0
गोल्डेन न्यूज संवाददाता
नेपालको हिन्दूधर्म र संस्कृतिको पछिल्लो अवस्थाबारे पोखरामा छलफल भएको छ । राष्ट्रिय धर्मसभा नेपाल कास्की शाखाद्वारा आयोजित एक धार्मिक छलफलमा बोल्ने वक्ताहरुले हिन्दूधर्ममाथि आक्रमण हुनेक्रम नरोकिएको र सदिऔंदेखि चलिआएको संस्कृति परम्परा लोप हुँदै गएको भन्दै यस विषयमा सबै  क्षेत्रको चासो जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै हरिहरनाथ मुक्तिनाथ यात्रा आयोजक समितिका अध्यक्ष एवं भारतीय जनता पार्टीका केन्द्रीय सदस्य गोपाल नारायण सिंहले नेपालको हिन्दूधर्म र संस्कृतिप्रति सबै क्षेत्रको चासो बढ्दै गइरहेको बताए । नेपालमा धर्म निरपेक्षता लागू गरिएपछि नेपालको हिन्दूधर्म पनि संकटमा रहेको भन्दै सिंहले नेपालको असल छिमेकी हुनुको नाताले नेपालको हिन्दूधर्म र संस्कृतिप्रति भारत र भारतीय नागरिकको विशेष चासो भएको बताए । 
कार्यक्रमका प्रमुख अतिथि एवं भारतका पूर्व प्रदेश अध्यक्ष समेत रहेका उनले नेपाल र भारतबीचको धार्मिक सम्बन्ध सुमधुर रहेको स्पष्ट पार्दै धार्मिक जागरणकै लागि आफू चौथो पटक मुक्तिनाथ यात्रामा आएको स्पष्ट पारे । आफू धार्मिक जागरणका लागि धार्मिक यात्रामा नेपालमा आउँदा यसबारे चासो बढ्दै गइरहेको दावी गर्दै यो यात्रा आगामी वर्ष विशेष अभियानका साथ संचालन हुने स्पष्ट पार्दै उनले यस बारेमा नेपाल सरकारलाई जानकारी गराइसकेको बताए । धार्मिक जागरका भारत सरकारले विशेष चासो देखाउने गरेको स्पष्ट पार्दै सिंहले नेपाल सरकारले पनि यसमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ भारतका पूर्व क्षेत्रीय प्रमुख सुवेदारजीले नेपालको हिन्दूधर्मका विषयमा विश्वको ध्यान केन्द्रित भएकाले नेपाली हिन्दूहरुको अपमान हुने काम कहिंकतैबाट हुन नहुने बताए । उनले आफूहरुको धार्मिक यात्रालाई नेपाल र नेपालीले चासो दिने हो भने धार्मिक पर्यटकमा वृद्धि हुने स्पष्ट पारे । 
कार्यक्रममा हरिहरनाथ मुक्तिनाथ यात्राका केन्द्रीय सदस्यहरु अनुप परमार, विनय यादव, ठाकुर बराल, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य केशवराज भण्डारी, कास्की सदस्यहरु अधिवक्ता कृष्ण चापागाइँ, विष्णु सुवेदी लगायतले पनि हिन्दूधर्म र आगामी रणनीति बारे आ–आफ्नो भनाइ राखेका थिए । धर्मसभा नेपाल कास्कीका अध्यक्ष टेकन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पं.दीपक सापकोटाले धन्यवाद ज्ञापन र सचिव रामनाथ अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।
भेलाले हरिहरनाथ मुक्तिनाथ यात्रालाई सघाउन पुर्याउने उद्देश्यले कमिटी गठन गरिएको छ । कमिटीका राष्ट्रिय धर्म सभा नेपाल कास्कीका सबै पदाधिकारी एवं सदस्यहरु रहने र अन्य धार्मिक संघ–संस्थासंग छलफल गरि ५०१ सदस्यीय कमिटी बनाइने बताइन्छ । यसैबीच हिन्दू जागरण नेपाल कास्कीले महाशिवरात्रिको अवसर पारि सोमबार गुप्तेश्वर महादेव गुफामा सहभागी भक्तजनालाई पानी वितरण गर्ने भएको छ । नेपालको मौलिक धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापित हिन्दू जागरण नेपालले विभिन्न मन्दिर तथा धार्मिक स्थलहरुमा पर्चा वितरणका साथै धार्मिक गतिविधि लगायतका कार्यक्रम गर्दै आइरहेको अध्यक्ष परमेश्वर बस्ताकोटीले जानकारी दिए ।

Post a Comment

 
Top