0
नेपालले चीनसँग सम्वन्ध राख्दा दुबै देशको स्वार्थ हेर्ने हो । सम्वन्धको आधार एक(अर्कालाई सम्मान गर्ने हुनुपर्छ । चीनले हस्तक्षेप गर्दैन । नेपालको सरकार ढाल्ने र बनाउने काम उसले गर्दैन । अहिलेको सरकारले चीनसँग जे ग¥यो, त्यो पहिले नै हुनुपथ्र्यो । नाकाबन्दीले पाठ सिकायो ।
नेपाल–चीन सम्वन्ध
चीनसँग नेपालको औपचारिक सम्बन्ध १५०० वर्ष पुरानो हो । यद्यपि, त्योभन्दा पहिलो पनि दुई देशबीच जनस्तरमा सम्वन्ध थियो । करिब २००० वर्षदेखि नेपाल र चीनबीच सांस्कृतिक सम्वन्ध रहिआएको छ । त्यतिबेला दई देशका कलाकारहरुको बाक्लो आवत–जावत भएको पाइन्छ । भृकुटीको बिहे स्रनचङ गम्पोसँग भएकोबाट पनि हाम्रो पुरातन सम्वन्ध पुष्टि हुन्छ ।
पुरानो नेपाल अहिलेजस्तो दरिद्रताले भरिएको थिएन । सम्पन्न र सुखी थियो । जतिबेला अहिलेजस्तो आवागमनको सहज माध्यम थिएन । तर पनि त्यतिबेला नेपालको चीनसँग व्यापारिक सम्वन्ध फस्टाएको थियो । चीनबाट दक्षिण एशिया प्रवेश गर्ने बाटो नै नेपाल थियो । घोडा(खच्चडमा ओसारेर व्यापार हुन्थ्यो । नून हामी उताबाट ल्याएर खान्थ्यौं । म केटाकेटी हुँदासम्म ल्हासाबाट आउने भोटे नुन खाइन्थ्यो । हामीले नेपालबाट धेरै कुरा निर्यात गर्थ्यौं । खासमा हामी आयातभन्दा निर्यात बढि गथ्र्यौं, त्यसबेला । चाणक्यले इशाको तेस्रो शताब्दीपूर्व नेपालबाट चीनमा आयात हुने गरेको प्रसंग उल्लेख गरेका छन् । यहाँबाट सबैभन्दा बेसी चीनमा निर्यात हुने भनेको अन्न नै हो । यद्यपि, नेपालमा धेरै चिज उत्पादन हुन्थे । नागार्जुनपारी सबै कटनको खेति हुन्थ्यो । त्यसबाट कपडा बनाइन्थ्यो ।
लिच्छविकाल र मल्लकालमा  नेपालको वैभवता चीनसँगको व्यापारले गर्दा नै सम्भव भएको हो । नेपालका मालवस्तुहरु चीन निर्यात गरेर आएको पैसा कलाकृतिमा खर्च गरिए । त्यतिबेलाका कलाकृति अहिलेसम्म पनि जिवन्त छन् । जतिबेला भारत भन्ने देशको अस्तित्व नै थिएन, त्यतिबेला नेपालको चीनसँग सम्वन्ध प्रगाढ थियो ।
चीनसँग नेपालको सामरिक सम्वन्ध पनि पुरानो छ । १५००÷१६०० वर्षअगाडि मल्लकालमा पाटनका एक राजासँग चीनको दौत्य सम्वन्ध रहेछ । दौत्य सम्वन्धको हिसाबले हाम्रा मिसन त्यहाँ जाने गरेका थिए । छैटौं सताब्दीमा यहाँ नरेन्द्र देव राजा थिए । यो लिच्छवीकालको कुरा हो । त्यतिबेला मगधको कान्यकुब्जमा अरुनसवा राजा थिए । चीनमा शासन गरिरहेको ताङ डाइनेस्टिीले छिमेकीसँग सम्वन्ध बढाउनुपर्छ, व्यापार बढाउनुपर्छ भनेर त्यतिखेर प्रतिनिधि पठाउने गरेको थियो । नेपाल पठाएका प्रतिनिधिलाई कान्यकुब्जका राजाले बाटैमा थुनिदिएछन् । नेपालका १२ हजार सेना र स्रङचन गम्पोको सेनाले संयुक्त रुपमा हमला गरेर कान्यकुब्जका राजालाई पदच्यूत गरी चिनियाँ प्रतिनिधिलाई मुक्त गरेका थिए । त्यति बेलादेखि दुई देशबीच सामरिक सम्वन्ध रहेको देखिन्छ ।
