0
गोल्डेन न्यूज संवाददाता
नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध नेपाल यातायात मजदूर संघ कास्कीले फागुपूर्णिमाको अवसरमा विशेष कार्यक्रम आयोजना ग¥यो । यातायात मजदूर व्यवसायीहरुलाई एकै ठाउँमा भेला गराइ फागु खेल्ने र मजदूर र व्यवसायी बीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले संघले केही वर्षदेखि फागुपूर्णिमाको दिनमा यस्तो कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा यातायात मजदूर र यातायात व्यवसायीहरुले आफूहरुले भोग्नु परेका समस्याको चर्चा गर्दै राज्य र राज
नीतिक दल गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल यातायात मजदूर संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष केदारनाथ पौडेलले निजी क्षेत्रको योगदानका कारण देशमा यातायात व्यवसाय संचालन भइरहेको भएपनि राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताए । उनले मजदूर आन्दोलन बाट स्थापित भएको पार्टी नेपाली कांग्रेसले समेत यातायात क्षेत्रका समस्या समाधानमा चासो नदेखाएको आरोप लगाए । 
यसैगरी पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष समेत रहेका राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य ऐनकुमार साइले यातायात व्यवसायीहरु मिलेर यात्रुलाई सेवा दिइरहेको अवस्थामा राज्य पक्षले नै व्यवसायीबीच फाटो ल्याउने प्रयास गरेको आरोप लगाए । उनले पनि कांग्रेसले सकारात्मक पहल गर्नुपर्नेमा जोड दिए । 
नेपाल ट्रेड युनियन कांग्रेसका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष मुरारीकुमार शर्मा र कास्की जिल्ला अध्यक्ष कुलदेवी बरालले मजदूरको समस्या समाधान गर्न र दुर्घटनाका कारण हिरासतमा बस्नुपर्ने मजदूरहरुका लागि उपयुक्त बन्दीगृह निर्माण गर्न कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सिक डा. गिरिधारी शर्माले मजदूरहरु स्वास्थ्यको दृष्टिकोणले जोखिम बहन गर्न बाध्य भएकाले आफ्नो स्वास्थ्यको नियमित चेकजाँच गर्न सुझाव दिए । 
यातायात व्यवसायी र मजदूरका कुरा सुनेपछि कार्यक्रमका प्रमुख अतिथि रहेका कास्की कांग्रेसका सभापति कृष्ण केसीले मजदूर र व्यवसायीका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । अर्को वर्षको फागुपूर्णिमामा हुने यस्तै कार्यक्रममा कांग्रेसले गरेको पहल र सफलताका बारेमा चर्चा गर्ने अवस्था आउने उनको भनाइ थियो । 
कार्यक्रमका सभापति नेपाल यातायात मजदूर संघका कास्की जिल्ला अध्यक्ष जितबहादुर गुरुङले यातायात मजदूरहरुको हकहितका बारेमा चर्चा गर्ने र होलीको नाममा मनोरञ्जन गर्ने उद्देश्यले प्रत्येक वर्ष कार्यक्रम आयोजना गरिंदै आएको बताए । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सदस्यद्वय देवेन्द्र रानाभाट र रंगीला आचार्य, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा यातायात व्यवसायी प्रेमराज पौडेल, यातायात मजदूर संघका राष्ट्रिय सह–कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, संघका कास्की जिल्ला उपाध्यक्ष दामोदर पण्डित र बाबुराम गिरी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
कार्यक्रममा यातायात मजदूर संघलाई आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो । 

Post a Comment

 
Top