सुदीप कैनी
नेपाल घुम्न आएका बेलायती राजकुमार ह्यारी एक पटक गोरखा आउने अनुमान पहिले नै गरेको थिए । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक थियो । ब्रिटिश सेना सँग गोरखाको पनि इतिहास र साईनो जोडिएको थियो । गोरखामा ह्यारी आउने हल्ला महिना दिनअघि नै थियो । यी कुराले अनुमानलाई झनै बलियो बनाएको थियो । बर्दिया, लम्जुङ लगायत स्थानको औपचारिक भ्रमण पछि प्रिन्स ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा अनौपचारिक रुपमा विद्यालय भवन बनाउन श्रमदान गर्ने इच्छा व्यक्त गरेका थिए । त्यहि इच्छा पुरा गर्न उनले नेपाल बसाईलाई ६ दिन लम्ब्याए । ११ गते साँझ गोरखा सदरमुकाममा फेरि हल्ला फैलियो । राजकुमार ह्यारी सुटुक्क कुनै बस्तीमा विद्यालय भवन बनाउने उद्देश्यले आएका छन् । उनको भ्रमणलाई नेपाली संचार माध्यमले प्राथमिकता दिएका थिए । सर्वसाधरण स्रोता, पाठक र दर्शकलाई पनि उनी बारे चासो थियो । उनले भ्रमणलाई व्यक्तिगत भनेर गोप्य राख्न खोजेपनि आम सरोकारका कारण उनी कहाँ छन ? भनेर सोधी खोजी गर्न बाध्य भईयो । संचार माध्यमको काम झनै कसैलाई थाहा नभएको कुरालाई पत्ता लगाएर सार्वजनिक गर्नु हो । प्रिन्स ह्यारीले प्राइभेसी भन्दै गोप्य राख्न खोजेको उनका गतिविधि थाहा पाउन झनै उत्साह जाग्यो ।
एउटा संवाददाताका हैसियतले उनी कहाँ छन् ? के गर्दै छन् ? भन्ने कुरा पत्ता लगाउनुलाई आफ्नो दायित्व ठानें । प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, एसपी जनकराज पाण्डे, गणपति शिवराज पन्त देखि सुरक्षा निकायको उच्च तह सम्म टेलिफोन घुमाए । केहि पत्तो लागेन । उनी गोरखा आएको दिन चैत्र ११ गते थियो । रात छिपिदैं गयो । विभिन्न स्रोत सँग सोधी खोजी गर्दा पनि केही पत्ता लागेन । करिब ५ घण्टा उनको बारेमा जानकारी लिन टेलिफोनमा विभिन्न निकाय सम्म समय खर्च गरे । ती निकाय सँगको टेलिफोन कुराकानीमा करिब करिब उनी गोरखा आएको निश्चित भयो । अब कुन गाविसको कुन ठाउँमा छन ? पत्ता लगाउनु थियो । बिहानै उठेर फेरि गुमनाम हृ्यारीको सोधी खोजी सुरु गरे । अनुमानको भरमा कसैले भूकम्पको केन्द्रबिन्दु बारपाक गएको, कसैले लाप्राक तिर भएको कसैले भच्चेक एरिया तिर गएको हचुवा कुरा बताए । सुरक्षा निकायका प्रमुखहरु उनको बारेमा केही थाहा नभएको बताउँथे । १२ गते विहान १० बज्यो । केहि पत्तो लागेन । सुरक्षा निकायका एक उच्च अधिकारीले राजकुमार हृ्यारी गोरखाकै मनासलु सर्किट आसपास हुन सक्ने प्रारम्भिक सुचना दिए । त्यसपछि ध्यान मोडियो । मनासुल पदमार्गको प्रवेश गर्ने आरुघाट बजार तिर ।
