0
भूकम्पका कारण नेपाल राष्ट्रिय पुस्तकालयका अधिकांश पुस्तक बोराभित्र कोचिएका छन् । ललितपुरको हरिहर भवनभित्र रहेको सो पुस्तकालयलाई गत वैशाखमा आएको भूकम्प र त्यसपछिको परकम्पले जीर्ण बनाएकाले त्यहाँ रहेका अधिकांश पुस्तकलाई बोरामा हालिएको हो । ठूला व्यक्ति र बालबालिकाका लागि छुट्टाछुट्टै बनाइएको सो पुस्तकालयको बालबालिका कक्षमात्र सुरक्षित छ । ठूला व्यक्तिका लागि बनाइएका कक्षका सबै पुस्तक ५० किलोग्राम सामान अटाउने पाँच हजार बोरामा बन्द गरेर सानोगौचरस्थित महेन्द्रआदर्श माविको हलमा राखिएको छ । उक्त पुस्तकालयमा नेपाली वा विदेशीले नेपालभित्र प्रकाशित गरेका सबै पुस्तक र देशबाहिर नेपालका बारेमा छापिएका पुस्तक सङ्गृहित भए पनि पुस्तक पढ्न आउने अधिकांश सेवाग्राही पुस्तकको सूची हेरेर मात्र फर्किने गरेका त्यहाँका कर्मचारी बताउँछन् ।  कर्मचारीका अनुसार अनलाइनमा भएका पुस्तकको मात्र सेवा दिन सकिएको र अरू सेवा ठप्प रहेको छ । वयस्क पाठकका लागि अङ्गेजी, नेपाली, हिन्दी, संस्कृतका पुस्तकका साथै थेसिस पेपर र बालबालिकाको बौद्धिक विकास हुने ज्ञानबद्र्धक पुस्तकहरू यहाँ छन् । अहिले स्थानाभावले बालकक्षभित्रै आफ्नो कार्यालयसमेत सञ्चालन गरेका कर्मचारीका लागि कार्यालय कुरेर बस्नु दैनिकी बनेको छ ।  अहिले पुस्तकालयको मुख्य समस्या भनेको भवन हो । भवन निर्माणका लागि शिक्षा मन्त्रालयले रु डेढ करोड उपलब्ध गराए पनि जग्गाको अभावमा भवन निर्माण कार्य अघि बढ्न सकेको छैन । पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले भने–“बोरामा थन्क्याइएका पुस्तकमा पनि धमिरा लाग्ला भन्ने चिन्ता छ । अहिले त हामीलाई गरी खानु न मरी जानु भएको छ ।” भवनका लागि शिक्षा मन्त्रीलाई जानकारी गराइसकिएको र उहाँबाट पुस्तकालयको अवलोकन गरेर भवन बनाउने आश्वासन पाएपनि त्यसो हुन नसकेको उनको गुनासो छ । जमिनका लागि पुस्तकालयले सिंहदरबारभित्र वा आसपासका क्षेत्रमा आँखा लगाइरहेको छ । त्यस क्षेत्रमा जग्गा भेटिए अझ स्तरीय सेवा दिनसक्ने पुस्तकालय पदाधिकारीको भनाइ छ । पुस्तकालय प्रमुख निरौला भन्छन्–“अमेरिकाको लाइब्रेरी अफ कङ्ग्रेस र जापानको नेसनल डाइट अफ लाइब्रेरी संसद्मार्फत सञ्चालन भएजस्तै यो पुस्तकालयलाई पनि सोहीबमोजिम अघि बढाउन सकिन्थ्यो र सबै सरकारी निकायले प्रदान गर्ने सेवा यसैमार्फत दिन सकिन्थ्यो ।” पुस्तकालयले अनलाइन मार्फत उपलब्ध थेसिस तथा पुस्तकको वाङ्मय सूची र इन्टरनेसनल स्ट्यान्डर्डको सिरियल नम्बर तयार पारेकाले सेवाग्राहीले आफ्नो मोबाइलमार्फत आफूलाई चाहिएको किताबका बारेमा जानकारी लिन सकिने सुविधा उपलब्ध छ भने आगामी दिन संस्कृतका पुस्तकलाई स्क्यानमार्फत ‘डिजिटिट’ गरेर अपलोड गर्ने सोचाइ बनाइएको छ । रासस 

Post a Comment

 
Top