0
प्रा. कृष्ण खनाल
नेपाली कांग्रेस १३ औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको संघारमा छ । कांग्रेसको अहिलेको अवस्था नेपालका अन्य पार्टीहरुको भन्दा खासै भिन्न छैन । शशांक कोइरालाले बीबीसीको अन्तर्वार्तामा भनेका छन् कि कांग्रेसले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा पुनर्विचार गर्नुपर्छ । कांग्रेसभित्र कतिपयको यस्तो धारणा पनि होला । तर, मलाई लाग्दैन कि कांग्रेसको अबको नेतृत्व संवैधानिक परिवर्तनबाट पछि हट्छ । सीमांकनका मुद्धामा, संघको कार्यप्रणालीमा केही मतभेद आउला, तर नेपाली कांग्रेस परिवर्तनबाटै पछि हट्छ भन्ने मलाई लाग्दैन । यो विषय नेतृत्वमा कस्ता व्यक्ति हाबी हुन्छन् भन्नेमा पनि भर पर्छ । तर, शशांक कोइरालाले भनेजस्तै विचार बोक्ने व्यक्ति केन्द्रीय समितिमा हाबी भए भने पनि कांग्रेसले संविधान नै बदल्न सक्दैन । तथापि संविधान कार्यान्वयनमा अवरोध ल्याउने कोसिस भने नहोला भन्न सकिँदैन । कांग्रेस नेतृत्वमा त्यसरी अवरोध गर्ने पक्ष देखिए पनि सफल हुने सम्भावना छैन । किनभने, अहिले मुलुकलाई संविधानको रक्षा गर्ने र संविधानको अग्रगामी कार्यान्वयन गर्ने शक्तिकै खाँचो छ । मुलुक यही मार्गमा अघि बढिसकेको छ, यसमा सिंगो कांग्रेसले अवरोध गर्न सक्दैन । र, यसो गर्दा कांग्रेसको अस्तित्व पनि संकटमा पर्छ ।
समयसँगै हिँडेन कांग्रेस
कांग्रेसले ००७ सालको परिवर्तनमा जुन अग्रगामी सोच राख्यो, त्यो निकै क्रान्तिकारी थियो। तर, पछिल्लो समय कांग्रेसमा नयाँ विचारको अभाव खड्कँदै आयो । बीपीको विचारलाई नयाँ सन्दर्भमा बुझ्न जरुरी थियो, छ, यसमा कांग्रेस अहिले पनि कमजोर छ । अहिलेको बदलिएको समाजअनुरुप कांग्रेस केही पछाडि देखिन्छ । किनभने, पार्टी्भित्र चिन्तनको बहस कमजोर छ, विचार व्यक्त गर्ने प्लेटर्फम छैन । बन्द कोठामा छलफल गरेर हुँदैन । पार्टीका विचार आमजनतामा पुग्नुपर्छ, यसमा कांग्रेस पछाडि छ । तर, कांग्रेसभित्रै पनि गतिशील विचारको अभाव छैन । पछिल्लो परिवर्तनका लागि गणतन्त्रको नारा कांग्रेसभित्रै जबर्जस्त उठेको हो । फेरि पनि कांग्रेसमा वैचारिक बहसको अभाव छ । वैचारिक बहस गर्ने, चिन्तन गर्ने नेताहरुको अभाव छ । आफ्नो पक्षमा ताली पिट्नेको जमात बढाउने होड कांग्रेसभित्र छ । त्यसैले कांग्रेसले पार्टीभित्र बहस गर्न आवश्यक छ ।
कोइराला र कांगेस
कांग्रेसको इतिहासमा कोइराला परिवारको ठूलो प्रभाव रहँदै आयो, यस्तो प्रभाव नेपालका अन्य पार्टीमा छैन । पार्टीको स्थापना कालका वीपी कोइरालादेखि सुशील कोइरालासम्म आइपुग्दा कांग्रेसमा कोइराला परिवारकै वर्चस्व रह्यो । तर, महत्वपूर्ण कुरा यो छ कि वीपी र कांग्रेसलाई अलग्याउन सकिँदैन । बीपीलाई बिर्संदा, अलग्याउँदा कांग्रेस अपूर्ण रहन्छ । कांग्रेस अहिले पनि एक प्रकारले बीपीकै दर्शन, विचारले निर्देशित छ । अझै पनि एउटा ठूलो जत्था कांग्रेसमा छ, जो वीपीले भनेबाहेक केही पनि तल–माथि गर्न हुँदैन भन्ने सोच राख्छ । यो खालको पारिवारिक वर्चस्व नेपालका अन्य पार्टीमा छैन । सधैँ बीपीको नामले मात्रै कांग्रेस चल्दैन । सुशील कोइरालाको निधनपछि एक किसिमले कोइराला परिवारको वर्चस्व सकिएको छ । कोइराला परिवार त छन्, तर देशको लोकतान्त्रिक आन्दोलनसँग व्यक्तिगत रुपमा जोडिएका कोइराला सदस्य खासै छैनन् ।
