घनश्याम भुसाल
नेपाली समाजको लोकतान्त्रिक संक्रमणका लागि सबैभन्दा बढी योगदान गरेको पार्टीका रुपमा नेपाली कांग्रेसको महाधिवेशन अर्थपूर्ण रहन्छ । पुरानो सामन्ती समाजलाई आधुनिक उदार प्रजातन्त्रमा रुपान्तरण गर्ने अभियानमा कांग्रेसले गरेको महत्वपूर्ण योगदान जगजाहेर नै छ । तर आजको अधिवेशनमा हिजो कांग्रेसले के भूमिका खेल्यो भन्ने कुराले मात्र निर्धारण गर्दैन । आजको कांग्रेस के हो भन्ने कुरा आजकै कांग्रेसले बुझ्नुपर्छ । हिजोका गौरव गाथाले मात्र पार्टीहरुले आफ्नो भूमिका निभाउन सक्दैनन् ।
तर, जब पार्टीका नेताहरुले आफ्ना पुराना गौरवगाथा गाउँछन भने हामीले बुझ्नुपर्ने हुन्छ उनीहरु यथास्थितिमा अल्मलिएका छन् । अगाडि जाने बाटो बन्द गरेर र अगाडी हिँड्ने बाटोमा आफैंले तगारो निर्माण गरेर अघि बढ्नबाट आफूलाई रोकेका छन । कुनै पनि पार्टीमा आज हामी कहाँ छौं र भोलि कता जाने हो भन्ने कुरा बिर्सिएर विगतमा केन्द्रित रहन्छ भने हामी उक्त पार्टीको मनोविज्ञान कस्तो छ भनेर बुझ्न सक्छौं । स्पष्ट भन्दा कांग्रेसलाइ निकट भविष्य र भविष्यको बाटो थाहा छैन ।
तर पनि लोकतान्त्रिक संघर्षमा लामो समयदेखि योगदान गर्दै आएको कांग्रेस पार्टीका कतिपय तरिकाहरु लोकतान्त्रिक किसिमका नै छन् । लोकतान्त्रिक सहिष्णुता र शिष्टता राम्रो कुरा हो । त्यहाँ शिष्टता छ, प्यानलको रुपमा नै भए पनि धेरै उमेद्वार देखिएका छन । मानिस एक गुटबाट अर्को गुटमा गएका छन । तर पनि उनीहरुबीच कटुता देखिंदैन । यो कांग्रेसको अत्यन्तै राम्रो पक्ष हो । तर यी त रुपगत कुराहरु मात्र भए । तर आजका मुख्य चुनौति के हुन भनेर सोच्नुचाहिँ कांग्रेसका निम्ति मुख्य कुरा हो भन्ने लाग्छ । सबैभन्दा ठूलो दल कांग्रेस र अन्य सबै दलका निम्ति मुख्य चुनौति भनेको वर्तमान संविधानको कार्यान्वयन हो । यसको प्रमुख कारण हो–हाम्रो समुदायले संविधानले व्यक्ति, वर्ग र समुदायलाइ अत्यधिक शक्तिशाली बनाएको छ । व्यक्ति, वर्ग र समुदायले आफ्ना हित र समस्याका सन्दर्भमा असाधारण दावीका साथ अघि बढ्ने अवस्था बनेको छ ।
तर उनीहरुका माग पुरा गर्ने हाम्रो आर्थिक–राजनीतिक हैसियत भने असाध्यै कमजोर छ । शसक्त जनआवाज र राज्यको आर्थिक हैसियतबीच ठूलो खाडल छ । जस्तै मौलिक अधिकार अन्तर्गत राज्यले गाँस, बास, कपास, खाद्य सुरक्षा, शिक्षा, श्रम जस्ता कुराहरु सुनिश्चित गर्नु पर्नेछ । अहिले कानुन बनेका छैनन, यसमा ढिला होला ितर, अब यस्ता चुनौतिसँग जुध्ने कुरा सजिलो छैन ।
हाम्रो राजनैतिक–संवैधानिक अवस्था र हाम्रो आर्थिक–सामाजिक अवस्थाबीचको अन्तरविरोधलाइ कसरी हल गर्ने भन्ने ठूलो चुनौतीका रुपमा देखिने छ । यसबाट पछि हट्न र भाग्न सकिन्न । सानातिना कुरा र प्रयासले यसको समाधान हुन पनि हुन सक्दैन । एउटा असाधारण अन्तरविरोध नेपाली राजनीतिको क्षितिजमा देखिन्छ ।
यो नेपाली कांग्रेसका निम्ति असाधारण प्रश्न हो । यसको जवाफ उक्त पार्टीले खोज्नु पर्छ । सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसका निर्णयले नेपालको राजनीतिलाई प्रभाव पार्नेछ । यसकारण अहिलेको महाधिवेशन महत्वपूर्ण रहेको छ ।