छिमेकी भएपछि सम्बन्ध कहिले सुमधुर र कहिले चिसो हुन्छ । यद्यपि नेपाल र चीनको हकमा भने प्रायः एक रफ्तारको सम्वन्ध पाइन्छ । खाली व्यापारिक सम्वन्धमा उतारचढाव देखिन्छन् । त्यसैले हामीले चीनसँग नयाँ सम्वन्ध थाल्नुपर्ने अवस्था होइन । पुरानो सम्वन्धलाई अद्यावधिक गर्नुपर्ने हो । आधुनिकीकरण गर्नुपर्ने हो । पहिले घोडाबाट व्यापार गरिन्थ्यो भने अब रेल्वेबाट गर्नुपर्छ ।
अंग्रेज आएपछि सेलायो
चीनसँगको सम्वन्ध पछिसम्मै प्रगाढ रह्यो । व्यापारिक सम्वन्ध भने अंग्रेजले नेपालको ठूलो भूभाग कब्जामा लिएपछि सेलाएको हो । त्यसपछि चीनले दक्षिण एशियामा व्यापार गर्न कालिङपोङ प्रयोग गर्न थाल्यो । फलस्वरुप नेपालको निर्यातको ग्राफ स्वाट्टै तल झर्रुयो । यद्यपि, चीन र नेपाल आपसमा टाढिएको भने होइन । चीनबाट नेपालमा र नेपालबाट चीनमा उपहार पठाउने सिलसिला पछिसम्म रहेको पाइन्छ । चीन र नेपालबीच लडाई भए पनि चीनले नेपालको भूमि लिएन । बेत्रावती सन्धि हुनुअघि चिनियाँहरुले नेपाललाई ‘सरेन्डर गर’ भनेका थिए । निर्णायक युद्धमा दुवैले जितेको होइन भन्ने निस्कर्षमा आधारित भएर चीनका बादशाह लाई नेपालका राजाले र नेपालका राजालाई पनि चीनका बादशाहले उपहार दिन प्रचलन चलाइयो । यो चलन निक्कै पछिसम्म चल्यो ।
अंग्रेजसँगको युद्धमा हारेपछि हाम्रो भारतसँग निर्भरता बढ्नथाल्यो । अंग्रेजको पालामा सुरु भएको निर्भरता अंग्रेज गएपछि घट्नुका साटो झन् बढेर गयो । व्यापारदेखि हरेक कुरामा हामी उतैपट्ट ढल्किन थाल्यौं । हाम्रो यस्तो निर्भरतालाई भारतले हदैसम्म दुरुपयोग गर्दै आएको छ । विगतमा राजा महेन्द्रको पालामा चीन र भारतसँगको सम्वन्धलाई सन्तुलित राखिएको हो । अन्यथा हामी सँधै अनावश्यकरुपमा भारतपट्टी ढल्किदै आएका छौं र चीनसँगको सम्वन्धलाई अवमूल्यन गर्दै आएका छौं । भुकम्पपछि अवरुद्ध भएका नाकाहरु महिनौंसम्म सुचारु नहुनु यसैको प्रमाण हो ।
नेपालले चीन र भारतलाई वैकल्पिक रुपमा हेर्ने गरे पनि यी दुई देश आफैंमा व्यापारिक रुपमा नजिकिँदै गएका छन् । चीनका लागि भारतसँगको व्यापार ठूलो होइन । तर, भारतका लागि चीन सँगको व्यापार ठूलो हो । विश्व बजारमा चीनको व्यापारको एक प्रतिशत मात्रै भारतसँग छ । यता भारतको लागि नेपाल ठूलो बजार हो । भारतको कुल वैदेशिक व्यापारको १० देखि १२ प्रतिशत हिस्सा नेपालले ओगट्छ । यहाँ दुई प्रतिशत भन्नेहरु पनि छन्, तर यो सही होइन । नेपाल–भारत व्यापारमा आधिकारिक तथ्यांक मात्रै हेरेर हुँदैन । आधिकारिक तथ्यांकमा नेपालले ५ अर्ब डलरको व्यापार घाटा भारतसँग भोगिरहेको देखिन्छ । तर यथार्थमा यो २० अर्ब डलर पुग्छ । पहिले युरोपपछिको दोस्रो बजार नै नेपाल थियो, भारतका लागि । अहिले पनि नेपाल तेस्रो वा चौंथो नम्बरमा पर्न सक्छ ।
