0
कानून व्यवसायीहरुको साझा संस्था नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि चुनावी चलह–पहल सुरु भएको छ । चुनावमा प्रजातान्त्रिक गठबन्धनबाट शेरबहाुदर केसीको प्यानल खडा भएको छ भने प्रगतिशील प्यानलमा एमाले एमाओवादी र विप्लव माओवादीदेखि राप्रपा नेपालसम्म एकगठ भएका छन् । मधेसी मोर्चाले बेग्लै उम्मेद्वार उठाएको छ । बारको नयाँ नेतृत्वका लागि चैत २० गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुने छ । चुनावले अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसमेत १० पदाधिकारी चयन गर्नेछ । त्यसैगरी १५ जना केन्द्रीय सदस्यहरु चुनिने छन् । कुल २५ पदका लागि अहिलेसम्म ७१ जनाले उम्मेद्वारी दिएको बारले जनाएको छ । नेपाली कांग्रेस, वामपन्थी र मधेसी मोर्चाका बेग्लाबेग्लै उम्मेद्वारी परेका छन् ।
चर्को प्रतिस्पर्धाबाट हुने नेतृत्व छनोटमा देशभरिका ९ हजार ५ सय २० जना मतदाता रहेका छन् । यी मतदाताहरुले चैत २० गते देशभरिका विभिन्न ३३ वटा मतदान केन्द्रमा भेला भएर मतदान गर्ने छन् । पहाडी जिल्लाका वकिलहरुले अर्को जिल्लामा गएर मतदान गर्नुपर्ने छ । जस्तो कि ताप्लेजुङ र पाँचथरका वकिलहरुले इलाममा आएर मतदान गर्नुपर्ने छ । झापा, मोरङ, सुनसरी जस्ता बढी सदस्य रहेका जिल्लाका वकिलले आ–आफ्नो जिल्लाबाटै मतदान गर्नेछन् । ४० भन्दा बढी सदस्य रहेको जिल्लामा मात्रै मतदान केन्द्र तोकिएको बारले जनाएको छ ।
मैनाली समूहमा को–को ?
बारको नेतृत्वका लागि ‘प्रगतिशील’ समूहबाट एमाले, एमाओवादी र विप्लव माओवादी समर्थकदेखि राप्रपा नेपालका वकिलहरुसमेत सहभागी छन् । प्रगतिशील खेमाबाट अध्यक्षमा अधिवक्ता विजयकान्त मैनाली भिड्दैछन् । उनी बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीका भतिजा हुन् ।
त्यसैगरी प्रगतिशील खेमाबाट महासचिवमा दीनमणि पोखरेल छन् भने कोषाध्यक्षमा हरिबहादुर खड्का उठेका छन् ।
केसीको प्यानलमा कोको ?
नेपाली कांग्रेससमर्थित डेमोक्रेटिक प्यानलबाट बारको अध्यक्षमा पूर्वउपाध्यक्ष शेरबहादुर केसी उम्मेद्वार बनेका छन् । केसीको प्यानलमा महासचिव पदमा बागी उम्मेद्वार उठेका छन् ।
द्यबच अजगलबदज्ञडेमोक्रेटिक प्यानलबाट उपाध्यक्षहरुमा पूर्वाञ्चलबाट मदनकुमार खड्का, मध्यमाञ्चल (उपत्यका बाहिर) बाट विनय सिंह, मध्यमाञ्चल (उपत्यका) बाट मोतीराज गौतम, पश्चिमाञ्चल घनश्याम पन्त, मध्य पश्चिमाञ्चलबाट रेवतीरमण भट्टराई र सुदुर पश्चिमाञ्चलबाट गंगाराम उपाध्याय छन् । केसी समूहबाट महिला उपाध्यक्षमा शान्ता सेढाई सापकोटा उम्मेदवार बनेकी छिन् । महासचिवमा खम्बबहादुर खाती छन् । तर, उनको बागी उम्मेद्वारका रुपमा बिराट न्यौपाने खडा भएका छन् । डेमोक्रेटिकका तर्फबाट कोषाध्यक्षमा ज्ञानरत्न शाक्य छन् ।
मधेसी मोर्चा र नेमकिपाका छुट्टछुट्टै उम्मेद्वार
नेपाल बारमा राजनीतिक भागवण्डाका आधारमा प्यानल खडा भइरहेका बेला मधेसी मोर्चाका तर्फबाट अधिवक्ता मनोहर साहले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । मोर्चा निटक वकिलहरुले एक अध्यक्ष र चार सदस्य गरी पाँचवटा पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी समर्तित वकिलहरुले पनि बेग्लै उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाका तर्फबाट रामप्रसाद प्रजापति अध्यक्षको उम्मेद्वार बनेका छन् भने ४ वटा सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल बारको वर्तमान नेतृत्वमा अध्यक्ष र महासचिव लगायतका पदमा प्रगतिशीलले जिते पनि बहुमत सदस्यहरु प्रजातान्त्रिक प्यानलले जितेका थिए । यसपटक भने आफूले पूर्ण बहुमत पाउने दुबै पक्षले दाबी गरेका छन् ।







Post a Comment

 
Top