कांग्रेसले नयाँ संविधान अनुरुप आफूलाई कसरी ढाल्ने हो भन्ने प्रश्न पनि महत्वपूर्ण छ । त्यहाँ बिपी कोइरलाका समाजवादका आदर्श र नारादेखि नयाँ पुस्ताले प्रष्ट रुपले अपनाएको उदारवादी प्रजातन्त्रको रोजाइहरु छन् । कांग्रेस २०४६ साल पछि अति नै उदारवादी भएर आयो । तर नयाँ संविधानले उसलाई त्यो स्तरको उदारवादी हुने छुट दिंदैन । के कांग्रेस समाजवादी भएर उभिन्छ कि अन्य कुनै वादी भएर उभिन्छ र नयाँ संविधान अनुरुप आफूलाई कसरी ढाल्छ ? भन्ने प्रश्न महत्वपूर्ण छ । यो कांग्रेसका निम्ति चुनौती हो ।
संविधान कार्यान्वयनले तेर्स्याएको अप्ठ्याराले प्रमुख दलबीच न्यूनतम राजनीतिक सहमतिको माग गर्दैछ । समग्र देशको नेतृत्व गर्दा हामीले न्यूनतम सहमति आवश्यक हुन्छ । यो कुरा नयाँ महाधिवेशनका क्रममा बहस हुनु जरुरी छ । नेपाली समाजलाई व्यवस्थित गर्ने अर्को चुनौति हो । हाम्रो देशमा विविधता छ, जुन असाध्यै राम्रो कुरा हो । हामी सामाजिक–सांस्कृतिक रुपले धनी छौं । तर गरिबीमा विविधता घातक पनि हुनसक्छ । संसारभरि विविधता बरदान मात्र होइन, बारुदको गोदाममा लाग्ने आगो जस्तो पनि भएका छन । न्यूनतम सम्पन्नता बिनाको विविधता सधैँ खतरनाक हुन्छ । राजा, हिन्दू धर्म र नेपाली भाषाका प्रतापले नेपाल राज्य टिकेको थियो र त्यसैको कारणले नै विगतमा नेपाली राज्यले कुनै ठूलो समस्या झेलेन भन्ने एउटा अतिवादी धार छ नेपाली समाजमा । ०४६ सालको परिवर्तनले उक्त मान्यतालाइ कमजोर पारिदियो । त्यसको विरुद्धमा प्रश्नहरु उठ्यो । तर पुरानो मान्यता विरुद्ध उठेको नयाँ धार पनि अतिवादतर्फ उन्मुख हुँदै गयो । हामीबीच कुनै समानता नै थिएनन, हामी विल्कुल अलग थियौं र अलग रहनेछौं भन्ने मान्यताले मलजल प्राप्त गर्यो । नेपाली समाज भनेको युद्ध सरदारहरुको समष्टी रुप हो भन्ने ढंगले नेपाली राज्यलाई बुझ्न थालियो । एकता खराब, अनेकता राम्रो, दावी प्रगतिशील र मिल्नु अगतिशील हो, राष्ट्र र राष्ट्रियता महेन्द्रीय हुन्छ भन्ने बुझाईले जरा गाड्यो ।
उक्त चुनौतीलाई वस्तुगत ढंगले कसरी समाधान गर्ने भन्ने नेपालका मुख्य दलको चुनौति हो । यसका निम्ति सायद दुईवटा बाटा होलान–हामी मिल्न सकेनौं, त्यस कारण छुट्टै बसौं भन्ने र दोश्रो इतिहासलाई समग्रतामा अपनत्व लिने र स्वीकार गर्ने । दोश्रो बाटो समाजवादी बाटो हो, मुलुक र समाज विकासको बाटो हो, राष्ट्र र राष्ट्रियताको बाटो हो । यस बाटोमा कांग्रेसले कस्तो बाटो लिने हो भन्ने बारे यस महाधिवेशनको निर्णय महत्वपूर्ण हुनेछ ।
नेपाली राज्यका लागि आगामी वर्षहरु चुनौतिपूर्ण रहनेछन् । समृद्धिको क्षेत्र अत्यन्तै महत्वपूर्ण कुरा हो । तीव्र गतिले आर्थिक रुपान्तरण नभए सबै कुरा भत्कदै जाने सम्भावना रहन्छ । हाम्रा विगत, राजनीतक परिवर्तन र संविधानले जगाएको आशाको संचारलाइ एउटा बुनेको कपडा ठान्ने हो भने त्यस कपडालाइ कस्ने धागो भनेको आर्थिक समृद्धि हो । सबै कुरा भएर आर्थिक विकास भएन भने त्यो कपडा निरन्तर उध्रंदै जानेछ । यसैले जाति, बर्ग र विविधतालाइ एक शुत्रमा बाँध्ने काम गर्छ । यसकारण छोटो नै समयमा हामीले समृद्धिको द्रूत मार्ग कोर्नु पर्नेछ । नत्र कुनै दुर्घटनामा जानेछौं । हामीले हेर्नुपर्ने छ कसरी कोर्ला कांग्रेसले यसको खाका ?