भन्ने गरिन्छ कि भारतमा करोडौं नेपाली पालिएका छन् । भारतमा रहेको नेपालीभाषिको संख्यासमेत जोडेर यसो भन्ने गरिन्छ । तर वास्तविकता के हो भने नेपालले करोडौंको संख्यामा भारतीयहरुलाई पालेको छ । बिहार–युपीका मजदुर नेपालभरि काम गर्छन् । अमेरिकाको रिसर्च व्यूरो इपिएसले भारतीयले काम गरेर कुन देशबाट कति कमाउँछन् भन्ने रिपोर्ट प्रकाशित गरेको छ । धेरै पैसा भारत पठाउनेमध्ये नेपाल सातौंमा छ । सन् २०१२ मा भारतीयले नेपालबाट तीन अर्ब २२ करोड डलर कमाएर लगेछन् ।
भारतमा नेपालीहरुले पाउने पारिश्रमिक न्यूनतम छ । यहाँ फलफूल पसलेले पाँचवटा बच्चा पालेर बसेका छन् । उनीहरुकहाँ ५०(६० रुपैयाँ दैनिक ज्याला छ । हाम्रोमा ४ सय रुपैयाँ छ ।
चीनको स्वार्थ के होला ?
चीनले नेपालबाट के चाहन्छ भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । निःस्वार्थ त कोही पनि हुँदैन । तर, मलाई के लाग्छ भने चीनले नेपालबाट त्यो चिज चाहदैन, जसले नेपालको अहित होस् । नेपालमा रहेको भारतीय स्वार्थसँग चीनको स्वार्थ तुलना गरेर हेर्नै मिल्दैन । चीन कुनैपनि हिसाबले नेपालको दोस्रो छिमेकी होइन । पहिलो नै हो । भारतसँग इतिहासदेखि हाम्रो समझदारी जति कमजोर छ, चीनसँग त्यति नै बलियो छ । चीनले पहिलेदेखि नै नेपालमा लगानी गर्दै आएको हो । पञ्चायतकालमा उसले १२÷१५ वटा उद्योग खोलिदियो । छालाजुत्ता कारखाना, कागज कारखाना, कपडा उद्योग, ईट्टा टायल कारखाना लगायत धेरै उद्योग खुलेका थिए, चिनियाँ लगानीमा । पर्यटनका लागि पोखराको बाटो बनाइदिए । नेपालमा भारतीय दवदवा जति भए पनि चिनियाँ पर्यटक बढिरहेका छन् । व्यापार बढिरहेको छ ।
छिमेकीसँगको सम्वन्धलाई प्राथमिकता दिने घोषित नीतिका साथ पछिल्लो समय चीन अघि सरेको छ । त्यसैले नेपाल मात्रै होइन अन्य छिमेकी देशहरुमा पनि चीनको लगानी बढिरहेको छ । त्यो हिसाबले सबै ठाउँमा चीनको लगानी बढेको छ । हामीले एकतर्फी रुपमा चीनको सहयोग खोज्नुपर्ने अवस्था पनि छैन । चीनले पनि नेपालबाट लाभ लिन सक्ने क्षेत्रहरु छन् । त्यसैले द्विपक्षीय लाभका आधारमा सम्वन्ध सुदृढ बनाउन सकिन्छ । नेपालको जलविद्युत, हाइड्रोपावर, पर्यटन, जडिबुटीलगायतबाट चीनले लाभ लिन सक्छ । विश्वका १० उत्कृष्ट गन्तव्यस्थलमा नेपाल सुचीकृत नभएको कहिले पनि छैन । अर्कोतर्फ सबैभन्दा बढी विश्वभ्रमण गर्ने नागरिकका रुपमा कहलाएका छन्, चिनियाँ । हामीसँग प्राकृतिक सौन्दर्य छ भने चिनियाँहरुसँग घुम्ने सोख र पैसा छ । दुवैको तालमेल मिल्यो भने हामी मालामाल हुन्छौं । चीनले इन्डियाजस्तो नेपालको राजनीतिमा ठाडो हस्तक्षेप चाहँदैन । नेपालको एक इन्च पनि भूमि मिच्ने चेष्टा गर्दैन । न विगतमा गरेको थियो, न वर्तमानमा गरेको छ र न भविष्यमा गर्नेछ । नेपालसँग युद्ध हुँदा पनि उसले एक इन्च भूमि लगेको छैन । जबकि भारतले सुगौली सन्धिपछि मात्र नेपालका ७२ ठाउँमा सीमा अतिक्रमण गरेको छ । यो क्रम आजपर्यन्त जारी छ ।
बलियो नेपाल चीनको हितमा
चीनले नेपाललाई स्वतन्त्र र बलियो राष्ट्रको रुपमा हेर्न चाहन्छ । नेपाल बलियो हुनु चीनको पनि हितमा छ । नेपालमा चीनका सुरक्षासँग सम्वन्धित केही चासो छन् । बलियो नेपालले मात्रै ती चासोहरुलाई सम्वोधन गर्न सक्छ । भारतको दवदवामा पिल्सिएको नेपालले चीनसँग सम्बन्ध निभाउन सक्दैन । नेपालको सम्पन्नताका लागि चीनले जस्तोसुकै सहयोग पनि गर्छ । नेपालमा बेलाबखत हुने गरेका चीनविरोधी गतिविधिप्रति चीन चिन्तित रहँदै आएको छ । बारम्बार फ्रि तिब्बतको नारा लगाउँदै जुलुस निस्कन्छन् । यसलाई चीनले एकदमै संवेशनशील रुपमा लिने गरेको छ । त्यसैले हरेक भेटघाटमा चिनियाँ नेताहरु नेपालमा चीन विरोधी गतिविधि हुन नदिन आग्रह गर्छन् । वास्तवमा चीनसँग हाम्रो व्यापारिक र आर्थिकभन्दा सामरिक सम्बन्ध अझ महत्वपूर्ण छ ।
विश्व मानचित्रमा शक्तिशाली चीन
१८२१ सम्म संसारको सबैभन्दा ठूलो आर्थिक शक्ति थियो, चीन । विश्वको ३० प्रतिशत कुल गार्हस्थ उत्पादन चीनले उत्पादन गथ्र्यो भनेर मैले विभिन्न किताबमा पढेको छु । अमेरिका र यूरोपको जोड्दा पनि त्यतिखेर चीनकै बढि हुन्थ्यो । आजका दिनमा संसारको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो लगानीकर्ता चीन हो । संसारमै सबैभन्दा ठूलो वैदेशिक मुद्राको सञ्चयकर्ता पनि उही हो । चीनले सबैलाई ऋण दिइरहेको छ । अमेरिकामा उसले  १.३ ट्रिलियन ट्रेजरी बोन्ड किनेको छ । रसियामा त्यस्तै छ । अफ्रिकामा झन् धेरै थियो । पहिले अमेरिकाको चीनमा लगानी धेरै थियो भने अहिले चीनको धेरै छ । भारत, पाकिस्तान, बंगलादेश श्रीलंका भियतनाम लगायत छिमेकका धेरै ठाउँमा लगानी गरिरहेको छ, चीनले । त्यसैले उसले नेपालमा नगर्ने भन्ने प्रश्नै उठ्दैन ।