अहिले कोइराला सदस्यका रुपमा शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइरालाको चर्चा छ । पारिवारिक हिसाबले कांग्रेसमा उहाँहरूको संलग्नता होला, परिवारै कांग्रेस भएकाले उहाँहरू प्रत्यक्ष–अप्रत्यक्ष रुपमा कांग्रेससँग जोडिनुभयो होला, तर पार्टी सदस्य नै भएर प्रस्ट रुपमा उहाँहरूको संलग्नता रहेको धेरै पछि हो ।
यसकारण उच्च व्यक्तित्वको कोइराला सदस्यविना नै यसपटक कांग्रेसको महाधिवेशन हुँदैछ । कोइराला परिवारबाट पार्टी शीर्षस्थ नेतृत्वमा दाबी गर्ने व्यक्तित्व निर्माण हुन सकेको छैन । त्यसैले यो महाधिवेशनपछि कांग्रेसको नेतृत्व कोइराला परिवारबाट अरु कसैमा जाँदैछ । कहिलेकाहीँ पार्टीको इतिहासमा परिवारको वर्चस्व रहन्छ । वीपी कोइरालाको निधनपछि नै कांग्रेस निरन्तर संगठनका रूपमा आइसकेको छ । त्यसैले व्यक्तिको आयुसँग पार्टीको आयु जोड्न मिल्दैन ।
वीपीपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पार्टी संगठित भएर रह्यो, उनकै नेतृत्वमा ०४६ सालको आन्दोलन सम्पन्न भयो । यसकारण कोइरालाको नेतृत्वविना पार्टी चल्दैन भन्ने होइन, यो इतिहासले नै पुष्टि गरिसकेको छ । तैपनि कतिपय कार्यकर्तामा सुशील कोइरालापछि कांग्रेस के होला भन्ने चिन्ता छ । शेरबहादुर देउवाले यसअघि नै गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाविरुद्ध चुनाव लडेर आफ्नो उपस्थिति देखाइसकेका छन् । अहिले कोइराला सदस्यबाट अन्यमा पार्टीको नेतृत्व जाने बिन्दुमा कांग्रेस छ । संस्थापन पक्ष र विद्रोही पक्ष भन्नु राजनीति पार्टीभित्र गलत शब्द चयन हो । 
संस्थापन भनेपछि सिंगै पार्टीलाई जनाउँछ । सभापतिले नेतृत्व गरेको समूहलाई मात्रै जनाउने होइन । हो, पार्टी्भित्र केही दृष्टिकोण भिन्न हुन्छन्, त्यसमा प्रतिस्पर्धा हुन्छ, कतिपय मुद्दामा फरक मत हुन्छन्, यो सिंगो पार्टीको कुरा हो, संस्थापन र विद्रोही पक्षको कुरा होइन । तर, नेपालका पार्टीमा खासगरी कांग्रेसमा केही वर्षयता पार्टी प्रमुखको चुनावपछि पराजित हुने पक्षले समानान्तर खालको कार्यशैली अपनाउने, निर्वा्चित नेतृत्वभन्दा अलिकति पृथकरुपमा प्रस्तुत हुनेखालको गलत परम्परा बस्दै आएको छ ।
कांग्रेसमा गुटको राजनीति
एक समय गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराईबीच अलिकति दूरीजस्तो भयो । भट्टराईजी आफैँले त त्यस्तो दूरी राख्नुभएन, तर उहाँको नाम उपयोग गरी शेरबहादुर जीहरूले गिरिजाप्रसादभन्दा अलिकति भिन्न दृष्टिकोणसहितको समूहगत अभ्यास गरेको देखिन्छ । सिंगो पार्टीले यसलाई रोक्ने खालको गतिविधि गरेन र समूहगत अभ्यास झनै विकसित हुँदै गयो, देउवाजीहरूको प्रजातान्त्रिक कांग्रेसलाई जन्मायो ।
विभाजित प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसको एकतापछि प्रस्ट देखिने गरी गुटले प्रश्रय पायो । एकता गर्नका लागि केही पदको बाँडफाँड गरियो । यो बाँडफाँडको धार अहिलेसम्म मेटिएन ।
