0
केही दिनअघि विश्व मृगौला दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइयो । यो दिवसमा विभिन्न स्वास्थ्य संस्था एवम् अस्पतालले निःशुल्क मृगौला परीक्षण गर्ने अवसर प्रदान गरे । तर, यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । कुल जनसंख्याको १० प्रतिशतमा कुनै न कुनै मृगौलासम्बन्धी रोग लाग्ने चिकित्सकहरुले बताउँदै आएका छन् । बाहिरबाट स्वस्थ देखिए पनि व्यक्तिको ९० प्रतिशत मृगौला बिग्रिँदासमेत लक्षण नदेखिने कारण मृगौला रोगलाई विश्वमै खतरनाक रोगका रुपमा लिइएको छ । मृगौला बिग्रिएपछि डायलाइसिस वा प्रत्यारोपणबाहेक अरु उपचार हुन नसक्ने भएकाले यो रोग झनै जोखिमपूर्ण मानिएको छ । नेपालमा यस रोगको उपचारका लागि दुवै उपाय उपलब्ध छन् । तर, उपचार खर्च महँगो पर्ने भएकाले अझै पनि सर्वसाधारणको पहुँचसम्म पुग्न सकेको देखिँदैन । मृगौलाको डायलाइसिस गर्दा एकपटकमा ५ हजार रूपैयाँसम्म र प्रत्यारोपण गर्दा १० देखि १२ लाख रूपैयाँसम्म खर्च हुन्छ । विशेषगरी, ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुमा यो रोग बढी लाग्ने देखिएको छ । अनियमित र खराब खानपान, धूमपान र कम पानी पिउने बानीका कारण रोगबाट प्रभावित हुनेहरुको संख्या वृद्धि हुँदै गएको छ । नेपालमा पनि मृगौलामा लाग्न सक्ने रोग तथा स्वास्थ्य समस्याबारे सचेतना कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । चिकित्सकहरुको सुझावअनुसार एउटा स्वस्थ मानिसले वर्षमा एकपटक मृगौलाको परीक्षण गराउनुपर्छ । तर, आमनेपाली मृगौला रोगबारे सचेत छैनन् । पोखरालगायत ६२ जिल्लाका मानिसमा मृगौलाको समस्या रहेको चिकित्सकहरुले औँल्याएका छन् । नेपालको कुल जनसंख्याको १० प्रतिशत अर्थात् २६ हजार मानिसमा मृगौलाको समस्या रहेको र २६ सय मानिसको मृगौला पूर्ण रुपमा फेल भएर काम गर्न नसक्ने अवस्थामा रहेको तथ्यांक छ । रोग लाग्नुभन्दाअगावै मृगौला रोगबारे सचेत हुन सकिएमा समस्या न्यूनीकरण गर्न सकिन्छ । हाम्रो शरीरमा दुईवटा मृर्गौलाले बराबरी काम गरेका हुन्छन् । मानवशरीरमा जम्मा हुने दूषित पदार्थलाई छानेर बाहिर निकाल्नु मृगौलाको मुख्य काम हो । यो मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिकहरुले गर्दा लाग्ने रोग पनि हो । अनुवांशिक र अरु प्रणालीको रोगका कारण मृगौलामा समस्या निम्तने गर्दछ । त्यसैले, हरेक स्वस्थ मानिसले वर्षमा एकपटक मृगौला परीक्षण गर्नुपर्छ । मधुमेह, युरिक एसिड, उच्च रक्तचाप तथा शरीरको कुनै अंगमा ढुंगा भएका व्यक्तिले परीक्षण गरिरहनु पर्ने चिकित्सकले सुझाव दिएका छन् । नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको छ, जसमध्ये ३५ देखि ४० प्रतिशतको मृगौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको मृगौला खराब भएको पाइएको छ । सरकारले जिल्ला अस्पतालमा युरिया क्रेटिन, पिसाब, अल्ट्रासाउन्ड जाँच्ने सुविधा प्रदान गरेको छ । मुख्य रुपमा पिसाब जाँच, रगत जाँच र अल्ट्रासाउन्डबाट मृगौलाको परीक्षण गर्न सकिन्छ । जथाभावी रुपमा पेनकिलर नखाने, कुनै रोग लागे स्वास्थ्य संस्थामा उपचार गराउने, मोटोपन नियन्त्रण गर्ने र शारीरिक व्यायाम गर्न सकिएमात्रै मृगौलाको रोग लाग्ने सम्भावना न्यून हुन्छ । मृगौलाले आफ्नो क्षमताभन्दा बढी छान्न नसक्ने कारण ठिक्क मात्रामा खानेकुरा खानुपर्छ । स्वास्थ्यजस्तो ठूलो धन केही छैन, त्यसैले पहिले आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । मृगौला रोगबारे सबै सचेत हुनु जरूरी देखिन्छ ।






Post a Comment

 
Top