0
प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणले नेपाल–चीन सम्बन्ध झनै सुदृढ बनेको मात्र छैन, मुलुकको आर्थिक विकास र समुन्नतिका लागि नयाँ गति लिने विश्वास गरिएको छ । भारत भ्रमणको एक महिनापश्चात् गरिएको चीन भ्रमणले आपसी विश्वास र समझदारीमा वृद्धि हुन गई राजनीतिक सम्बन्धसमेत सुदृढ गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पारवहन, यातायात, भौतिक पूर्वाधार, लगानी, ऊर्जा, पर्यटनलगायतका विषयमा छलफल एवम् समझदारी कायम भएको छ । यसले तत्कालका लागि कुनै उपलब्धि नभए पनि दीर्घकालीन रुपमा प्रभाव पार्ने देखिएको छ । चीन भ्रमणमा इन्धन÷ग्यासको विकल्पबारे कुनै सम्झौता भएन । तर चीनले हिल्सास्थित सीमा नाकामा पुल निर्माण गरिदिने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण तथा सहुलियत ऋण उपलब्ध गराउने, चिनियाँ सहयोगमा नेपालमा तेल तथा ग्यासको अन्वेषण गरिनेजस्ता सम्झौता भएका छन् । नेपालमा तेल र ग्यासको प्रशस्त सम्भावना रहे पनि यसबारे अध्ययन, अनुसन्धान हुन सकेको छैन । नेपाली पक्षले यस सम्बन्धमा अध्ययन गर्न आवश्यक ठानेको पनि भारतीय नाकाबन्दीपश्चात् नै हो । समयमै यस विषयमा अन्वेषण हुन सकेको भए नेपालको परनिर्भरता घट्ने थियो । जे होस् भविष्यमा तेल र ग्यास उत्खनन भयो भने त्यसमा चिनियाँ सहयोग प्राप्त हुने निश्चितता प्रधानमन्त्रीको भ्रमणले गरेको छ । चीनदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्ग विस्तारसम्बन्धी चिनियाँ पक्षले चासो व्यक्त गरेको छ । नेपालमा रेलमार्ग जोडिन सक्यो भने नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिनेमात्र होइन, आर्थिक समृद्धिमा पनि ठूलो फड्को मार्न सकिने छ । नेपाल चीनबीच स्वतन्त्र व्यापार गर्ने सम्बन्धमा पनि ओलीको भ्रमण महत्वपूर्ण मानिएको छ । सबैभन्दा प्रमुख कुरा त नेपालको आन्तरिक राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेपकारी भूमिका नखेल्ने चीनले नेपालको नयाँ संविधानलाई ऐतिहासिक उपलब्धिका रुपमा खुलेर स्वागत गरेको छ । भारतले संविधान जारी गर्नुअगावै असन्तुष्टि जनाएको थियो । प्रतिक्रियाका रुपमा पाँच महिना लामो नाकाबन्दी लगायो । प्रधानमन्त्रीको भारत भ्रमणपश्चात् पनि उसले संविधानको स्वागत गर्नुको साटो संविधान संशोधन गर्न सुझाव दिँदै आएको छ । छिमेकी देशले गर्नुपर्ने जुन भूमिका राष्ट्रले चाहेको थियो, यो भूमिका चीनले निभाएको छ । उसो त प्रधानमन्त्रीले दुबै छिमेकीसँगको सम्बन्धको आ–आफ्नै चरित्र र आधारहरु भएकाले एकअर्कासँग तुलना हुन नसक्ने जनाएका छन् । ओलीको चीन भ्रमणका अवसरमा महत्वपूर्ण पारवहन यातायात सम्झौता भएको छ । यसले भूपरिवेष्टित मुलुकका रुपमा नेपालले समुद्रसम्म पुग्ने अधिकार र चिनियाँ भूभागबाट निर्वाध रुपमा पारवहन स्वतन्त्रता पाउने भएको छ । दुर्ई देशबीच स्थल तथा हवाई सम्पर्क बढाउने, स्थल यातायात पूर्वाधार सुदृढ बनाउने, अन्तदेशीय सडक तथा रेल सञ्जाल निर्माण गर्ने, अरनिको र स्याफ्रुबेसी राजमार्ग मर्मत गरी सञ्चालनमा ल्याउनेजस्ता विषयमा उपलब्धि भएका छन् । नेपाल र चीनले सम्झौता संयुक्त विज्ञप्ति जारी गरेर दुई देशको सम्बन्ध सुदृढ रहेको प्रमाणित गरेका छन् । यसबाट प्रधानमन्त्रीको चीन भ्रमणले नयाँ आशा जगाएको अनुभूति गरिएको छ ।











Post a Comment

 
Top