चीनले विकासको आफ्नै मोडेल विकास गर्दैछ । उनीहरुले पश्चिमी प्रभुत्ववादी विकासभन्दा आफूलाई फरक ढंगले प्रस्तुत गर्दैछन िउनीहरुले औपनिवेशिक विकास भन्दा फरक साझेदारी विकासको अवाधारणा अघि बढाएका छन् । भारत पनि आर्थिक विकासको बाटोमा हिंड्दैछ, उसले अर्को देशको दोहन गरेर औपनिवेशिक बाटो रोज्छ वा कसरी अघि बढ्छ हेर्न बाँकी नै छ । त्यसकारण हाम्रो देश भनेको आगामी केही वर्षमा निकै ठूलो उथलपुथल हुने क्षेत्र हो । नेपाल अत्यन्तै संवेदनशील क्षेत्रमा छ । आर्थिक विकास र राष्ट्रिय एकता प्राप्त गर्नु पर्नेछ । सही नीतिको निर्माण र कार्यान्वयन हुनेपर्ने छ ।
अर्को तर्फ नेपालमा ०४६ सालको परिवर्तनको समयदेखि हेर्दा थाहा हुन्छ हामीले लोकतान्त्रिक व्यवस्था नेपाली कांग्रेस र एमाले नमिलिकन गर्न सक्दैनौं । दुई पार्टीबीच कुनै न कुनै किसिमको न्युनतम राजनीतिक सहमति आवश्यक हुन्छ । सहमति, सहकार्य र एकताका क्षेत्रहरु पहिचान हुनुपर्छ । अहिलेको महाधिवेशनका क्रममा यस्ता कुरा महत्वपूर्ण हुन्छन् । तर कांग्रेसले महाधिवेशन मा यस्ता कुराको बहस हुने छाँटकाँट देखिएको छैन । अहिलेको महाधिवेशन हेर्दा थाहा हुन्छ अब कांग्रेस पार्टीले खेल्ने भूमिका सकियो अब व्यक्तिले खेल्ने भूमिका मात्र बाँकी छ भन्ने नेताहरुलाई परेको छ ।
स्वयम् बीपी कोइरालाले विचार बिनाको पार्टी हुँदा क्रान्ति कसरी बेवारिसे हुँदोरहेछ भन्ने कुरा ०१२ सालमा आएर बुझे । वीरगंज महाधिवेशनको दस्तावेजमा लेखियो–हामीले क्रान्तिको वैचारिक नेतृत्व हुन्छ भन्ने कुरा ००७ सालमा बुझेकै रहेनछौं जसको कारण क्रान्तिले आफ्नो दिशा निर्धारण गर्न सकेन । तर आज कांग्रेसजनहरु हेर्दा थाहा हुन्छ–पार्टीमा विचारको भूमिका सकियो र अब व्यक्तिले खेल्ने भूमिका मात्र बाँकी छ भन्नेतर्फ दौड चलेको छ । नेपालका तत्कालीन, मध्यम र लामो समयसम्मका चुनौतिहरुसँग बेखबर भएर कांग्रेसले महाधिवेशन गर्छ वा जिम्मेवार भएर महत्वपूर्ण मुद्धामा बहस गर्छ भनेर हेर्नुछ ।
यस्ता चुनौतिको सामना गर्न कांग्रेसका युवा नेता गगन थापा, गुरु घिमिरे र प्रदिप पौडेल मिलेर एउटा दस्तावेज तयार गरे । तर त्यसमाथि प्रयाप्त छलफल भएन भन्ने लाग्छ । पछि विश्वप्रकाशले पनि एउटा दस्तावेज ल्याउनुभयो । कांग्रेस कस्तो हुनुपर्छ भनेर सबैले एउटा–एउटा नारा निकालिरहेका छन् । तर नेपाली कांग्रेसको समस्या हो–नयाँ पुस्ताका ४ जना नेता पनि एकै ठाउँमा जम्मा भएर अवाज उठाउँदैनन् । मलाई गगन थापा र साथीहरुले ल्याएको प्रस्तावले चासो जगायो। सिद्धान्तको पुनःव्याख्या र संगठनको पुनर्निर्माणको कुरा गर्नु भएको छ । यदि युवा कांग्रेसजनहरु एकै ठाउँमा बसेर छलफल र बहस अघि बढाएको भए त्यसले कुनै राम्रो नतिजा ल्याउन सक्थ्यो । पार्टीमा निकै ठूलो ताकत आउँथ्यो भन्ने लाग्छ । तर त्यस्तो पनि भएन ।
कहिलेकहीँ महाधिवेशन हुनुपर्ने बहस केही समयपछि शुरु भए पनि त्यसले पार्टीलाई सही ठाउँमा लैजान मद्धत गर्छ। ज्ञानको उत्पादन र पुनरुत्पादनद्वारा पार्टीमा नयाँ जीवन प्राप्त हुन्छ । नयाँ नीति र कायर्क्रमको निर्माण र निरन्तर खोजले पार्टीलाई जल्दोबल्दो बनाउँछ । ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसको महाधिवेशनले यस्ता कुरामा ध्यान देओस भन्ने लाग्छ । हेरौं कसरी अघि बढछ कांग्रेस महाधिवेशन ।
(स्रोत ः सेतोपाटी)
Post a Comment