0
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका छन् । कांग्रेसको १३औँ महाधिवेशनमा पहिलो स्थान बनाएका देउवाले कार्यवाहक सभापति रामचन्द्र पौडेललाई भारी मतान्तरले हराउँदै सभापति पदमा निर्वा्चित भए । कुल ३१४० मत खसेकोमा देउवाले १८२२ र पौडेलले १२९६ मत प्राप्त गरे । महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको अनुमान र अपेक्षाविपरीत देउवाले ५२६ मतान्तरले पौडेललाई पराजित गर्न सफल भए । सुशील कोइरालाको निधनपश्चात् कांग्रेस नेतृत्व कसले हत्याउने भन्ने विषयमा धेरै बहस भए पनि यसै भन्न सकिने अवस्था थिएन । सभापतिमा संस्थापन पक्षबाटै पौडेल र महामन्त्री कृष्ण सिटौला सभापतिको आकांक्षी बनेपछि देउवाको पल्ला भारी हुने निश्चित भएको थियो । त्यसमा पनि राजनीतिक प्रखर खेलाडीका रुपमा चिनिने अर्जुननरसिंह केसी देउवा क्याम्पमा प्रवेश गरेपछि राजनीतिले कस्तो मोड लिन्छ भन्ने आँकलन हुन सकेको थिएन । १०औंँ र १२औं महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवाको उदयले कांग्रेसमा नयाँ तरङ्ग सृजना भएको छ । देउवाको विजयसँगै दुई दशकभन्दा अघिदेखिको कोइराला विरासतको अन्त्य भएको छ । लोकतान्त्रिक पद्धतिमा निर्वाचनमा हार र जित सामान्य कुरा हो । मुलुककै पुरानो र ठूलो दलमा लोकतान्त्रिक अभ्यासमार्फत आन्तरिक प्रतिस्पर्धा हुनु अनिवार्य सर्त हो । देउवाको विजयले कांग्रेसमा देखिएको भागबन्डा र गुटबन्दी अन्त्य हुने विश्वास गरिएको छ । त्यसका लागि देउवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने छ । देउवा सभापति भएसँगै कांग्रेस महाधिवेशनले एकताको सन्देश दिएको छ । चुनावी परिणामलाई लिएर राजनीतिक वृत्तमा अनेक विश्लेषण हुन थालेका छन् । पार्टीलाई एक बनाएर पार्टी संगठनलाई सबल र सक्षम बनाउने अभिभारा देउवाको काँधमा आएको छ । चुनावी प्रतिस्पर्धाका क्रममा ‘सुदृढ कांग्रेसका लागि दृढ देउवा’ नारा दिएर प्रचारप्रसार तीव्र बनाइएको थियो । देउवाले आफ्नो चुनावी नाराअनुसार कांग्रेसलाई सुदृढ बनाउनु जरूरी छ । तीन पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवा कांग्रेसमा कोइराला विरासतका कारण प्रतिस्पर्धामा उत्रिएर पनि नेतृत्वमा पुग्न सकेका थिएनन् । विभिन्न राजनीतिक कालखण्डमा चर्चा कमाएका देउवाको नेतृत्वमा कांग्रेसलाई योगदान दिएका नेता तथा कार्यकर्ताहरुको राजनीतिक भविष्य सुनिश्चित हुने विश्वास दिलाउनु आवश्यक देखिएको छ । आफ्नै इतरका समूहलाई काखी च्याप्ने र संस्थापन तथा युवा समूहलाई पाखा लगाउने काम देउवाबाट हुनुहुँदैन, त्यसले गुटबन्दीकै राजनीतिलाई बढवा दिन्छ । हुन त, पार्टीबाहेक आफ्नो कुनै स्वार्थ नरहेको बताउँदै आएका देउवाले सबैलाई समेटेर अघि बढ्ने उद्घोष गरिसकेका छन् । २०२० सालदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका देउवा २०२८ सालमा नेविसंघको पहिलो निर्वाचित सभापति भएका थिए । विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहेका उनी पटकपटक एक दशकभन्दा बढी समय जेलनेल भोगिसकेका छन् । ०४८ सालदेखि संविधानसभाको दोस्रो निर्वाचनसम्म पटकपटक चुनाव जितेका उनी सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भाग्यमानी नेता मानिन्छन् । देउवाले कांग्रेसलाई कसरी अघि बढाउँछन्, त्यसले कांग्रेसको भविष्य निर्धारण गर्नेछ । सबैभन्दा ठूलो चुनौती संविधान कार्यान्वयन गर्नुछ । सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको हुँदा त्यसलाई कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसकै हातमा छ । त्यसैले, सहमतीय राजनीतिलाई कायम राख्दै मुलुकको आन्तरिक मुद्धाहरुको छिनोफानो गर्नुपर्ने छ । कांग्रेस संगठनलाई सक्षम बनाउँदै मुलुकको निर्माणमा जुट्नुपर्ने छ । यी अभिभाराका लागि देउवाको नेतृत्व फलदायी बनोस्, शुभकामना !








Post a Comment

 
Top