0
पोखराका होटलकर्मीलाई आइतबार कर सम्बन्धी एक दिने प्रशिक्षण प्रदान गरिएको छ ।  पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको सहयोगमा यो कार्यक्रम भएको हो । कार्यक्रममा दुई सय ५० होटलकर्मीको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले व्यवसायीहरु कर तिर्न सधैं तत्पर रहेको बताए । व्यवसायीलाई कर सम्बन्धि तालिम प्रदान गरी आफ्नो प्रतिष्ठानको लेखा प्रणाली दुरुस्त राख्न सहयोग पु¥याउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पराजुलीले जानकारी दिए । सोही अवसरमा उनले बैंकको लगानीबाट बनेका होटललाई बैंकले समेत अनावश्यक ताकेता गरेर हैरान पार्ने गरेको बताउँदै बैंकरहरु वाइन खाएर ढुक्क सँग सुत्ने तर व्यवसायीहरु ऋणको तनावले स्लिपिंङ ट्याब्लेट खाएर सुत्नुपर्ने अवस्था रहेको बताए । राजनीतिक द्वन्द्व, विनासरकारी भूकम्प र नाकाबन्दी जस्ता कारणले पर्यटन क्षेत्रले कहालीलाग्दो अवस्था पार गरेर आएको बताउँदै परिस्थिति अझै सहज नभए पनि आफूहरु भविष्यप्रति आशावादी भएको भनाई उनले राखे । करका सन्दर्भमा सबै व्यवसायी जानकार रहनुपर्ने बताउँदै उनले कानून जानिन भनेर पछि कोही पनि उम्कन नमिल्ने भनाई राखे । सो अवसरमा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले व्यवसायीले आफूले बेचेको बस्तु तथा सेवाको विल जारी गर्नुपर्ने भनाई राखे । प्रतिष्ठानको लेखा कम्प्युटरमा दुरुस्त राख्नुपर्ने भनाई उनको थियो । जति व्यापार व्यवसाय गरिन्छ, जति कोठा पर्यटकलाई बेचिन्छ, त्यसैको आधारमा विल बन्ने हो, उनले भने । मूल्य अभिवृद्धि कर सम्बन्धि जानकारी दिन आफूहरु हरहमेसा तयार रहेको बताउँदै उनले आवश्यक परे सम्बन्धित होटलमै पुगेर पनि आफूहरु सेवा दिन तयार रहेको भनाई उनले राखे । सबैले कर तिरौं, पछि दण्डको अवस्था नआओस्, उनले सचेत गराए । सो अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत नबराज पराजुली र नायव सुब्बा जोतेन्द्र पौडेलले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top