बढाइरहेको छ।
सभापतिमा पराजित पौडेल भने पार्टीमा भागवण्डाको राजनीति अन्त्य गर्न दलको नेता आफैंले पाउनु पर्ने धारणा बनाई आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीभित्र वातावरण बनाइदिन आग्रह गर्दै आएका छन्।
दलको नेता बन्न पौडेलले देखाएको चाहना विपरित कांग्रेस नेता शेखर कोइरालाले अहिलेको परिस्थितिमा दलको नेतामा पनि देउवाको स्थिति बलियो रहेको विश्लेषण गर्दै पौडेललाई पटक पटक पराजित हुने खेलमा नलाग्न सुझाएका थिए। अर्कोतर्फ आगामी दिनमा संसदीय दलभित्र पनि असन्तुष्ट पक्षको नेताको रुपमा स्थापित हुनसक्ने अवस्थालाई ध्यान दिँदै पूर्वमहामन्त्री सिंह र महत दुबैले आफू प्रतिस्पर्धाका लागि आन्तरिक तयारी गरिरहेका छन्।
यसैक्रममा पौडेलले केही दिन अघि देउवा निकट पार्टी नेता विमलेन्द्र निधिसँग पार्टी्भित्र एक व्यक्ति एक पदको व्यवस्था लागू गर्न प्रस्ताव राखेका थिए। तर निधिले पार्टी महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निवाचनमा जानु पूर्व सहमतिका लागि पौडेल तयार नबन्दा दलको नेतामा देउवाले छाड्न नसक्ने अवस्थाबारे अवगत गराएका थिए। त्यसपछि पनि बुधबार आफ्नै निवासमा भेटवार्ताका लागि पुगेका सभापति देउवासँग दलको नेतामा आफूलाई छाड्न आग्रह गरेका थिए।
पार्टीका साथीहरुसँग छलफल गरी अगाडि बढ्ने धारणा देउवाले पौडलसमक्ष राखेपनि अहिलेको अवस्थामा दलको नेता बन्न देउवाले आफ्नो आन्तरिक तयारीलाई तिब्रता दिइरहेका छन्। दोस्रो संविधानसभा निर्वाचन लगत्तै २०७० माघमा भएको दलको नेताको निर्वाचनमा तत्कालिन सभापति सुशील कोइरालासँग १६ मतले पराजित भएपनि पार्टी सभापति बनेपछि सुविधाजनक बहुमतको स्थितिमा रहेको देउवाको बुझाइ छ। पार्टीले कारबाही फुकुवा गरेपछि महासमिति सदस्य बनेका स्वतन्त्र सांसद अतहरकमाल मुसलमान सहित संसदमा कांग्रेसका २ सय ७ सदस्य रहेका छन्। जसमध्ये अधिवेशन पूर्व कोइराला क्याम्पमा रहेका नेता कृष्णप्रसाद सिटौला, गगन थापासहित झण्डै एक दर्जन सांसदले छुट्टै समूह बनाएर महाधिवेशनमा उत्रिएका थिए। अधिवेशनमा पराजित भएपछि दलको नेता चयनबारे मौन बस्दै आएका सिटौलाले दलको नेतामा पौडेललाई भन्दा देउवालाई नै समर्थन गर्न सक्ने सिटौला निकट सांसदहरुले बताउँदै आएका छन्।
त्यसअतिरिक्त कोइराला क्याम्पबाट अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी, अर्जुन जोशी, फरमुल्लाह मन्सुर, अमृत अर्याल, मधु शाही, सूर्यमान गुरुङ, चन्द्र भण्डारी, केशवकुमार बुढाथोकी, अमरेशकुमार सिंह, मिठु मल्ल लगायत झण्डै डेढ दर्जन सांसदले महाधिवेशनमा देउवालाई समर्थन गरेका थिए। व्यवस्थापिका–संसद्को आधिकारिक वेभसाइटका अनुसार काँग्रेसका अहिले १९८ जना सांसद रहेका छन् । तीमध्ये १०६ जना प्रत्यक्ष निर्वाचित सांसद छन्भने ९२ जना समानुपातिक तर्फबाट सांसद छन् ।
Post a Comment