0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतबार साँझ मतदान सकिएको छ । निर्वाचन अधिकृत धर्म खनालका अनुसार ३ हजार १ सय ४८ मत खसेको छ । कांग्रेसमा कुल मतदाता ३ हजार १ सय ६१ थिए । १३ जनामात्रै अनुपस्थित रहे । बिहान ८ भनिए पनि सवा ९ बजेबाट सुरु भएको मतदान साँझ ७ बजे सकिएको हो । सभापति पदको मतगणना आइतबारै राति हुने बताइन्छ । साँझ आएको हावाहुरीले निर्वाचन स्थलको टेन्ट खसेपछि सामान्य अस्तव्यस्तता देखिएको थियो । हावाहुरीका कारण टेन्ट नै उडाएको थियो । मतपेटिकाहरुलाई प्रहरीलाई प्रहरीले सुरक्षा दिएको थियो । मतदानका लागि टेन्ट टाँगेर बुथहरु बनाइएको थियो । मतदान अन्तिम चरणमा पुगेको बेला हावाहुरीले टेन्ट उडाएपछि मतदान प्रभावित भएको थियो । हावाहुरी रोकिएपछि पुनः मतदान शुरु भएको थियो । हावाहुरीका कारण टेन्ट उठाउँदा र टेन्ट टाँग्न बनाएको रडले लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा ओखलढुंगाकी सरिता राई, चितवनकी सृजना अधिकारी र सिराहाका राम यादव घाइते भएका छन् ।  
यसैबीच कांग्रेस सभापति पदको मतगणनामा केही ढिलाई भएको छ । राति १० बजेदेखि सुरु गर्ने भनिएपनि ११ बजेसम्म मतगणना प्रारम्भ हुन सकेको थिएन। मतदान अधिकृत धर्म खनालले एक घण्टापछि मात्र मतगणना प्रारम्भ हुन सक्ने जानकारी दिए । राति साढे ९ बजेमात्रै ६४ वटा सबै पदको मतदान सकिएको भन्दै खनालले मतदानमा खटिएका कर्मचारीको खानासमेत बाँकी रहेकाले निर्धारित एक घण्टापछि मात्रै मतगणना प्रारम्भ हुनसक्ने बताए । सभापति, महामन्त्री, कोषाध्यक्ष सहित आरिक्षत केन्द्रीय सदस्य तर्फको मतदान साँझ ७ बजे सकिएपनि खुला र प्रदेश तर्फको मतदान सक्न ढिलाई भएको हो । ‘साँझ आएको हावा हुरीले मतदान केही बेर प्रभावित भएको हो,’ खनालले भने ।
सभापतिको मतपेटिका ३ वटा रहेको र तीन स्थानमा एकै साथ मतगणना थालिने उनले जानकारी दिए । मतगणना अघि तीन जना सभापति उम्मेदवारका  प्रतिनिधि हरु राखेर मतगणनाको प्रक्रिया बारे सहमति गरिने खनालले बताए । दोस्रो चरणको निर्वाचनको आवश्यकता परे सोमबार गरिने उनले जानकारी दिए ।
पार्टीको विधान अनुसार सभापति पदका लागि निर्वाचित हुनेले ५० प्रतिशतभन्दा कम्तीमा एक मत बढी ल्याउनुपर्ने हुन्छ । आइतबारको निर्वाचन परिणामबाट  कुनै उम्मेदवारले त्यती मत नल्याए सभापतिका लागि सोमबार दोस्रो चरणको निर्वाचन हुनेछ । सभापतिका लागि दोस्रो चरणमा हुने निर्वाचनमा बढी मत ल्याउने २ जनाबीच प्रतिस्पर्धा हुने र त्यसमा साधारण बहुमत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।
यसैबीच नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा १३ जना महाधिवेशन प्रतिनिधिले सभापति पदका लागि कुनै उम्मेद्वारलाई भोट खसालेका छैनन्। महाधिवेशनमा प्रतिनिधि बनेर आएका ३१ सय ६१ जना मध्ये ३१ सय ४८ जनाले मात्र सभापति पदका लागि मतदान गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
यता, मनोनित प्रतिनिधिले केन्द्रिय समिति निर्वाचनमा भोट हाल्न नपाएको विषयले काँग्रेसमा संस्थापन र देउवापक्षवित तीव्र बिबाद चुलिएको छ । बिधानअनुसार सभापतिले मनोनित गरेका ३० जना प्रतिनिधिलाई मतदान गर्नका लागि निर्वाचन समतिले रोकेपछि विबाद चुलिएको हो । बिबादपछि संस्थापन पक्षले ३० जनाले मतदान गर्न नपाए मतगणना कार्य अगाडि बढ्न नदिने र अदालत जाने बताएको छ । 
‘बन्द सत्रमा सहभागी भएर महाधिवेशनका अन्य सबै प्रकृयामा भाग लिनेले मतदान गर्न नपाउने भन्ने कसरी हुन्छ’ संस्थापन निकट एक नेताले  भने–‘उहाँहरुलाई भोट हाल्न नदिएसम्म मतगणना रोकिन्छ, हामी अदालत जान्छौँ ।’ काँग्रेसको विधान अनुसार निर्वा्चित सभापतिले ३० जना महाधिवेशन प्रतिनिधी मनोनित गर्ने व्यवस्था छ । तत्कालिन सभापति स्व.सुशिल कोईरालाले उनीहरुलाई मनोनित गरेका थिए । मनोनित प्रतिनिधीले बन्दसत्रमा भाग लिएर नीति कार्यक्रम लगायतका प्रतिबेदनमा छलफमा सहभागी भईसकेको तर मतदान मात्र गर्न नदिएको संस्थापन पक्षको भनाई छ । तर देउवापक्षका महामन्त्रीका उम्मेदवार अर्जुननरसिँह केसीले भने मनोनित प्रतिनिधिको अन्तिम मतदाता नामावलीमा नाम नै नभएकोले भोट हाल्न नपाउने बताएका छन् । ‘अन्तिम मतदाता नामाबली प्रकाशनको बेला उहाँहरुले दावी नगर्ने अनि अहिले बिबाद गरेर कहाँ हुन्छ?’ उनले भने ‘मतदाता नामावलीमा नाम नै नभएको व्यक्तिले कसरी भोट हाल्ने ?’ अहिले यसै विषयमा देउवा र संस्थापन पक्षका छुट्टाछट्टै अनौपचारीक बैठक बसीरहेका छन् । निर्वाचन समतिले समेत छलफल गरीरहेको छ । बिबादका कारण सभापतिको मतगणना पनि अनिश्चित बनेको छ ।









Post a Comment

 
Top