0
म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविर (बेस क्याम्प) पुग्ने नयाँ पदमार्गको खोजी गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा जिविस म्याग्दी, नेपाल पर्यटन बोर्ड, टान, हिमालयन म्याप हाउस, भिटोफ र मोनाको सहयोगमा राहुघाट क्षेत्रका बस्तीलाई समेटेर तयार भएको उक्त पदमार्गको अध्ययन अवलोकन तथा खोज गरिएको हो । पत्रकार, ट्रेकिङ गाइड, नक्साङ्कन गर्ने प्राविधिक लगायतको १३ जनाको टोलीले धौलागिरि हिमालको कुइनेमङ्गले गाविसमा पर्ने आधार शिविर पुग्ने नयाँ पदमार्गको खोजी गरी हालै फर्किएको छ । राहुघाट क्षेत्रका पर्यटकीय बस्तीलाई समेटेर पहिचान गरिएको पदमार्गको ‘धौलागिरि स्याङचुरी पदमार्ग’ नामकरण गरिएको छ । 
सुन्दर हिमशृङ्खलाको दृश्यावलोकन, जङ्गली जनावर, चराचुरुङ्गी, रङ्गीविरङ्गी गुराँसे जङ्गल, विभिन्न प्रजातिका फूल, ग्रामीण जीवनशैली, मगर तथा छन्त्याल संस्कृति र मनोरम प्राकृतिक वातावरणमा रमाउन पाउनु धौलागिरि स्याङचुरी पदमार्गको प्रमुख विशेषता हो । 
बेनीबाट सुरु हुने धौलागिरि स्याङचुरी पदमार्गको सुरुवाती गाउँ झीँलाई मानिएको छ । झीँबाट सुरु भएको पदमार्गको यात्रा झन्डै एक सातासम्म रहने पदमार्गको अध्ययनका लागि बेस क्याम्प पुगेका हिमालय म्याप हाउसका अध्यक्ष पवन शाक्यले बताए । “यो पदमार्ग एकदमै सम्भावनायुक्त छ, विदेशी पर्यटकले नयाँ स्थानको खोजी गरिरहेको बेलामा यो रुटलाई निकै महत्वका साथ हेरिएको छ”, उहाँले भने । धौलागिरि स्याङचुरी पदमार्गको अन्वेषणअन्तर्गत पहिलो चरणमा नक्साङ्कन गरिएको छ । त्यसपश्चात् भौतिक पूर्वाधार निर्माण गर्ने, सूचनामूलक सङ्केत बोर्ड राख्ने, स्थानीयवासीलाई तालिम प्रदान गरेपश्चात् पदमार्गको शुभारम्भ गरिने म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिए।
रघुगङ्गाको किनारैकिनार यो पदमार्ग भएकाले पदयात्रीलाई यात्राको फरक अनुभूतिसमेत हुनेछ । बाटोमा जाँदै गर्दा कालीबराह, दुबुकी लगायतका पिक हिमालसमेत देख्न सकिन्छ । पदमार्गको विकासका लागि स्थानीयवासीसमेत निकै उत्साहित देखिएका छन् । घ्यासीखर्कका युवा अइमान छन्त्यालले यो पदमार्ग जसरी पनि चाँडोभन्दा चाँडै खुलाउन आवश्यक रहेको भन्दै स्थानीयवासीका तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताए ।
यो पदमार्ग तत्काललाई क्याम्पिङ गर्न चाहने पर्यटकका लागि उपयुक्त रहेको छ । बेनीबाट सुरु भएको यात्राको झीँमा पहिलो दिनको बसाइ हुनेछ । झीँँबाट कोटगाउँ, घ्यासीखर्क हुँदै बेसक्याम्पस पुगेपछि पुनः घ्यासीखर्क चिमखोला–दर्मिजा–दग्नाम–मौवाफाँट–पवित्र धार्मिकस्थल गलेश्वर हुँदै बेनी आएर पदयात्रा पूरा हुन्छ । रासस 






Post a Comment

 
Top