0
गोल्डेन न्यूज संवाददाता
जिल्ला विकास समिति अन्तर्गत रहने आदिवासी जनजाति, महिला, दलित र अपाङ्गहरुको समन्वय समितिमा स्थानीय विकास मन्त्रालयले नयाँ नियुक्ति गरेको छ । यसअघि नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वमा रहेको सरकारका बेला स्थानीय विकास मन्त्रालयले गरेको नियुक्तिलाई खारेज गर्दै अहिले स्थानीय विकास मन्त्रालयमार्फत नै नयाँ नियुक्ति गरिएको हो । हाल राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको कारण नयाँ नियुक्ति पाउनेहरु राप्रपा नेपालका कार्यकर्ताहरु रहेका छन् ।  नयाँ नियुक्तिमा पर्नेहरु मध्ये आदिवासी जनजाति जिल्ला समन्वय समिति कास्कीको उपाध्यक्षमा पोखरा–१ हाल पोखरा–३ का मोतिमान शाक्य रहेका छन् । उनी राप्रपा नेपालको कास्की जिल्ला सदस्य हुन् । यसअघि पोखरा उप–महानगरपालिका र तत्कालिन नगर पञ्चायतमा निर्वाचित तथा मनोनित गरि ४ पटकसम्म पोखरा–१ को वडाध्यक्ष भएर काम गरेका शाक्य राप्रपा विभाजन नहुँदा पार्टीको क्षेत्रीय अध्यक्ष समेत रहेर काम गरेका थिए । सामाजिक क्षेत्र र खेलकूदमा समेत रुचि राख्ने ७० वर्षीय उनी  कास्की जिल्ला फुटवल संघका पूर्व अध्यक्ष समेत हुन् । सद्धर्मसभा धर्मसंघ बुद्धबिहार मोहरिया टोलको पूर्व अध्यक्ष रहेका शाक्य धार्मिक क्षेत्रमा पनि क्रियाशिल छन् । नयाँ नियुक्तिमा महिला समन्वय समितिको उपाध्यक्षमा पोखरा–६ की सुशिला वाग्ले, दलित समन्वय समितिको उपाध्यक्षमा पोखरा–१८ का बद्री परियार र अपाङ्ग समन्वय समितिको उपाध्यक्ष सन्तबहादुर परियार रहेका छन् । सुशिला र बद्री दुवै जना राप्रपा नेपालकै जिल्ला सदस्य हुन् भने सन्तबहादुर दृष्टिविहीन हुन् । यसअघि कांग्रेस सरकारको पालामा आदिवासी जनजाति समन्वय समितिमा अशोक भट्टचन, महिला समन्वय समितिमा तारा अधिकारी, दलित समन्वय समितिमा दुर्गाबहादुर सुनार र अपाङ्ग समन्वय समितिमा प्रेमबहादुर परियार नियुक्त भइ काम गर्दै आएका थिए ।

Post a Comment

 
Top