फोनबाट सोधी खोजी गर्दै जाँदा लापु गाविस–३ को प्रभातकिरण माविको भवन विदेशीहरुले बनाई रहेको जानकारी प्राप्त भयो । अब कुन बिदेशीले बनाएको पत्ता लगाउनु थियो । कुराकानीकै क्रममा एक स्रोतले ह्यारीले बेलायती संस्था रुविकनको टिममा काम गर्ने बताएका थिए । लापुमा रुविकन टिमले काम गरेको थाहा भएपछि त्यसतर्फ जाने निर्णय गरियो । सदरमुकामबाट मोटर साईकल चढेर हिंडियो । बाटोमा पुगेपछि हृयारी अघिल्लो दिन आरुघाट बजारमा माक्र्स किनेर त्यसतर्फ गएको थप पुष्टि भयो । ३ घण्टा भन्दा बढी कच्ची सडकमा मोटरसाईलमा गुडेपछि थुमीको सोती बजार पुगियो । त्यहाँबाट ह्यारी छन भनेको स्कुल पुग्न दुई घण्टा पैदल हिड्नु पर्यो । भूकम्पपछिको पहिरोले जोखिमपूर्ण रहेको मनासुल पदमार्गमा यात्रा सुरु गरियो । साँझ सम्म पुग्ने नपुग्ने ? ह्यारी छन छैनन ? अन्यौल कायमै थियो । स्थानिय सँग टेलिफोनमा सोध्दा कोही ह्यारी जस्तै भएको बताउँथे । केहीले नआएको बताए । एक पटक लापु पुगी छाड्ने उद्देश्य बोकेर अघि बढ्यो । मनमा अन्तै कतै पो भेटिने हुन कि भनेर चिसो पस्थ्यो बेला बेला ।
बुढीगण्डकी नदिको तिरैतिर भिरको बाटो हिडेर झण्डै ४ः३० बजे लापु बेशी पुगियो । रुविकन टिमको एउटै पोशाक लगाए करिब १० जना युवायुवती धमाधम ढुङ्गा फुटाउने काम गरि रहेको थिए । उनीहरुले गरेको काम मेसिन चले जस्तै देखिन्थ्यो । अर्को पट्टी एउटा भवन तयार हुदैं थियो । स्थानियबासी सँग ह्यारी खै ? भनेर सोधियो । उनीहरुले मिश्रति जबाफ दिए । एक जना युवाले अलि कडा जबाफमा उत्तर दिए ’हाम्रा मन्त्री आउँदा त कस्तो तामझाम हुन्छ । बेलायतको राजकुमार सुटुक्क यस्तो गाउँमा आउँछ ।’ अघिल्लो दिन देखिको परिश्रम व्यर्थ हुने सम्भावना बढेर गयो ।
कुराकानीकै क्रममा स्थानीय शिक्षकहरुले ह्यारीले बिहानभर डोकोमा ढुङ्गा बोक्ने र फुटाउने काम गरेर स्थानीय होटलमा सुत्न भएको बताए । आफ्नै आँखाले नदेखि कसरी हो भन्ने ? होइन भनौं भने केही स्थानिय आएको छ भन्छन झन दोधार बढेर गयो । अर्को एक जनाले कानमा सुटुक्क भने ’ह्यारी अलि परको भूकम्पले भत्केको लघु जलविद्युत आयोजना बनाउन जानु भएको छ, अहिले यहि बाटो र्फकनु हुन्छ । उनलाई त्यहि बाटो ढुकेर साँझ सम्म बस्ने निर्णय गरे । साँझ पर्न लाग्यो उनी आएनन । उल्टो बेलायती सेनाका एक जना आएर सोधी खोजी गर्न थाले । कहाँ जान लाग्नु भएको ? कहाँबाट कहिले आउनु भएको ? कति दिन बस्ने ? उनले सशस्त्र द्धन्द्धको बेला माओवादीको आधार शिविर पुगे जस्तो झल्को दिने गरि छड्के प्रश्न गरे । उनलाई छलेर बिस्तारै जलविद्युत आयोजना भएतिरै जाँदै थिए । अगाडि दुई जना बीचमा एक जना अनि पछाडि ५ जना रुविकन लेखेको एउटै पोशाक लगाएका व्यक्तिहरु आउँदै थिए । उनीहरुले निर्माण सामग्री पनि बोकेका देखियो । सबैको अनुहारमा आँखा घुमाए । बिचमा एक्लै हिड्ने बेलायती राजकुमार ह्यारी थिए । उनी सँग बाटोमा नै जम्काभेट भयो । पछाडी झोला बोकेका थिए ।