यस्तो गुटगत प्रवृत्ति कांग्रेसमा मात्रै नभएर अन्य पार्टीमा पनि देखिन्छ । पार्टीभित्र समूहगत अभ्यास स्वाभाविक रुपमा हुन्छ । कुनै नेताको व्यक्तित्वको वरिपरि केही व्यक्ति घुमेका हुन्छन् । तर, पछिल्लो समय प्रस्ट देखिने गरी, पार्टी सञ्चालनमै बेला–बेला अवरोध आउने गरेर कांग्रेसमा गुटबन्दी देखियो । पछिल्लो पाँच वर्ष पार्टीभित्र संगठनात्मक काम हुन सकेका छैनन् । संगठनात्मक काममा अर्को पक्षलाई कसरी सहमत गराउने भन्ने समस्या देखिन्थ्यो । यही अवस्थामा पार्टी अगाडि बढ्दैन । निर्वाचित नेतृत्वले एउटा कार्यकाल सन्तुलनका साथ अगाडि बढाउन पाउनुपथ्र्यो, तर त्यसमा समस्या आयो ।
नीतिगत विवाद छैन
संस्थापन र देउवा पक्ष जो छ, यो ध्रुवीकरणमा कुनै नीतिगत विवाद छैन । बीपीले नेपालको लोकतान्त्रिक शक्तिको प्रतिनिधिको रुपमा पार्टी निर्माण गर्नुभयो । मोटामोटी रुपमा विश्वसम्मत लोकतन्त्र र सिद्धान्तका मूल्यलाई बोकेर कांग्रेसको निर्माण भयो, जसलाई प्रजातान्त्रिक समाजवाद भनेर व्याख्या गरिएको पनि छ, यसमा कांग्रेसभित्र अहिले कसैको पनि मतभेद छैन । विश्वसम्मत व्याख्यामा समाजवादले अन्धो निजीकरण नियन्त्रण, समाजमा पिछडिएको समुदायको सहभागिता र समतामूलक समाज भन्ने बुझाउँछ, यसमा कांग्रेसको फरक बुझाइ नहोला । राजनीतिक प्रतिस्पर्धा, व्यक्तिगत प्रतिस्पर्धालाई कायम राखेर समतामूलक समाजका लागि राज्यको भूमिकालाई पनि प्रभावकारी बनाउने कुरामा नेपालका प्रायः सबै पार्टीको मतभेद छैन ।
व्यक्तिगत दृष्टिकोणमा केही भिन्न बुझाइ सबैमा हुन्छ, जो कांग्रेसमा पनि होला । अलि फराकिलो रुपमा, लोकतान्त्रिक शैलीमा पार्टी सञ्चालन गर्दा विचारका विविधता हुन्छन् नै । परिवर्तित समाजलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने दृष्टिकोणमा नेपाली कांग्रेसमा मतभेद छन् । तर, नीतिगत भिन्नताले कांग्रेसलाई त्यति ठूलो असर पार्लाजस्तो मलाई लाग्दैन ।
अबको कांग्रेस कस्तो होला ?
कांग्रेसको ‘ड्राइभ’ के हो ? अहिले यो निक्र्योल गर्न गाह्रो भइरहेको छ । सधैँ वीपीको नामले कांग्रेस चल्दैन । पार्टीलाई कुन दिशामा हाँक्ने कहाँ पुर्रुयाउने ? यो कार्य्दिशाको अभाव अहिले पनि छ । कांग्रेसलाई सही दिशामा हाँक्ने नेतृत्व देखिएको छैन, यो समस्या पुरानै हो । क्रमशः हुँदै जान्छ, एकैचोटि कहीँ पुगिँदैन भन्ने कन्जर्भे्टिभ सोचको जमात पनि कांग्रेसमा छ । अर्को, क्रमिक होइन, परिवर्तन फड्को मारेर हुनुपर्छ भन्ने जमात पनि छ । यो मतभेद पछिल्लो १२÷१५ वर्षदेखि कांग्रेसमा छ, चाहे हिजो शान्ति प्रक्रिया, संविधान निर्माणको को सन्दर्भमा होस्, मतभेद रहँदै आएकै छ । यो मतभेद टुंग्याएर पार्टीलाई गतिशील मार्गमा हिँडाउन अब आउने नेतृत्वलाई चुनौती छ । यो व्यक्तिमा भर पर्छ, ड्राइभ सक्ने व्यक्ति नेतृत्वमा आए सिंगो पार्टी नयाँ गतिमा अघि बढ्छ । होइन भने पनि कांग्रेस एउटा संस्था हो, संस्थाका आफ्ना परम्परा–मर्यादा छन्, त्यसैले क्रमिक रुपमा पार्टीलाई अगाडि बढाउँछ ।
मुलुक के–केमा अड्किएको छ, त्यो अवरोध हटाउन नै नयाँ गतिको निर्माण गर्ने हो । मुलुकलाई नयाँ गति दिन निर्णायक नेतृत्व कांग्रेसलाई चाहिएको छ ।
अहिले नेतृत्व दाबेदारको चर्चामा जति छन्, उनीहरूले पार्टी र मुलुकलाई हाँक्छन् भन्ने मेरो अपेक्षा छैन । किनभने, अहिलेको परिस्थितिको निर्माण हुनुमा यिनै जिम्मेवार छन् । जस्तो, संविधानमा भएका कमी(कमजोरीका निर्माता शेरबहादुर, रामचन्द्रलगायत सभापतिका दाबेदार नै हुन् ।
(स्रोत ः अनलाइन खबर)

Post a Comment

 
Top