0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बिहीबार हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सार्क राष्ट्रका विदेशमन्त्रीहरु पोखरा आइपुगेका छन् । चैत १ देखि ४ गतेसम्म जारी मिनी सार्क शिखर सम्मेलनको अन्तिम दिन विदेश मन्त्री स्तरीय बैठक हुन लागेको हो । सचिवस्तरीय बैठक भने बुधबार सकिएको छ । सम्मेलनमा भाग लिन पोखरा आइपुग्ने पहिलो विशिष्ठ पाहुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज हुन् । उनी बुधबार अपरान्ह गोरखपुरबाट सिधा पोखरा आएकी हुन् । अन्यदेशका मन्त्रीहरु भने काठमाडौं हुँदै आएका छन् । सबै पाहुनाको उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले स्वागत गरेका छन् । पोखरेलीहरुले समेत विदेशीको पाहुनाको पोखरा विमानस्थलदेखि मुस्ताङ चोकसम्म बाजागाजा सहित भव्य स्वागत गरेका छन् । एयरपोर्टबाट बैठकस्थलसम्मको करिब २ किलोमिटर बाटोको दाँया भागमा बिभिन्न जातजातिका संगठनहरूले आफ्ना परम्परागत पोशाक लगाएर बाजा बजाए । एयरपोर्टदेखि नै पाहुनाको स्वागतका लागि जातीय पहिरनमा बाटोभरि भीड रह्यो । बाटाको बाँयातर्फ कलशमा फूलपात राखेर सजाइएको छ । विरौटाको तहु ह्युल चोकमा सहभागीका फोटासहित बिभिन्न देशका झण्डा राखेर सजाइएको छ । विदेशी पाहुनालाई एयरपोर्टमै पुगेर पोखराका कवि, कलाकार, होटल व्यवसायी लगायत बिभिन्न संस्थाका अगुवाले स्वागत गरे । सम्मेलनस्थल ग्रान्ड होटलमै पाहुनाहरुको बासको व्यवस्था मिलाइएको छ । उनीहरु अहिले अनौपचारिक भेटवार्तामा व्यवस्त छन्। परराष्ट्रमन्त्री थापाले उनीहरुको सम्मानमा रात्रि भोजको आयोजना गरेका छन् ।प्रधानमन्त्री केपीशर्मा ओलीले बिहीबार बैठकको उदघाटन गर्ने कार्यक्रम छ । बैठकमा सार्क क्षेत्रबाट आतंकवाद र उग्रवादलाई निर्मुल पार्न प्रभावकारी संयन्त्र बनाएर अघ बढ्ने सहमति हुने छ । साथै १८ औं शिखर सम्मेलनले गरेका निर्णय र प्रतिवद्धताहरुलाई कार्यान्वयनमा ल्याउन बैठकले जोड गर्नेछ । बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उप–विदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुँदैछन् । अफगानिस्तानका उपविदेश मन्त्री कार्जाई सचिव स्तरीय बैठकमा पनि सहभागी भएकाले उनी मंगलबार नै पोखरा आएका हुन् ।
यसैबीच उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले सार्क बैठकले पर्यटककीय नगरी पोखरालाई थप टेवा पुगेको बताएका छन् । उनले पोखराका लागि आफू र आफ्नो पार्टीको तर्फबाट राष्ट्रिय योजनाहरु पारी सबृद्ध पोखरा बनाउन आफू नचुक्ने आश्वासन पनि उनले दिए। राप्रपा नेपाल कास्कीको कार्यकर्ता भेलामा थापाले पहिलो पल्ट पोखरामा राखिएको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले पनि अब पनि पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएको बताए । चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा आधा दर्जन एमओयूमा हस्ताक्षर एवं पत्रहरुको आदान–प्रदान हुने उनले जानकारी दिए। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन व्यापार र लगानी लगायतका विषयमा छलफल हुने र निष्कर्षमा पुग्ने प्रयास गरिने मन्त्री थापाले जानकारी दिए ।


Post a Comment

 
Top