नेपालमा शान्ति र स्थायित्व भएपछि चिनिया लगानीकर्ता आउनेछन् र उद्योगहरु खोल्नेछन् । उनीहरुलाई सस्तो माल चाहियो । चीन ‘ओपन’ भएपछि र यसले ‘रिर्फम’ गरेपछि व्यापारका लागि चीन जानेहरु सबै पश्चिमी त थिए नि ! किनकि चीनमा ‘लेवर कस्ट’ सस्तो थियो । आफ्नै छिमेकमा रहेको यति शक्तिशाली र सहयोगी राष्ट्रबाट हामीले फाइदा उठाउनै पर्छ । बरु त्रिपक्षीय होस । इन्डियासँग धेरै पैसा छैन । उसको ‘फरेन एक्सचेन्ज’ नै तीन सय विलियन डलर छ । हतियार त्यत्रो किन्छ । अनि कसरी लगानी गर्न सक्छ ? लगानी गर्ने भनेको कि पश्चिमले हो, कि चीनले हो । भारतले लगानी गरेर नेपालमा एउटा प्रोजेक्ट पनि सफल बनाउन सक्दैन । त्यसैले उसले प्रोजेक्ट होल्ड गर्छ, काम गर्दैन । चीन र भारतबीचको व्यापार पछिल्लो समय निकै ठूलो छ । भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार नै चीन हो । यद्यपि, चीनका लागि यो केवल एक प्रतिशत हो । चीनले गर्ने कुल व्यापारमा भारतको अंश एक प्रतिशत मात्र छ ।
चीनले १० वर्षको बीचमा यति ठूलो लगानी गर्रुयो कि कल्पना पनि गर्न सकिन्न । ३० वर्षसम्म ९÷१० प्रतिशत आर्थिक वृद्धिदर संसारमा अरु कसैले हासिल गर्न सकेको छैन । तर ६.९ प्रतिशत आर्थिक वृद्धिदर हुँदा पनि अमेरिका नै सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको छ । अमेरिकाको अर्थतन्त्र १९ ट्रिलियनको छ भने चीनको ११ ट्रिलियन छुन लाग्दैछ । प्रतिव्यक्ति आय चीनभन्दा कयौं गुणा बढि छ, अमेरिकामा । अमेरिकामा ४४ हजार डलर प्रतिव्यक्ति आय छ भने चीनको शहरी क्षेत्रमा पनि १२ हजार डलर छ । इन्डिया त छेउछाउमा पनि छैन ।
चीनको लगानी आकषिर्त गर्नुको आशय भारतको रोक्नुपर्छ भन्ने होइन । उसको लगानी आउछ भने राम्रै हो । त्यस्तो अवस्थामा त्रिपक्षीय ढाँचाम पनि जान सकिन्छ । नेपालको अर्थतन्त्र बलियो बनाउने हो भने तराईको बजारलाई हङकङ र चीनको मालले गुलजार गर्नुपर्छ । तर स्थिति के छ भने हामी नै चिनियाँ माल किन्न भारत जान्छौं । पटनामा त्यस्तो बजारै नभएको ठाउँमा अहिले ठूलो चाइना मार्केट छ ।
चाइना कार्ड ?
‘चाइना कार्ड’ भन्ने शब्द नै गलत हो । नेपालीलाई ब्ल्याकमेलिङ गर्न भारतीयले यो शब्द चल्तिमा ल्याएका हुन् । छिमेकीसँग सम्वन्ध राख्दा र सुखदुःख साट्दा त्यसलाई कार्ड प्रयोग गरेको भन्न मिल्दैन । चीनले नेपालसँगको सम्वन्धलाई भारतसँग जोडेर हेर्दैन । भारतसँग उसको आफ्नै सम्वन्ध छ । हामी स्वतन्त्र राष्ट्र हौं । मित्रहरुको बीचमा मिलेर काम गर्नुलाई कार्ड खेल्नु भनिँदैन, सहकार्य भनिन्छ । इन्डियाले नेपालको अस्तित्व मेट्न खोज्यो र नेपालको सार्वभौमसत्ता माथि आक्रमण ग¥यो भने अरुसँग मिलेर बच्न खोज्नुलाई कार्ड खोलेको भन्न मिल्दैन । पैसा तिरेर सामान ल्याउँदा पनि धोका पाइँदो रहेछ भन्ने भारतले फेरि देखाइदियो । अर्को देशबाट माल ल्याउन सस्तो हुन्छ भने इन्डियाबाटै किन ल्याउने ? किन आफैंले आफ्नो हातगोडा बाँध्ने ?
(लेखक चीन अध्ययन केन्द्र अध्यक्ष हुन्)






Post a Comment

 
Top