ह्यारीले टाठोटाठो आँखा बनाएर म तिर हेरे । म फोटो खिच्न थाले । उनले मुन्टो बंगाए । टोलीका अर्को आएर उनलाई छेकी दिए । टोली अघि बढ्यो । म गतिलो फोटो कैद गर्न नपाएकोमा चुकचुकाए । उनीहरु त्यहाँबाट सिधै २० मिनेट परको बास बस्ने स्थानिय लापु गेस्ट हाउसमा प्रबेश गरे । गोरखाबाट थप पत्रकार साथीहरु पनि आईपुगे । हामीले उनी बास बसेको भन्दा ५० मिटर परको लक्ष्मी होटलमा कोठा लियौ । गोरखाबाट गएका साथीहरु ह्यारी खोज्दै गेष्ट हाउसमा गएछन् ।
राजकुमारका सहयोगी उमेश पुनले उनको भ्रमण र गतिविधि व्यक्तिगत भएको भन्दै समाचार नलेख्न आग्रह गरेका थिए रे । तर हामीले आफ्नो मिडिया हाउसमा समाचार पठायौ । उनको गोरखा बसाई गोप्य राख्न स्थानीयबासीलाई ह्यारी त्यहाँ भएको कसैले थाहा पाए । विद्यालय लगायत त्यहाँ गरिने सहयोग फिर्ता लैजाने भनिएको रहेछ । स्थानियबासीले हामी त्यहाँ पुगेकोमा खासै खुसी व्यक्त गरेनन् । बरु त्यहाँ नबस्न दुखेसो पोखे । हाम्रो गतिविधि हेर्न स्थानीय युवा परिचालन गरेको थाहा पाईयो । केही अगुवा स्थानीय बाहेक अरुलाई बेलायती सेनाको प्रमुख त्यहाँ आएको बताईएको रहेछ । ठुला मान्छे आउने भन्दै स्वागत सत्कारमा ध्यान दिन भनिएको स्थानियले बताए । चित्त बुझ्ने गरि रिपोटिङ गर्न र फोटो खिच्न पाईएको थिएन । भोली पाईन्छ पाईदैन भन्ने चिन्ताले राम्रो निन्द्रा परेर । अप्ठ्यारो बाटो भएर पुगेको थकाईले पनि शरीर गलाएको थियो । बिहान उठ्दा पनि थकाई मरि सकेको थिएनन । साईड रिपोटिङका लागि गाउँ निस्कियौं । बेलायती सेनाका एक र उमेश पुन त्यहि आई पुगे । तपाईहरु अहिले सम्म जानु भएको छैन भनेर उनले प्रश्न गरे ।
हिजो नै तपाईहरुलाई राजकुमारको वरिपरि घुम्न पाईदैन भनेको राति नै जानु भयो होला भनेको अहिले सम्म किन नगएको भनेर उनले प्रतिप्रश्न गरे । समाचार लेखे उनले ह्यारी अदालत जाने चेतावनी दिए । हामीले उनीहरुलाई हाम्रो कारण बाधा पुग्ने भए हामी र्फकन तयार रहेको बतायौं । त्यति बेला बिहानको ८ बज्दै थियो । ह्यारी कोठाबाट बाहिर पनि देखिएनन । स्थानियबासी पनि सहयोग फिर्ता जाने चिन्ताले हामी त्यहाँ नबसे हुन्थ्यो भन्ने पक्षमा थिए । हामी लापुबेशीबाट सदरमुकाम फर्केने निर्णयमा पुग्यो । होटल साहुनी लक्ष्मी दिदिलाई गाँउले र ह्यारीको टोलीलाई सरी भन्दिनु है भन्दै आरुघाट तर्फ अघि बढ्यौ । ह्यारी हिडेर गएको त्यही मनासलु पदमार्गको बाटो हुँदै ।
इकान्तिपुरबाट
Post a Comment